"मेरो घरअगाडिको खोला, मसँग खोसिएको जमिन र त्यहींबाट निकालिएको बिजुली तैपनि मेरो साँझ टुकीकै उज्यालोमा बित्छ। किन होला? मेरो पानी खोसिएपछि निक्लिएको बिजुलीबाट सहरबस्तीहरू उज्याला छन्, बिजुली अड्डाले पैसा कमाएको कमाएकै छ, तर मेरो खेत बाँझोको बाँझै किन होला? मेरो पानी र जमिन खोसिए बापत बिजुली अड्डाले कमाएको पैसाको केही अंश मैले किन नपाएको होला?"
यी प्रश्न मकवानपुरको मार्खु क्षेत्रका हरेक मानिसको मनमा छ, तर आवाज बनेर बाहिर निक्लिएका छैनन्। पानी र जग्गा खोसिएकाहरू चुपचाप छन्। मार्खु, कुलेखानी क्षेत्रमा पर्छ र त्यहीं बस्छन्, २६ वर्षदेखि विद्युत् प्राधिकरणबाट वातावरणीय अन्याय खेपिरहेका मानिसहरू।
उनीहरूका ६ सय घर आफन्त २६ वर्षअघि नै विस्थापित भइसके, उनीहरूको खोजीनीति केही छैन। इन्द्रसरोवरमुनि पुरिएको खेतको उब्जनीबाट भरपेट खान पुग्ने ती किसान अहिले सहरका चिप्ला सडकहरूमा ठेला घचट्दै छन् वा रिक्सा तान्दैछन् वा भारी बोक्ने कुल्ली बनेका छन्। अर्थात् आत्मस्वाभिमान गुमाएर परजीवीझै जीउन बाध्य भएका छन्।
त्यसैले त मार्खुका मानबहादुर बोमजन भन्छन्, "कुलेखानीले हामीलाई किसानबाट हली बनाइदियो।"२६ वर्षमा त ठूलै घाउमा पनि खाटा बसिसक्नु पर्ने हो, तर यहाँ त्यस्तो छैन, इन्द्र सरोवरको झिलिमिलीको छायाँमा मार्खुका ६ र ७ वडाका जनताले बालेको टुकीको पिरो धूवाँले उनीहरूको आँखा पोल्छ र घाउ फेरि बल्भि्कन्छ। खेतमा पानी नपुग्दा फेरि खाटा उप्किन्छ, वर्षामा बेस्सरी पानी छोडिँदा बेस्सरी दुःख्छ घाउ र आँखामा आँसु छचल्किन्छ।
मार्खु वा कुलेखानी क्षेत्रको मात्र के कुरा गर्नु तनहुँमा मर्स्याङ्दीपारिको गाउँ आख्लाङका मगर र भुजेलहरूका आँखा पनि टुकीको धूवाँले पोलिरहेको छ। मुलुककै दोस्रो ठूलो बिजुली उत्पादन केन्द्र मर्स्याङ्दी महाशाखाबाट ४ सय मिटर टाढाको यो गाउँ १३ वर्षदेखि टुकीको उज्यालोमा मर्स्याङ्दीको झिलिमिली हेर्न बाध्य छन्। उनीहरूको मनमा पनि प्रश्न त्यही नै उठ्छ, "हाम्रै पानी, हाम्रै जमिन, तैपनि हामीलाई बिजुली किन नाई?"अनि उनीहरू मनमा कुरा गुत्थै भन्छन्, "हामी सोझा र निमुखा भएर होला सबैले हेपेका !"
वातावरणीय न्यायको एउटा आधारभूत सिद्धान्त "लाभको बाँडफाँड र उचित अंश प्राप्तिको अधिकार"हो। तर हामीकहाँ ठूला परियोजना सञ्चालन गर्दा त्यो अधिकार दिइएको छैन। त्यसमा धेरै दोष त सरकारकै छ, तर केही हदसम्म हाम्रो पनि छ। हामी मनमा उठेका प्रश्नलाई आवाज बनाउँदैनौं, नियति भन्छौं, सहन्छौं तर अब त बेला आइसक्यो प्रश्न गर्ने, आवाज उठाउने, अनि मात्र पाउन सक्छौं हामीले हाम्रो अधिकार। नत्र त सधै ठालु, धनी र बोल्न सक्नेहरूको अन्याय सहेर नै बस्नु पर्ने बाध्यता हुन्छ। आउँ, मनभित्रका कुन्ठाहरूलाई बाहिर निकालौं, आवाज निकालौं र आवाजलाई शक्ति बनाऔं, वातावरणीय अन्यायविरुद्ध संगठित भएर शान्तिपूर्ण संघर्ष गरौं।
फागुन २०६० हाकाहाकी
Subscribe to:
Post Comments (Atom)
जलवायु परिवर्तन रोक्न नेपाली कदम
राजेश घिमिरे जलवायु परिवर्तनका कारण अहिले पृथ्वी तात्तिँदो अवस्थामा छ र त्यसैका कारण नेपालको उत्तरी भू–भागको हिउँ पग्लिरहेको छ। जलवायु ...
-
Sanduk Ruit is the third Nepali to receive the Magsaysay award. He was recognised for his outstanding work at “placing Nepal in the forefron...
-
The Bankariyas, a forest-dweller community of central Nepal, have been uprooted from their traditional habitat and are living like refugees ...
-
On New Year s Day 2006, King Gyanendra of Nepal quietly issued an ordinance that many environmentalists fear could prove a major setback to ...
No comments:
Post a Comment