Monday, August 11, 2008

वातावरणीय अन्याय विरुद्ध

विकास निर्माणका काममा पनि राज्यका नीति–निर्माता र कार्यान्वयनकर्ताहरूमा अल्पकालीन सोच नै हावी छ। हाम्रो कमजोर भौगोलिक संरचनामा सडक, बाँधलगायतका विकास निर्माण गर्नुअगाडि राम्रो अध्ययन/अनुसन्धान हुनुपर्ने हो र दिगो विकासको बाटोतिर सोचिनुपर्ने हो।
तर हाम्रा नीति–निर्माता दुई मिनेट चाउचाउ पकाए जस्तो सोच्छन्, पकायो, खायो, चलदियो। न विगतमा गरिएका गल्तीबाट शिक्षा लिनु छ न भविष्यलाई दिगो बनाउनेतिर सोच्नु छ। यो नै हाम्रो वास्तविकता हो र यही वास्तविकताबाट पिरोलिएका छौं हामी गरिबहरू। यस्तो दुई मिनेटको तदर्थ सोचबाट न त प्रकोप नियन्त्रण हुन्छ न व्यवस्थापन।
अब के गर्ने त? राज्यले हाम्रा बारेमा सोचेन भने हामी चुपचाप बस्ने र प्राकृतिक प्रकोप, वातावरणीय अन्यायहरूलाई सहेर तमासा हेरिरहने? पक्कै होइन, राज्यले ध्यान दिँदैन भने हामी आफैंले नै हाम्रो र भावी पुस्ताका बारेमा सोच्ने र काम गर्ने बेला आइसकेको छ। अब हामीले नै गर्नुपर्छ वातावरणीय न्याय र समन्यायका पक्षमा काम। आउँ, त्यसैका लागि हातेमालो गरौं र हाका–हाकी बोल्न थालौं उज्वल्ल भविष्यका लागि, नत्र हामीलाई हाम्रा भविष्यको पुस्ताले सराप्ने छ।
अन्यायका विरुद्ध आवाज उठाउनु त हाम्रो कर्तव्य हो। तर सामाजिक, आर्थिक, पारिवारिकलगायतका अनेकन बाध्यताले हामी अन्याय सहन थाल्छौं। अर्कोतिर कतिपय अवस्थामा हामीलाई आफू अन्यायमा परेका छौं भन्ने ज्ञानसमेत हुँदैन। विविध बाध्यताबाट जन्मेको सहनशीलता अनि वातावरणीय न्याय र समन्यायका बारेमा हाम्रो अज्ञानताले नै हो, हामी अन्यायका शिकार भएका छौं, अज्ञात समयदेखि। र, कालान्तरमा अहिले आएर हामीलाई अन्याय सहने बानी परेको छ। हो, यो हाम्रो राष्ट्रिय चरित्र झै बनिसकेको छ।
यो हाम्रो राष्ट्रिय चरित्रजस्तो नबनेको हुँदो हो त हामी किन सहन्थ्यौं, यति धेरै वातावरणीय अन्याय र समन्यायको अभावलाई? किन सहन्थे काठमाडौंका गरिबले धुलो र धुवाँलाई? घर आँगनमै अर्काले फालेको फोहोरलाई? अनि किन सहन्थे वाग्मतीको फोहोर पानीबाट पीडित किसान र माझीहरूले? सायद बाध्यता र अज्ञानता नहुँदो हो त पर्सा क्षेत्रमा उद्योगहरूले विषालु बनाइदिएको सिर्सियाबाट पीडित किसानहरूले उहिल्यै आवाज उठाइसक्थे, माझीहरू सडकमा ओर्लिसक्थे होला। बुटवल होस् वा महेन्द्रनगर वा नेपालगन्ज वा काँकडभिट्टा वा पोखराको सेती नदी र अरु पहाडी जिल्ला, नगर, गाउँ किन नहुन सबैमा वातावरणीय अन्यायविरुद्ध आवाज उठ्थ्यो। तर उठेका छैनन्। हामी अन्याय सहीरहेका छौ, चुपचाप, मानौ यो हाम्रो नियति हो। भाग्यवादमा अति विश्वास गर्ने हामीहरू यी सबैलाई हाम्रो कर्मको फल मानेर सही रहेका छौं, चुपचाप। तर यो हाम्रो कर्मको फल होइन, यी वातावरणीय अन्याय त सब अरूको कर्मको फल हो। कसैले बुझेर पनि सहीरहेका छौं, बुझ पचाएर बाध्यताहरूका कारण त कोही बुझ्दै नबुझि सहीरहेका छौं, अज्ञानताका कारण।
यी निरासाका बीच पनि हामीसँग खुसीको खबर छ, मोरङ र सुनसरीका उद्योगहरूबाट वातावरणीय अन्यायमा परेका स्थानीय बासिन्दाले त्यसका विरोधमा आवाज उठाउन थालेका छन्। यो नेपालमा बिलकुलै नयाँ आन्दोलन होइन, किनकि हामी अति त सहन्छौं अतिचार सहँदैनौं। त्यसैले त भन्छौं अति गर्नु अतिचार नगर्नु। यसभन्दा अघि पनि अतिचार भएपछि गोकर्ण ल्यान्डफिल साइट वरपर बस्नेहरूले यस्तै आन्दोलन चलाएका थिए, वाग्मतीमा फालिएको फोहोरविरुद्ध गोदावरी मार्वल र इँटाभट्टाहरूविरुद्ध त्यस्त अनेकन आन्दोलन चले। तर तीभन्दा फरक छ, मोरङ सुनसरीका वातावरणीय अन्यायबाट पीडितहरूले चलाएको आन्दोलन। यो संगठित छ र यसले चेतनालाई बढी जोड दिएको छ अनि लक्ष्य प्राप्त नभएसम्म निरन्तर हुने दृढता लिएको छ।
हाका–हाकीको काम वातावरणीय न्याय एवम् समन्यायका बारेमा ज्ञानको विस्तार गर्ने हो। हाम्रो लक्ष्य गाउँ–गाउँमा त्यो ज्ञानलाई पुर्‍याउने हो। तर वातावरणीय न्याय र समन्याय प्राप्तिका लागि त स्थानीय जनता नै उठ्नुपर्छ र शान्तिपूर्ण तवरले आफ्नो आन्दोलन चलाउनुपर्छ। हो, त्यसैको सुरुवात गरेका छन्, मोरङ र सुनसरीका बासिन्दाले आफ्नो छाताधारी संगठन वातावरण सुधार संयोजन समितिमार्फत। यो आन्दोलनको सफलताका लागि अग्रिम शुभकामना।

राजेश घिमिरे

कार्तिक २०६० हाकाहाकी

No comments:

जलवायु परिवर्तन रोक्न नेपाली कदम

राजेश घिमिरे   जलवायु परिवर्तनका कारण अहिले पृथ्वी तात्तिँदो अवस्थामा छ र त्यसैका कारण नेपालको उत्तरी भू–भागको हिउँ पग्लिरहेको छ। जलवायु ...