Monday, August 11, 2008

विशाल तर बीभत्स

मानिसहरू यताउता जताततै, आँखाले भ्याएसम्म मानिस नै मानिस, लाग्थ्यो मानिसहरूको महासागरमा समाहित भएका छन् सबै। सम्भवत बाराको बरियारपुरमा हरेक पाँच वर्षमा लाग्ने गढीमाईको मेलाको विशेषता नै मानिसहरूको ठूलो संख्या हो। अनि त्यसपछिको अर्को विशेषता हो, यहाँ दिइने बलि।
गढीमाईको मेला आयोजक समितिका सदस्यदेखि स्थानीय बासिन्दासमेत यो मेलालाई विश्वकै सबैभन्दा बढी बलि दिइने मेलाका रूपमा व्याख्या गर्छन्। तर, त्यसको आधार भने कतै भेटिँदैन। एउटा कुरा भने निश्चित हो, यहाँ निकै धेरै संख्यामा बलि दिइन्छ बीभत्स तरिकाले। हो, वास्तवमै यो बीभत्स थियो। तीन बिघामा फैलिएको वधक्षेत्रभित्र हातमा खुँडा, खुकुरी र तरबार बोकेका २ सयभन्दा बढी मानिस १२ हजार राँगा धमाधम काट्दै थिए। आस्थाका अगाडि कसैको केही लाग्दैन, गढीमाई तिनै आस्थाकी प्रतीक हुन् अनि आ–आफ्नो मनोकामना पूरा भएकोमा निर्दोष पशुको बलि चढाउनु पनि आस्था नै हो। यहाँ पशु बलिविरुद्ध आवाज भने नउठेको होइन तर त्यो स्वर अझै सानो छ। एकै प्रहारमा नकाटिएपछि छटपटिएका राँगालाई खेद्दै मार हान्नेहरू थिए त्यहाँ, घुडामा प्रहार गरेर राँगा ढालेर मार हान्नेहरू थिए। त्यहाँ थियो, एउटा उन्माद, मुहारमा जोस तर समग्रमा भने बीभत्स दृश्य। जताततै जीउ र टाउको छुट्टिएर लडेका राँगाका लासहरू, अनि त्यसलाई खोस्न उद्यत मानिसहरू। विचित्र र भयानक दृश्य। त्यहाँ बसेको केही क्षणमा नै स्वाभाविक लाग्न थाल्छ त्यो वातावरण, अनि आत्मसात गर्न थालिन्छ, हाम्रो तराईको संस्कृति, खाद्य असुरक्षाको पीडालाई, जातिभेदबाट सिर्जित कुन्ठालाई। आस्थाका अगाडि कसैको केही लाग्दैन, गढीमाई तिनै आस्थाकी प्रतीक हुन् अनि आ–आफ्नो मनोकामना पूरा भएकोमा निर्दोष पशुको बलि चढाउनु पनि आस्था नै हो। यहाँ पशु बलिविरुद्ध आवाज भने नउठेको होइन तर त्यो स्वर अझै सानो छ। प्राणी तथा पर्यावरण सरोकार समूह नेपालले विगतका दुई मेलादेखि पशु बलिविरुद्ध जनचेतना फैलाउने अभ्यासको थालनी गरेको छ। समूहले मेलास्थल वरियारपुर तथा जिल्लाका अन्य ठाउँमा समेत पशु बलिविरुद्ध चेतनामूलक तुल र ब्यानरहरू झुन्ड्याएको छ। तर त्यो कुरा सुन्ने र बुझ्नेको संख्या साँच्चै नै सानो छ। यो बलि प्रथा र गढीमाईको आस्थाको सुरुवातका बारेमा अनेकन किम्बदन्तीहरू सुन्न पाइन्छ ती मध्ये कुन सत्य हो छुट्टयाउने जिम्मा भने अनुसन्धानकर्ताहरूलाई नै दिनुपर्छ। यस्ता अनेकन किम्बदन्तीहरू आफ्ना ठाउँमा छँदैछन् तर गढीमाईको मेला हाम्रो तराईको एउटा उत्कृष्ट मेलामा परिणत भइसकेको छ। हो पनि धार्मिक आस्था र बलिका कुरालाई थाँति राख्ने हो भने यो मेलामा नेपालको मधेस वास्तविक झझल्को पाइन्छ। यहाँ पस्किएका स्वादहरूमा हाम्रो तराई झकिन्छ, हरेक तेस्रो दोकान मिठाईको थिए र त्यहाँ राखिएका थिए, रङ्गीरिङ्गी मिठाइहरू। मनोरञ्जनका साधनहरू पनि यहाँका किसानहरूका लागि विशेष रूपमा आकषित गर्ने खालका हुन्छन्। ठूल…ठूला पिङ्गहरू, नौटकी र जादुका खेलहरू र तिनमा रमाइरहेका लाखौं मानिसहरू। यहाँको सबैभन्दा ठूलो समस्याचाहिँ अव्यवस्थापन नै हो। धेरैको तर्कमा मानिस धेरै आएकाले गढीमाईको स्थिति गन्जागोल छ। तर यसभन्दा अगाडिका मेलामा पनि स्थिति यस्तै नै थियो। तीर्थालुहरू आफूले ल्याएको टायरगाढा, ट्याक्टर, बस, जिपसँगै खुला आकाशमुनि पराल ओछ्याएर सुतिरहेका थिए। शौचालयको अभावमा मानिसहरू अँध्यारोमै जताततै खुल्लाशौच गर्न बाध्य थिए र उज्यालो भएपछि त्यहीं नजिक खाना पकाउँथे। अनि खानेपानीको व्यवस्था भए पनि तिनको राम्रो निकास नभएकाले दुई/चार मिटर टाढैदेखि एक फिटको हिलोमा गाँजिएर जानुपर्ने स्थिति थियो। न सुत्ने राम्रो ठाउँ न खाने बन्दोबस्त न शौचालयको सुविधा न खानेपानीको राम्रो व्यवस्था। चारैतिर भीड भीड र भीडमात्र। स्थानीय विद्यालय प्राचार्य, सचिदानन्द तिवारी भन्छन्, "यो मेला भारतसँग टाँसिएको हुनाले बिहारबाट मात्र होइन यहाँ धेरै प्रान्तबाट मानिस आउने गर्छन्। दिल्ली, मध्यप्रदेश, कोलकातासम्मका मानिस आएका छन्। एसियाको सबैभन्दा ठूलो मेला भएकाले सोचेभन्दा पनि बढी मानिस आएकाले सहयोग गरौं भन्ने सोचेर पनि सहयोग गर्न सकिएको छैन। यत्रो ठूलो मेलामा चर्पीको व्यवस्था गर्न सकिएको छैन। यो पञ्चवर्षीय मेला भएकाले यति धेरै भीड छ कि बेलुकासम्म होटलहरूमा गेट लगाइदिन्छन् र सामान छैन भन्छन्। सामान जति महँगो गरे पनि अट्दो रहेनछ।" मेला आयोजक समितिका अध्यक्ष तथा बाराका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद रेग्मी भन्छन्, "यो मेलामा मान्छेको संख्या ज्यादै बढी भएकाले व्यवस्थापनमा कमजोरी भएको हुनसक्छ, त्यो कमजोरी म स्वीकार गर्छु।" गढीमाईको पूजाको मूल दिन हुन् मार्गशुक्ल सप्तमी र अष्टमी। यी दिन यसपालि पुस ३ र ४ गते परेका थियो। सप्तमीका दिन मध्य रातदेखि नै तान्त्रिक विधिअनुसार पूजा सुरु हुन्छ। तान्त्रिक पूजाको सुरुवातसँगै गढीमाईको मन्दिर नजिकै रहेको ब्रह्मस्थानमा पूजा हुन्छ। र, पुजारीहरू गढीमाईलाई ब्रह्मस्थानमा स्थापना गर्नका लागि हतियारसहितको जुलुस गढीमाईको मन्दिरतिर लाग्छन्। गढीमाईको मन्दिरमा पनि निकै लामो पूजाआजा हुन्छ। माईको त्रिशूल हरेक पाँच वर्षमा फेरिने परम्पराअनुसार त्यो त्रिशूल फेरिन्छ। अनि माईलाई लिएर पुजारीहरू ब्रह्मस्थानमा ल्याइन्छ। र फेरि ब्रह्मस्थानमा लामो पूजा हुन्छ र यसैबीच नरबलिको रूपमा रौतहटका सेमरी गाउँका पुस्तैनी धामी दुखा कछडियाले टाउको, कान, जिभ्रो, छाती र जाँघबाट चक्कुले चिरेर एक–एक थोपा रगत चढाउँछन्। त्यसपछि पुजारीहरू महिसासुरको प्रतीकका रूपमा मौलो ठडाउँछन्। अनि आमबलि चढ्नुभन्दापूर्व पुजारीहरूद्वारा गरिने विशेष पूजामा पञ्चबलिका रूपमा सेतो मुसा, सुँगुर, राँगो, खसी र कुखुरा चढाइन्छ। यो पक्रियालाई आमसञ्चार माध्यमको बढ्दो कभरेजले पनि निकै फरक पारिसकेको छ। पूजा प्रक्रियालाई रोमाञ्चक बनाउनका लागि खुकुरी नचाउनेजस्ता प्रक्रियाहरूलाई विशेष महत्त्व दिइन थालिएको छ। त्यसपछि सुरु हुन्छ, आममानिसहरूले चढाएको राँगाको बलि। राँगा काट्ने घेराभित्र एउटा फरक अनुहार थियो, वीरगन्जबाट आएका विजेन्द्रविक्रम शाहको। उनी आफ्नो वंश परम्परालाई धान्न यहाँ सानैदेखि बलि दिन आउन थालेका हुन्। एक, दुई गर्दै क्रम बढ्दै गयो, बीस नाघेपछि उनले गन्नै छाडिदिए। विजेन्द्रविक्रम शाह भन्छन्, "मैले ६ कक्षा पढ्दादेखि काट्न थालेको। हजुरबुबाले पनि काट्नु हुन्थ्यो बुबाले पनि काट्नु भयो र मलाई सिकाएका हुन्। यो परम्परा नै हो एक हिसाबले।" तर, सबैका लागि परम्परा वा सौखमात्र सीमित छैन। मार हान्नेहरूलाई त्यसबापत चिराकी अर्थात् शुल्कको लोभ हुन्छ, राँगा खोज्नेलाई त्यसको मासुको। यहाँ दिइने राँगाको बलि आमबलिभन्दा बिल्कुलै फरक छ, कसैले गरेको भाकल पूरा भए, उसले राँगा ल्याउँछ र काट्न छुट्याएको घेराभित्र लगेर छोडिदिएपछि उसको देवीप्रतिको कर्तव्य सकिन्छ र ऊ मेलामा रमाउन थाल्छ। राँगा, त्यसपछि व्यवस्थापन समितिको अधीनमा हुन्छ। यो मेलाको अर्को विशेषता के हो भने यसमा धर्मको बन्धन छैन न छ पाहडे मधेसीको भेदभाव न भाषा र संस्कृतिको विभेद। मुसलमान होस् वा हिन्दु, पहाडे होस् वा मधेसी, भोजपुरी बोल्ने हुन् वा मैथिली, नेपाली हुन वा भारतिय, सबैमा एउटै उन्माद देखिन्छ, भाकल पुरा भएपछि गढीमाईलाई वली चढाउनुपर्छ राँगा काटिएपछि गाउँ–गाउँबाट आएका चमारहरूले त्यसको छाला निकालेर समितिद्वारा तोकिएको ठेकेदारलाई बुझाउँछन् र मासु साइकल वा गाढामा राखेर आफ्नो गाउँतिर लान्छन्। त्यही मासुका लागि भिडन्त हुन्छ यहाँ। राँगाका टाउका भने ब्रह्मस्थानअगाडिको ठूलो खाडलमा पुरिन्छ। राँगा काट्ने दिन, अर्थात् मार्गशुक्ल सप्तमीका दिन वध क्षेत्रवरपर लाठा बोकेर भेला भएका चमार समुदायका मानिसहरू भिडन्तको तयारीमा थिए। जब भित्र जाने मौका पाए, त्यहाँ राँगाको लुट मच्चियो, बलिया र ठूला समूहले राम्रा र ठूला राँगा घेरेर राखिहाले, कमजोरको भागमा पर्‍यो कमजोर र दुब्ला राँगा। कसैले त्यो पनि पाएनन्। तराईका कथित यी तल्ला जातमा खाद्यान्नको कमीले गर्दा पनि उनीहरू हरेक पाँच वर्षमा आफ्ना परिवारलाई मासु खुवाउने लोभले यहाँ भिड्न बाध्य छन्। बोकाको मासु भने चमारहरूले पाउँदैनन्। पसाहा नदी तरेपछि जुन भूभागमा बोकाको बलि दिए पनि हुन्छ। टाउको काट्नेले लान्छ र बाँकी भाग भाकलवालाले त्यहीं पकाउँछन्, खान्छन् र जान्छन्। नजिककाले घरैमा भोज गर्छन्। लाखौं मानिस भेला हुने भएकाले यो मेलामा पैसाको पनि राम्रै खेल हुन्छ। यसपालिको मेलामा मनोरञ्जनको ठेक्का ६ लाख ३१ हजारमा दिइएको थियो भने जग्गा भाडा १३ लाख रुपैयाँ र राँगाको छालाको ठेक्काचाहिँ एउटा छालाबापत १ सय ८२ रुपैयाँमा दिएको थियो। धर्म, कमाई र मनोरञ्जनका हिसाबले यो एउटा राम्रो मेला हो तर सुरक्षालगायतका अन्य व्यवस्था भने गढीमाई भरोसा नै छाडिएको छ। स्थानीय पत्रकार तथा तराईसम्बन्धी मामिलाका जानिफकार चन्द्रकिशोर झा भन्छन्, "वास्तवमा पहिले वरियारपुरका मानिसले व्यवस्थापन गर्दै आएको यो मेला अहिले प्रजिअको अध्यक्षतामा सञ्चालन गरिएको छ तैपनि कमजोरी छन्। यहाँ लडाइँको जस्तो दृश्य देखिन्छ। पानी चर्पीको राम्रो व्यवस्था छैन। केही भइहाल्यो भने मान्छे मर्न सक्छन्।" यो अव्यवस्था बुझेर सरकारले गुरुयोजना नै तयार गरेको छ। मेला आयोजक समितिका अध्यक्ष तथा बाराका प्रमुख जिल्ला अधिकारी रेग्मी भन्छन्, "गढीमाईको मेला नेपाल र भारतका धेरै जनाको आस्था र विश्वासको केन्द्र भएकाले यसको विकासमा धेरै काम गर्न आवश्यक छ। गढीमाईको व्यवस्थाका लागि सरकारले गढीमाई गुरुयोजना पनि स्वीकृत गरिसकेको छ।" यसबाहेक लाखौं मानिस सहभागी भइसकेपछि स्थानीय वातावरणमा पर्ने चापका बारेमा पनि सोच्नुपर्ने हो। स्थानीय शिक्षक महम्मद रफिक अन्सारी भन्छन्, हामीले नगरेको होइन, नगरेको भए यत्तिको म्यानेजमेन्ट कसरी हुन्थ्यो। तर मेला सकिएपछि सरसफाइ गर्न तीन महिना लाग्छ। यस्ता समस्या गुरुयोजनाबाट मात्र समाधान होला भन्ने आशा भने छैन। वास्तवमा सोच त अन्धाधुन्द रूपमा हुने बलिलाई नियन्त्रण गर्नेतिर आउनुपर्ने हो तर त्यो आएको छैन। मानिसको आस्थामा परिवर्तन गर्न समय लाग्छ तर बलि, त्यो वीभत्सताका साथ बलि दिने सोच परिवर्तनका लागि सुरुवात त हुनै पर्ने हो। तर अहिलेसम्म त्यसको सुरुवात भने हुन सकेको छैन।
राजेश घिमिरे  
 माघ २०६१ हाकाहाकी

No comments:

जलवायु परिवर्तन रोक्न नेपाली कदम

राजेश घिमिरे   जलवायु परिवर्तनका कारण अहिले पृथ्वी तात्तिँदो अवस्थामा छ र त्यसैका कारण नेपालको उत्तरी भू–भागको हिउँ पग्लिरहेको छ। जलवायु ...