Tuesday, August 12, 2008

जागे महिला


सशस्त्र द्वन्द्वको अप्ठ्यारो परिस्थितिमा पनि सहकारिताका माध्यमबाट मकवानपुरका १७ गाविसका झन्डै ११ हजार चेलिबेटी कृषि, व्यापार र जागरणका माध्यमबाट महिला सशक्तीकरणमा लागेका छन्। परिणामत ती १७ गाविसमा तरकारी खेती फस्टाएको छ, आम्दानी बढेको छ। महिलाहरुलाई नुन–तेल र लत्ता–कपडाका स–साना खर्चमात्र होइन बिहेवारीजस्ता ठूलै खर्चका लागि पनि अर्काको मुख ताक्ने बाध्यताबाट मुक्ति मिलेको छ। तर यो आन्दोलनको एउटा कमजोर पक्ष पनि छ, त्यो हो, वातावरण संरक्षणमा उचित ध्यान दिन नसक्नु।
राजेश घिमिरे
मकवानपुरका १७ गाविसका झन्डै ११ हजार चेलिबेटी सहकारिताका माध्यमबाट संगठित भएर तरकारी खेतीमा लागेका छन्। गाउँ–गाउँमा रासायनिक मल र विषादीका नयाँ–नयाँ दोकानहरू खुल्न थालेका छन्। अनि पर्याप्त सुरक्षाबिना नै महिलाहरू तरकारी बारीमा विषादी छरिरहेका भेटिन्छन्। उनीहरूलाई खाली हात–गोडा र मुखमा मास्क नलगाई विषादी छर्दा त्यसले आफ्नो स्वास्थ्यमात्र होइन, गर्भमा आउने शिशुलाई समेत असर गर्छ भन्ने कुरा बुझाउने प्रयास कसैले
गरेका छैनन्।
सबै महिला सहकारीहरूको छाता संगठनका रूपमा वैधानिक स्वरूप दिँदै गरिएको जिल्ला सहकारी समन्वय समिति, मकवानपुरकी अध्यक्ष भगवती पुडासैनी भन्छिन्, "हामी यसबारेमा सचेत त छौं तर आममहिला दिदीबहिनीलाई राम्ररी बुझाउन भने सकिराखेका छैनौं।"
रासायनिक मल र विषादीबाहेक विदेशी बीउका सिलबन्दी बट्टाहरू पनि चारैतिर फैलिएका छन्। तिनको असरले भोलि हाम्रा रैथाने बीउ कहाँ पुग्छन् त्यसबारेमा कसैले सोचेको छैन।
यी केही कमजोरीबाहेक सहकारी आन्दोलन मकवानपुरमा राम्ररी नै फस्टाएको छ। मकवानपुरका ४३ मध्ये १७ गाविसमा फैलिएका ७ सय ९ वटा समूहमार्फत संगठित छन् उनीहरू र उनीहरूको हातमा छ २ करोड ८४ लाख रुपैयाँ। उनीहरूको छाता संगठन हो, हेटौंडामा रहेको ग्रामीण महिला सेवा केन्द्र। यसैबाट उनीहरू सहकारितालाई अरु सशक्त बनाउन जिल्ला सहकारी समन्वय समितिको वैधानिक स्वरूप दिँदैछन्।
अध्यक्ष पुडासैनी भन्छिन्, "यसरी संगठित भएपछि हामीलाई आफ्नो अधिकारका लागि लड्न सजिलो भएको छ। महिलाविरुद्ध हुने
सबै खाले हिंसा र विभेदविरुद्ध हाम्रा दिदीबहिनीहरू सशक्त भएका छन्।" केन्द्रका महिलाहरूको भनाइमा प्लान नेपालको सहयोगमा उनीहरूले महिलाहरूमा कानुनी, सामाजिक र आर्थिक ज्ञानको प्रचार–प्रसार गरिरहेका छन्। त्यसै कारण आर्थिक रूपमा मात्र नभई सामाजिक र कानुनी रूपमा पनि महिलाहरू सशक्त भएका छन्। भगवती भन्छिन्, "हाम्रो यो सञ्जाल माकुरोको जालोझैं विस्तार भएको छ। महिलाविरुद्ध काम गर्ने जोकोही हाम्रो यो जालोमा परेपछि उम्कन सक्दैन। माकुराको जालोमा परेको सिकारलाई माकुरोले सिध्याएझैं हामी तिनलाई कानुनको कठघरामा पुर्‍याइछाड्छौं।"
उनीहरूसँग यसका प्रशस्त उदाहरणहरू पनि छन्। बलात्कार गर्ने गुन्जमान स्याङ्तान उनीहरूकै सक्रियतामा यतिबेला भीमफेदी कारागारमा १२ वर्षको कैद सजाय भोग्दैछ भने पीडित महिलालाई उसको आधा अंशमात्र दिलाइएको छैन उनको बिहेवारी पनि गराइएको छ। महिलालाई बोक्सीको आरोप लगाउनेलाई थलामै माफी माग्न लगाइएको छ। नागरिकता पाउन नसकेका ६ सय १९ जनालाई नागरिकता दिलाइएको छ। यस्ता अनेकन उदाहरणको लामो सूची छ, उनीहरूसँग।
यी उदाहरणलाई गौरवका रूपमा लिन्छन्, यो आन्दोलनमा लागेका हरेक महिला। महिला शक्ति बचत तथा ऋण सहकारी संस्था टिस्टुङकी प्रीतिमाया मोक्तान भन्छिन्, "पहिले हामी अँध्यारो कुनाका आँखा नदेख्ने मानिसझैं थियौं। नयाँ मान्छे आउँदा ढोका थुनेर लुक्थ्यौं। श्रीमान् खोई भन्यो भने थरथर कामेर बस्थ्यौं। अहिले बोल्न सक्नेमात्र होइन अधिकारका लागि लड्न सक्ने भएका छौं। ज्योति चम्किएझैं भएका छौं, हामी।"
आफ्नो जीवनमा आएको परिवर्तनका बारेमा प्रीतिमाया भन्छिन्, "पहिले नुन–तेल पनि खान पुग्थेन। बच्चा पढाउनुपर्छ भन्ने थाहा थिएन। बिरामी पर्दा झाँक्री बोलाउन कुदिहाल्ने। अस्पताल जानै परे ५ सय पनि साहुसँग माग्न जानुपर्ने। त्यो ५ सय पाउन पनि पाँचपटक धाउनुपर्ने, नमस्कार गर्नुपर्ने। पाएपछि पाँचैपटक सित्तैमा साहुकोमा खेताला जानुपर्ने, साहै्र गाह्रो थियो जीवन। अहिले कुनै साहुलाई नमस्कार गरेर चाकडी गर्नुपर्दैन। उल्टै साहुले नमस्कार गर्छन् हामीलाई।"
कुलेखानीको इन्द्र सरोवरमा आफ्नो जग्गा डुबेपछि मार्खुका महिलाहरूले पाउनु दुःख पाए। नगदका रूपमा आएको क्षतिपूर्ति पुरुषका हातमा पर्‍यो र त्यो रकम कसैले जुवामा उडाए, कसैले जाँड–रक्सीमा र कतिको रकम लत्ताकपडा हाल्दैमा सकियो। यहाँका मानिसहरूको अवस्था पहिलेभन्दा धेरै नाजुक भयो। तर अहिले उनीहरू सामुदायिक रूपमा इन्द्रसरोवरमा माछापालन
गरिरहेका छन्, त्यसैको आम्दानीले घरखर्चको केही जोहो भएको छ।
पहिले उनीहरूको जग्गा खाने कुलेखानीले अहिले निःशुल्क माछाका केजहरू राख्न दिएको छ यहाँका महिलाहरूलाई। अनि केजको व्यवस्था गरिदिएको छ प्लान नेपालले। त्यसैले कुलेखानीमा महिला सहकारीअन्तर्गत ४५ वटा माछापालन गर्ने "केज" राखिएका छन्। तीमध्ये १७ वटा "केज" माछा उत्पादनका लागि हो भने बाँकी २८ वटा "केज" माछाका भुरा उत्पादन गर्ने कामका लागि नर्सरीका रूपमा प्रयोग हुन्छ। यहाँ माछापालन गर्दा पनि उनीहरूलाई विषादीको सन्तापले छाडेको छैन। श्री गणेश माछा समूह मार्खु कुलेखानीकी चन्द्रमाया थापा मगर भन्छिन्, "खोलाको शिरतिर विष हालेर माछा मारिदिन्छन्। त्यो विष बगेर सरोवरमा आउँछ र केजमा राखिएका हाम्रा माछा पनि मर्छन्।"
चन्द्रमाया भन्छिन्, "त्यहाँका मान्छेलाई माछा मार्न विष प्रयोग खतरनाक हो भनेर सम्झाउन सके उनीहरूलाई पनि फाइदै हुन्थ्यो हामीलाई पनि राम्रै हुन्थ्यो।"
सहकारी आन्दोलन र माछापालनका कारण यहाँका महिलाहरूको व्यस्तता बढेको छ।
अहिले माछापालन गरेर सहकारी आन्दोलनमा लागेकी सत्येश्वर माछा समूह मार्खुकी श्रीमती कान्छीमाया गोले ठट्टा गर्दै भन्छिन्, "सोझै भन्ने हो भने अहिले चलन नै उल्टो आएको छ। बूढाहरू घरमा बस्ने र घरको काम गर्ने अनि बूढीहरूचाहिँ मिटिङमा व्यस्त हुने।"
मार्खुमा महिलाहरूको आम्दानीको मूलस्रोत माछापालन हो भने अन्यत्र तरकारी खेती।
तरकारी खेतीकै कारण टिस्टुङको सहकारीमा दैनिक ५० हजार रुपैयाँभन्दा बढीको कारोबार हुन्छ। टिस्टुङकी रुक्मिणी सिकारी भन्छिन्, "मेरो पाँच रोपनी जग्गामा मैले १८ हजार रुपैयाँ लगानी गरेर पोहर हिउँदमा मात्र ५७ हजारको तरकारी बेचेँ, यसपाला ५० हजारजतिको बिक्री हुन्छ भन्ने आशा छ।"
तरकारीकै कारण काठमाडौंको कालिमाटी तरकारी बजारबाट ३५ किलोमिटरमात्र टाढा पर्ने फाखेलका बासिन्दाको जीवनमा आमूल परिवर्तन आएको छ।
यसअघिसम्म पाखोबारीमा अन्न उत्पादन नहुँदा भोकमरीको स्थिति हुन्थ्यो, त्यहाँ। तरकारी खेती सुरु भएको २ वर्षमा नै फाखेल गाविसका खरका छाना जस्ताका छानाले विस्थापित गरिसकेका छन्।
महिलामात्र होइन, यी सहकारीबाट पुरुषहरूले पनि उत्तिकै फाइदा पाएका छन्। सहकारीको सहयोगमा तरकारी खेती गरिरहेका फाखेल खड्गु दोभानका धनराज महर्जन भन्छन्, "पहिले दसैं आउन थालेपछि ज्याला मजदुरीको काम पाइन्छ कि भनेर काठमाडौंतिर धाउनुपर्थ्यो। अहिले खान–लाउन र केटाकेटी पढाउन पुगेको छ तरकारीले।"
यो क्षेत्रमा तरकारीको उत्पादन बढ्न थालेपछि काठमाडौं छिर्ने वैकल्पिक बाटो कुलेखानी–फाखेल–दक्षिणकालीको बाटोमा पनि चहलपहल बढेको छ र त्यससँगै बाटोको अवस्था पनि सुधि्रएको छ।
तरकारी र माछालगायतका आयआर्जनका कारण सुधि्रएको जीवनस्तरबाट सन्तुष्ट छन् महिलाहरू। तर, सहकारिता आन्दोलनलाई भने १७ गाविसभन्दा बाहिर लगेर मकवानपुरभरि फैलाउने र अरू गाविसका महिलालाई पनि सशक्तीकरणको यो अभियानमा सामेल गराउने इच्छा छ उनीहरूको। सेवाकेन्द्रकी राधा सिङ्तेन भन्छिन्, "अहिले हामी क्षमता अभिवृद्धिको क्रममा छौं, हाम्रा केही संस्था सशक्त छन् भने केही अझै कमजोर। हामी सबैलाई आर्थिक, सामाजिक रूपले दिगो बनाएपछि अन्य गाविसमा जाने लक्ष्य लिएका छौं। अहिले अरू गाविसका दिदीबहिनीबाट यसका लागि अनुरोध आएको छ। दुई गाविसमा त हामीले प्रारम्भिक काम सुरु गरिसकेका छौं।"
सेवा केन्द्रकी अध्यक्ष भगवती भन्छिन्, "वास्तवमा महिलालाई मात्र ध्यान दिएर कार्यक्रम गर्ने हो भने असफलता हात लाग्छ। हामीले त समुदायलाई नै ध्यान दिएर काम गर्नुपर्दो रहेछ। र, महिला सशक्तीकरणको अभियान घरैदेखि सुरु गर्नुपर्ने रहेछ, बालबालिकालाई नै यसको शिक्षा दिनुपर्ने रहेछ, समानताको शिक्षा। पुरुषको सहयोगबिना यो सम्भव छैन।"
महिला जागृत सहकारी भीमफेदीकी पार्वती राना पनि यसमा सहमत छन्। उनी भन्छिन्, "श्रीमान्‌को सहयोग नभएको भए आज म यहाँसम्म आइपुग्ने नै थिइनँ।"
पार्वतीका श्रीमान् मनोज भन्छन्, "पुरुषले त पहिलेदेखि नै काम गर्दै आएका थिए, अहिले महिलाले पनि काम थालेका छन्, समाज परिवर्तनमा यसले नयाँ आयाम थपिएको छ।" सशक्तीकरणको स्थितिबारे मनोज भन्छन्, "चुनाव नभएरमात्र हो, भयो भने टोल–टोल र वडा–वडाबाट महिला नेताहरू चुनिएर आउनेछन्।"
तर मुलुकमा चलेको सशस्त्र द्वन्द्वको असरबाट भने यो आन्दोलन पनि अछुतो छैन। सेवा केन्द्रकी अध्यक्ष भगवती भन्छिन्, "केही गाविसमा समस्या छ।तर सहकारिताका बारेमा माओवादीलाई पनि बुझाउन सकियो भने सहकारिताको यो आन्दोलन अझै बढ्ने र फैलनेछ।"
सुकमायाको विश्वास
मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा महिला बचत तथा ऋण सहकारी संस्थाको आँगनमा उभिएकी छन्, सुकमाया प्रजा। अनुहारमा थिए, कठिन जीवनका संर्घषका छाप, च्यातिएको लुगाबाट च्याइरहेको थियो गरिबी तर आँखामा चमक थियो, अब केही हुन्छ भन्ने विश्वासको।
आफ्नो लेकाली गाउँ सुकबस्तीबाट चार घन्टा पैदल हिँडेर आएकी हुन् उनी, पोल्टामा ५० रुपैयाँको मैलो नोट बोकेर। महिलाहरूले खोलेको सहकारीमा हरेक साता ५० देखि एक सय रुपैयाँ जम्मा गर्न आइपुग्छिन् उनी। कथम्कदाचित् कार्यालय बन्द भए, सहकारीका पदाधिकारीकै घरमा पुग्छिन् उनी, "नानी अफिस किन बन्द। मेरो पैसो जम्मा गरिदिनु पर्‍यो, घर लगे खर्च भइहाल्छ" भन्दै। त्यसपछि फेरि चार घन्टा हिँडेर घर फर्कनु त छँदैछ।
यस्तै अनेकौं ५० र एक सय रुपैयाँका अनेकन् नोटहरूबाट चम्केका हुन् उनका आँखा, केही हुन्छ र केही गर्छु भन्ने विश्वासका साथ।
सुकमायाजस्ता मकवानपुरका ११ हजार नारीका आँखामा त्यही चमक छ, आफैं केही गर्छु र केही हुन्छ भन्ने विश्वासको चमक।

कार्तिक २०६२ हाकाहाकी

No comments:

जलवायु परिवर्तन रोक्न नेपाली कदम

राजेश घिमिरे   जलवायु परिवर्तनका कारण अहिले पृथ्वी तात्तिँदो अवस्थामा छ र त्यसैका कारण नेपालको उत्तरी भू–भागको हिउँ पग्लिरहेको छ। जलवायु ...