Monday, August 11, 2008

कान्छीमाया, कुकुर र वातावरणीय अन्याय


यसपालिको हाकाहाकीको आवरणमा छापिएको छ, कान्छीमाया दिदीको तस्वीर। काठमाडौं मूलखर्ककी ५८ वर्षीया कान्छीमाया तामाङले पनि आमगरिब नेपाली महिलाले गर्ने जति नै मेहनत गर्छिन् तर उनलाई त्यो मेहनतले वर्षदिनसम्म खान पुग्दैन
किनकि उनको बारीको छेउमै पर्छ–राज्यको स्वामित्वमा रहेको शिवपुरी राष्ट्रिय निकुञ्ज। शिवपुरीबाट आउने बाँदर र बँदेलले कान्छीमाया दिदीको खेतीलाई बर्वाद पारिदिन्छ। उनी बाँदरलगायतका वन्यजन्तुबाट आफ्नो बाली जोगाउनका लागि अनेकन उपाय लगाउँछिन्, कहिले आफैं कराउँछिन्, कहिले ढ्याङ्ग्रो ठटाउँछिन् तर पनि केही लाग्दैन, उनको आँखै अगाडिबाट चोरी लान्छन् तिनले कान्छीमायाको मेहनतको फल।
बाँदर र बँदेलजस्ता वन्यजन्तुलाई धपाउने अनेकन उपायमध्ये एक हो–कान्छीमाया दिदीको कुकुर। हो, आफ्नो मकैबारी छेउको गोठमा एउटा कुकुर पालेकी छन् कान्छीमाया दिदीले। कुकुरलाई यति छोटो सिक्रीले बाँधिएको छ कि ऊ बस्नै सक्दैन। कुकुर, बस्यो कि सुत्यो, अनि सुत्यो कि बाँदरको हातबाट मकै सखाप। सुत्न नपाएकाले त्यो कुकुर दिनभरि भुकिरहन्छ अनि बाँदर जंगल छेउका मकैका घोगाबाहेक अरु खान सक्दैनन्।
एक हिसाबले भन्ने हो भने कान्छीमाया दिदी, उनको कुकुर र संरक्षित क्षेत्र वरपर अनि भित्रै बस्ने मानिसहरूको जीवनमा समानता छ। ती गरिब नेपालीहरू आफ्नो कमाई र जीवनको रक्षाका लागि न दिनमा सुत्न सक्छन् न रातमा। दिनरात कराउनै पर्छ उनीहरूले, नत्र कमाई पनि सखाप, ज्यान पनि सखाप। कराउने शिवाय केही गर्न सक्दैनन् उनीहरू।
नियम कानुनले उनीहरूको हात बाँधिएका छन्, कुकुर झैं भुक्नुपर्ने बाध्यता। आफ्नै जमिन, आफ्नै मेहनत अनि आफ्नै खेती, तैपनि विश्वको जैविक विविधता जोगाउनका लागि संरक्षण गरिएका वन र त्यसका वन्यजन्तुका कारण आफ्नो मेहनतको फल सबै सखाप हुँदा पनि टुलुटुलु हेर्नुपर्ने बाध्यता। किन त्यस्तो? विश्वभरिकै नागरिकका लागि जोगाइएका ती वन्यजन्तुका कारण भएको क्षति हामी निमुखा गरिबले मात्र किन व्यहोर्नु परेको? क्षति हाम्रोमात्रै फाइदा सबैलाई। हामीले क्षतिपूर्ति पाउनुपर्ने होइन र?
यस्ताखाले अनेकन वातावरणीय अन्यायका शिकार भएका छौं हामी राज्यपक्षबाट। तर क्षतिपूर्ति भने पाइँदै पाइँदैन वा पाए पनि देखावटी रूपमा एकदम कमपाइन्छ। यसरी पाएको क्षतिपूर्ति यति कम हुन्छ कि त्यसले क्षतिको एक प्रतिशत पनि पूर्ति हुँदैन।
हामीले न्याय नपाउनु पछाडि अनेकन कारण छन् र पहिलो चाहिँ हाम्रो आफ्नै कमजोरीले गर्दा हो। किनकि हामी आफैंलाई थाहा छैन हामी अन्यायमा परेका छौं भन्ने। थाहा नभएपछि के आवाज उठाउने? कसका अगाडि उठाउने? अनि कसरी उठाउने?
हामी वातावरणीय अन्यायमा पर्नुको अर्को कारक हो सरकारी कमजोरी। सरकार कमजोर भएकै कारण नेपाल र नेपाली जनताले जैविक विविधता जोगाउनका लागि गरेको त्यागका बारेमा विश्वले राम्ररी थाहा पाउन सकेको छैन। अनि विश्व जनमञ्चअगाडि हाम्रो सरकारले क्षतिपूर्तिसम्बन्धी आवाज उठाउन सकिरहेको छैन र त्यसबापत आफूले पाउनुपर्ने सुविधा पनि लिन सकेको छैन। नेपाली जैविक विविधतामा भएका लगानीको जति फल नेपाल भित्रिएको छ त्यो अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका माध्यमबाट मात्र आएको छ र खर्च पनि उनीहरूकै एजेन्डामा मात्र हुन्छ। उनीहरूको एजेन्डा, कान्छीमाया दिदी र हाम्रा समस्याभन्दा फरक छन्। उनीहरूमध्ये धेरैजसो त बाघ, भालु, गैंडाजस्ता नेपालका आकर्षक वन्यजन्तुलाई जोगाउन चाहन्छन्। चाहे, त्यसका लागि निमुखा गरिबहरू मारमा किन नपरुन्। उस्तै परे, ती वन्यजन्तुको संरक्षणका लागि उनीहरू हामीले परापूर्व कालदेखि उपयोग गर्दै आएको प्राकृतिक सम्पदा र भूमिबाट विस्थापित गर्न पनि पछि पर्दैनन्। र, तिनका एजेन्डाका अगाडि विवश भएर उभिन्छ हाम्रो सरकार !
हामीलाई वातावरणीय अन्यायमा पार्ने सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय ठालुहरूविरुद्ध आवाज उठाउने आजको टड्कारो आवश्यकता हो।
यी वातावरणीय अन्यायबाट मुक्त हुनका लागि सबैभन्दा पहिला त हामी आफू नै जागरुक हुनु पर्‍यो र सरकारलाई पनि घचघच्याउनु पर्‍यो। नत्र त हाम्रो हालत कान्छीमाया दिदीको कुकुरको झैं हुन्छ र हातमुख जोर्नका लागि हामी सधैं भुकिरहने छौं,
कराइरहने छौं।

राजेश घिमिरे
भदौ २०६१ हाकाहाकी

No comments:

जलवायु परिवर्तन रोक्न नेपाली कदम

राजेश घिमिरे   जलवायु परिवर्तनका कारण अहिले पृथ्वी तात्तिँदो अवस्थामा छ र त्यसैका कारण नेपालको उत्तरी भू–भागको हिउँ पग्लिरहेको छ। जलवायु ...