प्रकाशपुर सुनसरीका ६० वर्षीय नरबहादुर दाहाल अहिले थाप्लामा हात लगाएर गम्दै छन्। "कुन जन्मको कर्मको फल हो यो?"नरबहादुरले आफ्ना छिमेकीहरू जसरी नै जंगली हात्तीबाट बालीको रक्षा गर्नका लागि प्रकाशको व्यवस्था गर्न बिजुली तार टाँगेका थिए। त्यही तारमा करेन्ट लागेर एउटा जंगली हात्ती मर्यो। र, उनी वन्यजन्तु संरक्षण अधिकारीको कब्जामा परे, थुनामा परे विचरा बिरामी बूढा म्य्. धरौटी राखे, जरिवाना तिरेर बल्ल–बल्ल छुटेका छन्, नरबहादुर।
नरबहादुरका मात्र के कुरा गर्नु, सुनसरी बकौलीकी मीना भुजेल घरको न घाटको भएकी छन्, उनको बारीमा पनि एउटा जंगली हात्ती मारियो। सर्लाही सखुवाका रविन, पूजा र अमिता अहिले अनाथ भएका छन्। एउटा उन्मत्त जंगली हात्तीले उनीहरूका बाबालाई किचीमिची पारिदियो। झापा बाहुनडाँगीकी सन्तमाया दियाली विधवा र बेसहारा भएकी छन्, उनका खसम पनि हात्तीकै शिकार भए, बाहुनडाँगीका बूढा धनबहादुर थापाले आफ्नो जवान छोरा र भर्खरै भित्र्याइएकी बुहारी गुमाए।
जंगली हात्ती र मानवबीचको द्वन्द्वकायी केही उदाहरणमात्र हुन्। सशस्त्र द्वन्द्वबाट आक्रान्त हाम्रो मुलुकमा यी उदाहरणहरू सरकारी फाइलका पाना–पानामा टिप्पणीका रूपमा मात्र छन्। संवेदनहीनताको पराकाष्ट भएको यो देशमा हात्तीपीडितहरूको आवाज सुनिदिने सायद नै कोही होला?
२०६० सालमा मात्र जंगली हात्तीका कारण ११ जना निर्दोष र गरिब नेपालीले ज्यान गुमाए, बाली, घर र अरु धनसम्पत्तिको नोक्सानीको त कुनै तथ्यांक नै छैन। पहिले/पहिले वर्षको तीन महिनामात्र देखिने हात्तीले अहिले बाह्रै महिना आंतक मच्चाउन थालेका छन्। र, सरकारी अधिकारीहरूको भनाइलाई मान्यता दिने हो भने यसको मुख्य दोषी तिनै पीडित गरिब नेपाली नै हुन्। किनकि "तिनीहरूले हात्तीको प्राकृतिक बासस्थान र बाटो मासेर खेती गरे र घर बनाए त्यसैले हात्ती रिसाए।"
तर यो शतप्रतिशत सत्य होइन। किनकि केही वर्षअगाडिसम्म पूर्वी नेपालका थोरै ठाउँमा केही महिनामात्र आतंक मच्चाउने हात्तीहरू अहिले झापादेखि रौतहटसम्म बाह्रै महिना आतंक मच्चाएर हिंडेका छन्। सामुदायिक वन र संरक्षित क्षेत्रहरूको सफलताका कारण उनीहरूको बासस्थान बिग्रनेभन्दा सप्रने क्रममा छ। यसमा गरिब नेपाली जनताको कुनै दोष छैन। दोष नै दिने हो भने त सबैभन्दा ठूलो दोषी सरकारको संरक्षण नीति, नीति–निर्माता र कार्यान्वयनकर्ताहरू नै हुन्। उनीहरूले हात्तीको बढ्दो संख्याका बारेमा ध्यान नै दिएनन्। प्रकृतिको बहन क्षमताभन्दा बढी हात्ती हुँदा पनि त्यसबारे चासो राखेनन् र त्यसैले अहिलेको अव्यवस्थापनलाई निम्तो दिए उनीहरूले। र, त्यसैको परिणाम भोग्दैछन् नेपाली जनता ज्यान र धनसम्पत्ति गुमाएर।
नेपालीले नेपाली मारिरहेको अहिलेको स्थितिमा हात्तीले दुईचारजना मार्यो त मार्यो भन्ने स्थिति पनि छैन अहिले। कठोर वातावरणवादीहरूको नजर जस्तो मान्छे मर्छन् र फेरि जन्मिहाल्छन् भन्ने संवेदनहीनता देखाउने स्थिति पनि होइन यो। किनकि मानव र प्राकृतिक सम्पदाबीच सामान्जस्यता र सहअस्तित्व स्थितिको सिर्जना गर्न सकिएन भने त्यसको बढी मार प्रकृति र प्राकृतिक सम्पदामा नै पर्छ। त्यसको उदाहरण हो, २०६० सालमा ११ जना मान्छे हात्तीबाट मारिए र ५ वटा हात्ती मान्छेबाट।
वन्यजन्तुबाट हुने हानि–नोक्सानीको क्षतिपूर्ति र तिनको वासस्थान एवम् व्यवस्थापनका बारेमा तत्काल नै सोचिएन भने हात्ती मर्ने क्रम बढ्न सक्छ र हामीले प्रकृतिको त्यो अमूल्य धरोहरलाई गुमाउन पनि सक्छौं।
राजेश घिमिरे
वैशाख २०६१ हाकाहाकी
No comments:
Post a Comment