जाने–बुझेकै कुरो हो, पृथ्वीमा जनसंख्या बढेपछि, स्रोतको आवश्यकता पनि बढ्दै जान्छ। त्यससँगै मानिसको भौतिक सामग्रीप्रतिको चाह पनि बढ्दै जान्छ। यी दुवैको मूल मार भने पृथ्वीमातामा नै पर्छ। बढ्दो जनसंख्या र उग्र भौतिक चाहले पृथ्वीको स्रोत सकिँदै जान्छ। यो कुरा धेरैले बुझेका छैनन्, बुझेकाले पनि बुझ पचाएका छन्। त्यससँगै विशेषगरी पश्चिमी राष्ट्रका मानिसहरू ठूला र राम्रा भौतिक सुविधाका कुरा गर्नमा व्यस्त छन् अनि हामीहरू उपभोक्तावादको पश्चिमी शैलीको अनुशरणमा दौडिरहेका छौं। पश्चिमा शैली अर्थात् भविष्यमा आफ्नो क्रियाकलापले कस्तो असर गर्छ भन्ने सोच्दै नसोची प्राकृतिक स्रोतको चरम शोषण गर्ने शैली। यो पूर्वीया दर्शनको ठीक विपरीत शैलीको परिणाम सुरुमा पृथ्वीमाताले भोग्छिन्, अनि हामी मानिसकै थाप्लामा त्यसको दुःख कष्ट आइलाग्छ।
जनसंख्या बढ्दै जाँदा आवश्यकता बढ्नु स्वाभाविक हो र त्यसका लागि स्रोत बढी चाहिनु पनि व्यावहारिक नै छ तर त्यसकै नाममा पश्चिमी शैली अनुशरण गरेर हामी बस्ने धर्तीलाई ध्वस्त पार्नुचाहिँ कति जायज छ? धर्तीलाई जोगाउन त प्राकृतिक स्रोतको राम्रो व्यवस्थापन र सन्तुलन गर्नुपर्छ।
हो, त्यसैका लागि सक्षम छ हाम्रो रैथाने ज्ञान। हाम्रै रैथाने ज्ञानको एउटा अंग हो, आम्जी उपचार पद्धति। वास्तवमा संसारभरिकै रैथाने जातजातिको संस्कृतिको विकासमा धर्तीमाताको इज्जत कसरी गर्ने र त्यसलाई कसरी जोगाउँदै प्राकृतिक स्रोतको इज्जतदार उपयोग गर्ने भन्ने हो। तिनका नियम, रीतिरिवाज र संस्कृतिले वातावरण संरक्षणका लागि प्रत्यक्ष–परोक्ष रूपमा टेवा दिइरहेका हुन्छन्। रैथानेहरूको पूजाआजा, रीतिरिवाज, रूढीवादी सबै पारिस्थितिक प्रणालीलाई सन्तुलित गर्दै प्राकृतिक स्रोतको दिगो व्यवस्थापनतिर लक्षित हुन्छ। हजारौं वर्ष लगाएर विकास भएको यो ज्ञानको रहस्यलाई बुझेर त्यसलाई व्यवहारमा ल्याउने हो भने वातावरणीय समस्या आउँदैनन् र आए पनि समाधान गर्न सकिन्छ।
तर पश्चिमा उपभोक्तावादी हुरीले हजारौं वर्ष लगाएर जरो फैलाएको रैथाने संस्कृतिलाई हल्लाइरहेको छ अहिले। आधुनिकताका नाममा त्यस्ता वस्तुहरूको प्रवेश भएको छ जुन हाम्रो संस्कृतिमा कतैबाट पनि जोडिएको छैन। र, यही आधुनिकताले हाम्रो स्वाद फेरिदिएको छ, हाम्रो दृष्टिकोणमा भारी बद्लाव आएको छ। वास्तवमा पश्चिमी समाजको ठीक विपरीत पूर्वीया र रैथाने समाजका आवश्यकताहरू सीमित हुन्छ र हाम्रो त्यो संस्कृतिले हाम्रा चाहनाहरूलाई नै सीमित गरिदिएको हुन्छ। तर शासकीय उपनिवेशसँगै पश्चिमाहरूले सांस्कृतिक र भाषिक उपनिवेशको ठूलो साम्राज्य खडा गरे, शासन त गयो तर अन्य उपनिवेशको असर आज पनि बाँकी छ र त्यसले ठूलो घेरा बनाउँदै लगेको छ। परिणामत् युवाहरूलाई आफ्नो जरो कहाँ छ भन्ने पनि थाहा छैन, पश्चिमालाई त उनीहरूले छुन पनि सकेका छैनन्। अनि हुरीमा उडेका पात पतिङ्गर झैं बनेको छ, रैथाने र पूर्वीया समाजका युवाहरूको नियति। हुरीका पात बन्ने कि आफ्नो पहिचान बाँकी राख्ने? यिनै दुई विकल्प छन् हामीसँग। दोस्रो विकल्प रोजे, सुन्दर स्वच्छ वातावरणमा दिगो विकासको स्वाद पाउन सहज होला। आम्जीलगायतका हाम्रा अनेकन रैथाने ज्ञानको संरक्षण र सम्बर्द्धन पनि आफ्नै पहिचान जोगाउनका लागि हो। आज हामी वैज्ञानिक तर्कको कुरा गर्छौ र पश्चिमी हावामा कावा खान्छौं तर सोच्ने बेला आएको छ, हाम्रो ज्ञानको रहस्य खोज्ने बेला आएको छ।
रूढी र अन्धविश्वासको धूलोले छोपिएको हाम्रो ज्ञानबाट त्यो धूलो हटाउने प्रयास हामीले कहिल्यै गर्यौं त? त्यसो नगरी हामी कागले कान लग्यो भन्दै कागका पछाडि दौड्ने? सहस्रब्दीसम्म हामीलाई चिनाउन सक्ने, बचाउन सक्ने त्यो ज्ञान साँच्चै अवैज्ञानिक होला त? पक्कै छैन, नत्र हाम्रो अस्तित्व यो पृथ्वीमा हुँदैन थियो। आजका युवाको चुनौती पनि यही हो। हाम्रो ज्ञानको रहस्य बुझ्ने र त्यसको संरक्षण सम्बर्द्धनका लागि पुनर्उत्थानको क्रान्ति गर्ने, आऔं यही पूनीत कर्मका लागि हातेमालो गरौं।
राजेश घिमिरे असोज २०६१ हाकाहाकी
Subscribe to:
Post Comments (Atom)
जलवायु परिवर्तन रोक्न नेपाली कदम
राजेश घिमिरे जलवायु परिवर्तनका कारण अहिले पृथ्वी तात्तिँदो अवस्थामा छ र त्यसैका कारण नेपालको उत्तरी भू–भागको हिउँ पग्लिरहेको छ। जलवायु ...
-
Sanduk Ruit is the third Nepali to receive the Magsaysay award. He was recognised for his outstanding work at “placing Nepal in the forefron...
-
The Bankariyas, a forest-dweller community of central Nepal, have been uprooted from their traditional habitat and are living like refugees ...
-
On New Year s Day 2006, King Gyanendra of Nepal quietly issued an ordinance that many environmentalists fear could prove a major setback to ...
No comments:
Post a Comment