Monday, August 11, 2008

रोक ! वातावरणीय विनाश

जननी मान्छौं हामी प्रकृतिलाई। यो हाम्रो संस्कार हो। तर सशस्त्र द्वन्द्वको उन्मादमा आफ्नी आमाको चीरहरणमा लागेका छौं, हामी आफैं नै।
यो अंकको हाका–हाकीमा हामीले मुलुकमा अहिले चलिरहेको सशस्त्र द्वन्द्वकाक्रममा प्रकृतिमाथि भएका प्रहारका केही प्रतिनिधिमूलक घटनाहरूलाई समावेश गरेका छौं।
तिनको सन्देश के हो भने प्रकृतिको अस्मिता लुट्ने काम सशस्त्र द्वन्द्वका दुवै पक्षमात्र होइन, मौकामा चौका हान्ने तस्कर र बाध्यतामा परेका उपभोक्ताहरू पनि संलग्न छन्। यो हाम्रो पहिलो प्रयास हो र आगामी दिनहरूमा सशस्त्र द्वन्द्वका कारण प्रकृतिमा परेको असरका बारेमा हामी अनुसन्धानलाई निरन्तरता दिनेछौं। र, गाउँ–गाउँमा रहेका हाम्रा पाठकहरूको यससम्बन्धी सूचना हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण हुनेछन्। यो पत्रिका हात लागेपछि हाम्रो ठेगानामा त्यस्ता सूचनाको बाढी नै आउनेछ भन्ने हाम्रो विश्वास छ।
किन जोगाउनुपर्छ त हामीले वातावरण? अब अलिकति कुरा यसैका बारेमा गरौं। हामीकहाँ वातावरणका कुरा गर्नेहरू डलर खेती गर्ने मानिन्छन्। तर यथार्थ त्यसो होइन। बरु मानव जीवनयापनको आधारभूत स्रोत प्राकृतिक वातावरण हो। वातावरण त देखिने र नदेखिने रुपमा रहेका धेरै खाले जैविक–अजैविक तत्त्वहरू मिसिएको एउटा प्रणाली पो हो। भूमि, पानी, वन, जैविक विविधता, हावा, जलवायु, मानव निर्मित संरचना, आकाश र हामी मान्छे स्वयं वातावरणका केही तत्त्व हुन्। यी सबै तत्त्वहरूको अन्तरक्रिया स्वरुप स्थापित भएको अन्तरसम्बन्धलाई विज्ञानको भाषामा पारिस्थितिक प्रणाली (इको सिस्टम) भनिन्छ। हामी मान्छेले आफ्नो जीवन चलाउने र विकास गर्ने स्रोतहरू यही प्रणालीबाट पाउँछौं। अर्थात्, पारिस्थितिक प्रणालीमाथिको खतराको अर्थ हाम्रै जीवनमाथिको खतरा हो। वातावरण विनाश भनेको हामीले आफ्नै खुट्टामा हान्नु हो।
बुझेर नबुझेर हामी सशस्त्र द्वन्द्वकानाममा वातावरणमा प्रहार गरिरहेका छौं। यसको अर्को पक्ष पनि छ, यस्ता सशस्त्र द्वन्द्व‍बाट सुरुमा मानिस पीडित हुन्छन्, त्यसपछिको असर प्रकृतिमा पर्न थाल्छ, अनि वातावरण विनाशको क्रम सुरु हुन्छ। वातावरण विनाशको अर्थ गरिबहरूको जीवन झनै बढी कष्टकर बन्दै जानु हो। र, गरिब झन् गरिब हुनु हो। यसर्थः गरिबको कल्याणको राजनीति गर्नेहरूले साँच्चै गरिबको कल्याण चाहेका हुन् भने प्रकृतिलाई नछोओउन्, यही हाम्रो अनुरोध हो, द्वन्द्वकासबै पक्षलाई रोकी वातावरणको विनाश, आफ्नै लागि र हामी सबै गरिबका लागि रोकी हाल।
राजेश घिमिरे

मंसीर २०६० हाकाहाकी

No comments:

जलवायु परिवर्तन रोक्न नेपाली कदम

राजेश घिमिरे   जलवायु परिवर्तनका कारण अहिले पृथ्वी तात्तिँदो अवस्थामा छ र त्यसैका कारण नेपालको उत्तरी भू–भागको हिउँ पग्लिरहेको छ। जलवायु ...