भूमिमा चौघेरा कोर्दैमा कुनै भूगोल राष्ट्र हुन सक्दैन। राष्ट्रको पहिचान त त्यो भूमिमा बस्ने मानिसहरूबाट हुन्छ। तर अधिकांश मुलुकमा पहिचानका मामिलामा भूमिपुत्रहरू शोषणमा परेका हुन्छन्। यो मामिलामा नेपाल पनि अछुतो छैन। नेपाल "चार वर्ण छत्तीस जातको साझा फूलबारी" जस्ता आकर्षक नारा दिइए पनि विगतका यथार्थमा एक भाषा एक पहिचानको नीति अवलम्बन गरियो। जसका कारण नेपालका अधिकांश जातजाति र भाषाभाषी पीडित हुन पुगे।
यतिबेला फेरि मुलुक लोकतान्त्रिकीकरणको प्रक्रियामा जुटेको छ, समाज खुला हुँदैछ र त्यसैले पीडित उत्पीडित जातजाति, भाषाभाषीहरू आत्मपहिचानका लागि जुर्मुराएका छन्।
एउटा वर्ग अति माथि पुग्ने र अर्को वर्ग सधैं पछाडि परिरहने अवस्था मुलुकको समग्र विकासका लागि घातक हुन्छ। अहिले नेपालले भोगेको असमान विकासको एउटा कारण राज्यको विभेदकारी नीति पनि हो। विगतमा राज्यको संरचना खास जातजाति र भूगोलको वरपरमात्र घुमिराख्यो र यसैका कारण अन्य समुदायका लागि अवसरको कमी देखियो। अब बेला आएको छ, समान व्यवहार र सम्पूर्ण जातजाति भाषाभाषीको समावेशीकरणको।
वास्तवमा विद्वेशलाई ननिम्त्याईकन समग्र जातिको एक समान विकास गर्ने वातावरण सिर्जना गरिएमात्र हाम्रो मुलुक दिगो विकासका बाटोमा हिँड्न सक्छ। र, यसका लागि सबैभन्दा पहिले राज्य अग्रसर हुनुपर्छ।
मुलुकका समग्र भाषाभाषी र जातजातिको समग्र विकास र संरक्षण भएन भने नेपालको जैविक विविधताका लागि पनि घातक हुने खतरा भएकाले पनि नेपालभित्र रहेका सबै भाषाभाषी र जातजातिको विकास संरक्षणका लागि आवाज उठाउनु जरुरी छ।
वास्तवमा प्रकृति र जैविक विविधताका अनेकन रहस्य स्थानीय र रैथाने भाषाभित्र लुकेका छन्। ती भाषा बोल्नेहरूमा आफ्नो वरपरको वातावरण र जैविक विविधताका बारेमा अपूर्व ज्ञान हुन्छ। यो किन पनि सत्य हो भने विश्वका अधिकांश ठाउँमा जस्तै नेपालमा पनि जैविक विविधताका अत्यन्त धनी स्थानहरूमा आदिवासी जनजाति कै बसोबास छ र त्यो जैविक विविधताको गुह्य पनि उनीहरूलाई मात्र थाहा छ।
वास्तवमा विश्वका भाषाहरू क्षयीकरण वा लोप हुने खतरामा छ। युनेस्कोले निकालेको लोप हुने खतरामा रहेका विश्वका भाषामध्ये विश्वमा बोलिने ७ हजारभन्दा बढी भाषाहरू आधाभन्दा बढी लोप हुने क्रममा छन्। ५ हजार भाषा त १ लाखभन्दा कम मानिसमा मात्र सीमित छ भने झन्डै १ हजार ५ सय भाषा त १ हजार (ती पनि बूढाबूढी) को पुस्तामा मात्र सीमित छ। यो समस्याबाट नेपाल पनि पीडित छ। र, यो सँगैको अर्को तीतो सत्य के हो भने अहिले कै अनुपातमा विश्वबाट भाषा र संस्कृति लोप हुँदै जाने हो भने त्यसको प्रत्यक्ष असर जैविक विविधताको पहिचान र संरक्षणमा पर्छ र त्यसबाट उपलब्ध हुनसक्ने फाइदाबाट समग्र विश्व वञ्चित हुनसक्छ।
अर्को विकासको अजीव परिभाषाको विडम्बनाबाट पनि पीडित छौं हामी। हामीकहाँ आफ्नो रैथाने खानाको सट्टा चामलको भात खान पाउनुलाई विकास मान्नेहरू धेरै छन्, आफ्ना साँस्कृतिक पहिचान गुमाएर जिन्स र टिसर्ट लगाउनुलाई विकास मान्नेहरू पनि कम छैनन् अनि आफ्नो भाषाका सट्टामा अंग्रेजी बोल्न सक्नुलाई विकास मान्ने पनि यहीँ छन्। परिवेश सुहाउँदो घरका सट्टा आरसीसी गरिएका सिमेन्टेट घरमा बस्न पाउनुलाई विकास मान्नेहरू पनि हामी हो। तर यथार्थमा यो विकास होइन विनाश हो। जातीय ज्ञानको क्षयीकरण हो।
आदिवासी जनजातिको भाषा र संस्कृतिको जगेर्ना गर्नैपर्छ। तर त्यो वास्तविक जगेर्नाका पक्षमा हुनुपर्छ न कि विकासका नाममा निम्त्याइने विनाशका शैलीमा। जगेर्नाका नाममा हामीले आफ्नो संस्कृति, भाषा र चालचलन सबैलाई छाड्यो भने चाहिँ त्यसले अरुलाई भन्दा पनि सबैभन्दा पहिले हामीलाई नै हानी गर्छ। हामीले आफ्नो भाषा र संस्कृति गुमायौं भने हामी तिनमा लुकेको रहस्य पनि गुमाउने छौं र त्यसबाट समग्र मानव जातिको विकास र जैविक विविधताको संरक्षणमा हामीले दिन सक्ने योगदानबाट पनि हामी वञ्चित हुनेछौं।
राजेश घिमिरे
जेठ २०६३ हाकाहाकी
Tuesday, August 12, 2008
Subscribe to:
Post Comments (Atom)
जलवायु परिवर्तन रोक्न नेपाली कदम
राजेश घिमिरे जलवायु परिवर्तनका कारण अहिले पृथ्वी तात्तिँदो अवस्थामा छ र त्यसैका कारण नेपालको उत्तरी भू–भागको हिउँ पग्लिरहेको छ। जलवायु ...
-
India may have dragged its feet on the subject for decades, but Nepal has gone ahead and done it: made wildlife farming legal. Licence can n...
-
Sanduk Ruit is the third Nepali to receive the Magsaysay award. He was recognised for his outstanding work at “placing Nepal in the forefron...
-
सन् २००२ को अगस्त २६ देखि सेप्टेम्बर ४ सम्म दक्षिण अफ्रिकाको जोहानेसवर्गमा दिगो विकास विश्व सम्मेलन आयोजना गरियो। उक्त सम्मेलनले दिगो विकासक...
No comments:
Post a Comment