Monday, August 11, 2008

बढ्दो खतरा

चितवनमा गैंडाको संख्या घट्छ भन्ने कुरा गैंडा गणना सुरु हुनुअघि नै नेपालका सरकारी र गैरसकारी संरक्षण अधिकारीहरूको अनुमान थियो। सशस्त्र द्वन्द्वकाकारण सुरक्षाफौजका पोस्टहरू सीमित भइदिँदा चोर शिकारीहरूको हौसला बढ्नु स्वाभाविक हो र एन्टी पोचिङ युनिट सक्रिय हुँदाहुँदै पनि चोर शिकारीहरू निर्वाध रूपमा गैंडा मार्न सफल भए। यसैकारण संरक्षणकर्मीहरूले गैंडाको संख्या घट्छ भन्ने अनुमान गरेका हुन्। तर, शाही चितवन राष्ट्रिय निकुञ्जमा ५ वर्षअगाडि ६ सय १२ गैंडा रहेकामा ३ सय ७२ मा सीमित हुन्छ भन्ने चाहिँ उनीहरूले सोचेकासम्म थिएनन्।
यसमा जिम्मेवार तत्व धेरै छन्, पहिलो गैंडाको वृद्धि वा प्रजननदरमा नै ठूलो गिरावट आएको छ। सन् २००० मा ३.७ प्रतिशत वृद्धिदर भएकोमा ५ वर्षमा यो घटेर ०.९२ प्रतिशत पुग्यो। त्यससँगै अर्को कारण, वासस्थानको कमी पनि हो। अहिले चितवनमा मिचहा प्रवृत्तिका विदेशी वनस्पतिहरू एक्कासि बढिरहेका छन्। जसका कारण गैंडाको घुमफिरमात्र होइन, आहारमा समेत असर परिरहेको छ। स्वतन्त्र विहार गर्न आवश्यक फाँट र खुला चौरहरूमा जंगल बनिसकेका छन्। अर्थात् गैंडाका लागि चितवनमा जंगलको वातावरण प्रतिकूल बन्दैछ, कारण स्पष्ट छ। चितवनमा व्यवस्थापनको अभाव खट्किरहेको छ। असुरक्षाका नाममा अव्यवस्थापनले जरो गाडिसक्यो। यसले गैंडाको संख्या अझै कति कम गराउने हो त्यो त अनुसन्धानको विषय हो तर त्योभन्दा डरलाग्दो संकेत भने नेपालको दक्षिण र उत्तरी छिमेकी राष्ट्रबाट आएको छ।
यतिबेला भारतको राजस्थानका दुई बाघ संरक्षण क्षेत्र, सारिएका र रन्थम्मौर बाघविहीन बनेको खबर चीनका विभिन्न क्षेत्रमा बाघको उत्पादनबाट बनेका वस्तुहरूको फेसन बढेको खबरले नेपाल आत्तिनुपर्ने स्थिति आइसकेको छ। नेपाललाई बाटो बनाएर भारतबाट तिब्बततिर वन्यजन्तुको तस्करी गर्ने चोर शिकारी र तस्करहरू सशस्त्र द्वन्द्वकाकारण नेपाल बढ्दो असुरक्षाको फाइदा उठाउँदै नेपालतिर नलोभिएलान् भन्न सकिँदैन। समयमै वृद्धि नपुर्‍याउने हो भने विगतमा संरक्षणका क्षेत्रमा संसारभरि नाक ठडाएर हिंड्ने नेपालको नाक नकाटिएला भन्न सकिँदैन। आफ्नो इज्यत र भविष्यका पुस्ताको अमूल्य नासो "वन्यजन्तु" लाई जोगाउन अहिले नै सचेत हुनु राम्रो।

राजेश घिमिरे

वैशाख २०६२ हाकाहाकी

No comments:

जलवायु परिवर्तन रोक्न नेपाली कदम

राजेश घिमिरे   जलवायु परिवर्तनका कारण अहिले पृथ्वी तात्तिँदो अवस्थामा छ र त्यसैका कारण नेपालको उत्तरी भू–भागको हिउँ पग्लिरहेको छ। जलवायु ...