Tuesday, August 12, 2008
आत्मघाती विलम्ब
भित्तामा टाँसिएका फर्सी, काँक्राका बीउ लगेर बारीमा रोप्ने बानी लागेका हामीले भोलि आफ्नै रैथाने बीउ कुनै बहुराष्ट्रिय कम्पनीको ट्रेड नाममा किन्नुपर्दा कस्तो होला हाम्रो मन? अनि परम्पराअनुसार पाकेका काँक्रा वा फर्सीका बीउ सुकाएर रोप्दा पनि नफल्ने भइदिँदा के होला हाम्रो स्थिति? हो, ती दोस्रोपटक फल्ने छैनन्, किनकि उत्पादक कम्पनीले एकपटक फलेपछि तिनलाई फेरि नफल्नेगरी खसी पारिदिने रसायनसहित पठाइदिएका हुन्छन्। सधैँ फलिदिए त हामीहरू उनीका व्यापारिक दास कसरी हुन्थ्यौं? यस्ता अनेकन अवस्था सिर्जना हुनसक्छ। तिनलाई रोक्न अन्तर्राष्ट्रिय कानुन पनि बनाइएका छन्।
ब्राजिलको रियो दी जेनेरियोमा सन् १९९२ मा सम्पन्न संयुक्त राष्ट्रसंघीय वातावरण र विकाससम्बन्धी सम्मेलनले "जैविक विविधता महासन्धि" पारित गरेपछिका वर्षमा तिनै आनुवांशिक स्रोतसम्मको पहुँच तथा लाभको बाँडफाँड सम्बन्धमा अन्तर्राष्ट्रिय कानुन र व्यवहारमा अनेकन खालका विकास भइसकेका छन्। तीमध्ये अधिकांशको काम आनुवांशिक स्रोतलाई परम्परागत रूपमा संरक्षण गरिरहेका समुदायको हकहितलाई सुनिश्चित गर्ने खालका छन्।
नेपालले पनि यो महासन्धिमा हस्ताक्षर गरेर यसलाई सन् १९९३ मा अनुमोदन गरिसकेको छ। महासन्धिले जैविक विविधताको संरक्षण तथा दिगो उपयोग तथा संरक्षणका लागि आदिवासी, जनजाति र स्थानीय समुदायको मौलिक तथा परम्परागत ज्ञान तथा सीपको सम्मान र संरक्षण गरी स्रोतमा पहुँच पाउन चाहने पक्षले समुदायसँग पूर्वस्वीकृति लिनुपर्ने र स्रोतबाट प्राप्त हुने लाभको समन्यायिक बाँडफाँड हुनुपर्ने राष्ट्रिय नीति तथा कानुनमा हुनुपर्ने व्यवस्था गरेको छ। यिनै कुरालाई ध्यान दिएर नेपालले "आनुवांशिक स्रोतसम्मको पहुँच तथा लाभको बाँडफाँडसम्बन्धी नीति/कानुन २००२" मस्यौदा विधेयक पनि तयार पारेको छ। र, यसमा दर्जनौं चरणका परामर्श गोष्ठीहरू पनि भइसकेका छन्। तर आनुवांशिक स्रोतसम्मको पहुँच तथा लाभको बाँडफाँडलाई व्यवहारमा लागू गराउनका लागि आवश्यक कानुनको रूप भने यसले लिन सकेको छैन। यसका पछाडिको एउटा मूलकारण राजनीतिक अस्थीरता र सशस्त्र द्वन्द्व त हुँदै हो तर त्योभन्दा पनि ठूलो कारण झिनामसिना कुरामा अल्झी नरुचाउने नेपालीको बानी हो। उक्त मस्सौदा कानुनका परामर्श बैठकमा सहभागी हुनेहरू त्यस्तै झिनामसिना कुरामा अल्झेर आ–आफ्नो स्वार्थअनुरूप कानुनलाई ढाल्न खोजिरहेका भेटिन्छन्। यिनै स्वार्थका टकरावका कारण नेपालको प्रशासन उक्त कानुनलाई लागू गर्न चाहिरहेको छैन। र, कानुन नहुँदा हाम्रा कति स्रोत बाहिरिइएका छन् र कति अर्काले आफ्नो परिसके हामीलाई थाहा छैन। र, ती कदमलाई रोक्ने कुनै उपाय पनि हामीसँग छैन।
वास्तवमा यो महासन्धिले कुनै पनि राष्ट्रको स्रोतमाथि सो राष्ट्रकै सार्वभौम अधिकार रहने कुरालाई स्पष्ट पारेको छ। यदि कुनै तेस्रो पक्षले सो राष्ट्रको स्रोतमा पहुँच चाहे आपसी समझदारीका आधारमा दिन सकिने र स्रोतमा पुग्नुअघि सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिनुपर्ने छ।
किसान तथा आदिवासी जनजातिबाट संरक्षित आनुवांशिक स्रोत र तीसँग सम्बन्धित ज्ञान, सीप तथा सूचनामा पहुँच चाहने बाहिरका व्यक्तिले उनीहरूबाट पूर्वस्वीकृति लिनुपर्ने कुरा पनि कानुनमा व्यवस्था हुनुपर्छ र अहिलेको मस्सौदामा पनि सो प्रावधान छ।
तर कानुनकै अभावमा ती कुरा लागू हुन सकेका छैनन्। किसानले आफ्नो बीउ, स्रोत र त्यससम्बन्धी ज्ञानको महत्त्व बुझ्न सकेका छैनन्। कानुन लागू गर्न ढिलो भइसक्यो र यो ढिलाइ, यो विलम्ब आत्मघाती हुन बेर छैन।
राजेश घिमिरे
भदौ २०६३ हाकाहाकी
भाषा जोगिए, जोगिन्छ प्रकृति
पाकिस्तानको कराँचीबाट उर्दू भाषामा प्रकाशित हुने "ग्लोबल साइन्स" नामक मासिक पत्रिकाले विज्ञान जगत्को समाचार र टिप्पणी प्रकाशित गर्छ। आफ्नै भाषामा भएकाले पाकिस्तानका जनता विशेषतः महँगा किताब र पत्रिका किन्न नसक्ने विद्यार्थीबीच यो निकै लोकप्रिय छ।
"ग्लोबल साइन्स" को अहिलेको अंक "वायोटेक्नोलोजिक" को विकासका विषयमा विशेषाङ्क निकालेको छ। तर दुर्भाग्य के भने यो अंक (प्रायःमा यस्तै हुन्छ) का हरेक पानामा कि त अंग्रेजी शब्द छन् वा अंग्रेजीबाट उर्दूमा अनुवाद गरेका शब्दहरू।
यसका पछाडि थुप्रै कारणहरू छन्। अहिले भइरहेको वैज्ञानिक अनुसन्धानका अधिकांश प्रतिवेदन मुख्यतः अंग्रेजी भाषामा संयुक्त राज्य अमेरिका र युरोपेली मुलुकहरूका विशेषज्ञता प्राप्त "जर्नल" हरूमा प्रकाशित हुन्छन्। र, जबसम्म विश्वका अन्य भागका वैज्ञानिकले अनुन्धान र आविष्कारमा अझै बढी नेतृत्व लिँदैनन् तबसम्म उर्दूलगायतका भाषाले अंग्रेजीका "जीन" "वायोलोजिकल", "स्टेरोइड्स", जस्ता शब्दहरू "सापटी" लिने क्रम चलिनै रहने छ।
धेरैजसो भाषाले भने अंग्रेजी फ्रेन्च वा अन्य भाषाका शब्दलाई प्रयोग नगर्नका लागि ती भाषाबाट शब्दहरूको आफ्नै शब्द बनाउँछन्। अंग्रेजी शब्द प्रयोग गर्ने वा तिनको आफ्नै शब्दमा अनुवाद गर्ने भन्ने असहज स्थिति छ। "ग्लोबल साइन्स" का प्रधान सम्पादक अलिम अममदको भनाइमा उनका पाठकहरूले अनुसन्धानलाई आफ्नै भविष्य बनाउने हो भने उनीहरूले अंग्रेजी भाषाका वैज्ञानिक शब्दावलीको ज्ञान राख्नै पर्छ। उनको भनाइमा पाठकहरूले धेरैभन्दा धेरै यस्ता शब्द जाने भने तिनले आत्मविश्वासका साथ विश्व र मुलुकको विज्ञानमा योगदान दिन सक्छन्।
तर "ग्लोबल साइन्स" मा अंग्रेजीका शब्दहरूको मात्रा हेर्ने हो भने भाषाप्रेमी सबैलाई चिन्तित बनाउँछ। यो क्रम जारी रहने हो भने विश्वका दस ठूला भाषाबाहेकका अन्य भाषाहरू ती ठूला भाषामा समाहित हुँदै जाने सम्भावना बढ्न सक्छ।
वास्तवमा विश्वका भाषाहरूको क्षयीकरण वा लोप हुने खतरामा छ। युनेस्कोले निकालेको लोप हुने खतरामा रहेका विश्वका भाषामध्ये विश्वमा बोलिने ७ हजारभन्दा बढी भाषाहरू आधाभन्दा बढी लोप हुने क्रममा छन्। ५ हजार भाषा त १ लाखभन्दा कम मानिसमा मात्र सीमित छ भने झन्डै १ हजार ५ सय भाषा त १ हजार (ती पनि बूढाबूढी) को जनसंख्यामा मात्र सीमित छ।
के यो विज्ञानका लागि समस्या हो त? धेरैजसोको तर्कमा विज्ञान भनेको विश्वलाई बुझ्ने विश्वव्यापी उपाय हो र "जीन भनेको के हो" वा किन हाम्रो जलवायु परिवर्तन भइरहेको छ" जस्ता प्रश्नको उत्तर अंग्रेजी बोल्नेले होस् वा उर्दू बोल्नेले, एउटै दिन्छ।
यस्ता ठूला प्रश्न वा उत्तरका मामिलामा माथिको तर्क सत्य हुनसक्छ। तर संसारमा यस्ता धेरै प्रश्नहरू छन् जसको व्यवहारिक, सामाजिक र वैज्ञानिक समाधान स्थानीय रैथाने भाषामा मात्र पाइन्छ। र, तिनै उत्तर आवश्यक हुन्छन्, वातावरणको संरक्षण अनि दिगो विकासका लागि।
यसै सन्दर्भमा सन् २००६ को मार्च २० देखि ३१ तारिखसम्म सन् १९९३ डिसेम्बरदेखि कार्यान्वयनमा आइसकेको जैविक विविधतासम्बन्धी राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको आठौं बैठक ब्राजिलको कुरिटिवामा सकिएको छ। यो महासन्धि र अन्य परिभाषाअनुसार अंग्रेजीमा वायोलोजिकल डाइभर्सिटी वा वायोडाइभर्सिटी भनिने जैविक विविधता भनेको सम्पूर्ण जीवित वस्तुहरूको एकीकृत र समग्र रूप हो। तर मानव इतिहासको अहिलेको युगमा हामी अपत्यारिलो दरमा जैविक विविधता गुमाउँदैछौं। विगत ५ सय वर्षको अवधिमा ६ करोड ५० लाख वर्ष अगाडिको "सामूहिक लोप" को अवस्थामा हराएका भन्दा बढी जीवजन्तु लोप भइसकेका छन्। ६ करोड ५० लाख वर्षअगाडिको सामूहिक लोपको अवस्थापछि एउटा ध्रुमकेतु पृथ्वीमा ठोक्किएर फेरि अर्को विनाश गरेको विश्वास गरिन्छ। जसबाट यो धर्तीमा एकदमै कम जीव वनस्पति बाँकी भए र तिनको आधारमा अहिले पृथ्वीको जीवन चलिरहेको छ। र, आज औद्योगिकीकरण, पेट्रोलियम पदार्थ र कथित आधुनिक खेती प्रणालीका कारण फेरि एकपटक हामी नयाँ सामूहिक लोपको अवस्था निम्त्याउँदैछौं।
सम्पन्न जैविक विविधताको मूल्य केवल सौन्दर्यमा मात्र सीमित छैन। यो आज हामीले सित्तैमा पाएको जस्तो गरेका अनेकन प्राकृतिक सेवाहरूको स्रोत हो। स्वच्छ पानी, हावा, उब्जाउ भूमिजस्ता प्राकृतिक सेवालाई हामीले निःशुल्क माने पनि ती जैविक विविधताको सम्पन्नतामा भर पर्छन्।
जैविक विविधताको घट्दो क्रमको भयानकतालाई विचार गरेर नै महासन्धिका पक्ष राष्ट्रहरूले एउटा महत्त्वाकांक्षी योजना प्रस्तुत गरेका छन्, त्यो हो सन् २०१० सम्ममा लोप हुन लागेका प्रजातिको लोपोन्मुख दर कम गर्ने। यो लक्ष्य पूरा गर्नका लागि वास्तवमै कठिन मेहनत गर्नुपर्छ। त्यो पूरा गर्न आउँदो ४ वर्षभित्र कम्तीमा पनि पेटो्रलियम पदार्थजस्ता प्रदूषक इन्धनको कम प्रयोग, रासायनिक पदार्थमुक्त खेती, वन विनाशमा कमी, अत्यधिक मात्रामा गरिने माछा मार्ने काममा कमीजस्ता काम गर्न आवश्यक छ।
यी काम गर्न उपयुक्त नीति, संयोजन र कार्यान्वयनका चरणमा निकै धेरै मेहनत गर्न आवश्यक छ। यी काम हामीले सम्पन्न गर्नमा अर्को एउटा गम्भीर चुनौती पनि अगाडि उभिएको छ। वास्तवमा हामीले ती प्रजातिको रक्षा गर्नका लागि ती छन्/छैनन् भनेर थाहा पाउनुपर्छ तर यो पृथ्वीमा कति र कस्ताखाले प्रजातिको वास छ भन्ने हामीलाई थाहा छैन। जीवशास्त्रीहरूले आजसम्म पृथ्वीमा १७ लाख ५० हजार प्रजातिको अभिलेख राखेका छन् तर वास्तविक संख्या २ करोडभन्दा बढी हुनसक्ने उनीहरूकै अनुमान छ।
ती जीवशास्त्रीले अभिलेख नराखेका बाहेक पनि केही प्रजातिबारेमा सूचना उपलब्ध छ। क्यानडाको म्याकगिल विश्वविद्यालयकी क्याथरिन पोटमिन र मोरोक्कोको नेसनल इन्स्टिच्युट फर रिसर्च इन एग्रोनोमीकी फातिना नसिफको अथक प्रयासबाट आज हामी अफ्रिका, एसिया, दक्षिण अमेरिका र प्रशान्त महासागरीय क्षेत्रका आदिवासी जनजातिले सताब्दीऔंदेखि प्रयोग र पहिचान गरेका अनेकन प्रजातिबारेमा अभिलेख राखिएको छ।
यहाँ नै देखिन्छ, जैविक विविधता र भाषाको सम्बन्धको महत्त्व, यस्ता धेरै आदिवासी। जनजातिका समुदाय छन् जो जैविक विविधताका ज्ञानका बारेमा असाध्यै धनी छन् तर उनीहरूको भाषा भने लोपोन्मुख छ। तिनका भाषा हराए त्यो ज्ञान पनि हराउँछ र त्यो ज्ञान हराए ती जैविक विविधता पनि हराउँछ। "सेरिङ अ वर्ल्ड अफ डिभरेन्सः द अर्थस् लिङगुस्टिक, कल्चरल एन्ड वायोलोजिकल डाइभर्सिटी (२००३)" नामक युनेस्कोले प्रकाशित गरेको एक पुस्तकका अनुसार जुन क्षेत्र जैविक विविधतामा जति धनी छ, त्यो क्षेत्र त्यति अनुपातमा धेरै भाषा बोलिन्छन्। उदाहरणकै लागि विश्वका कुल भाषामध्ये एक चौथाई भाषा पपुवा न्यूगिनी र इन्डोनेसियामा बोलिन्छ र यी दुवै देश जैविक विविधतामा धनी विश्वका १२ मुलुकमध्येमा पर्छन्।
यस्तै काममा संलग्न अर्को संस्था हो रिगोवेत्रा मेन्चु तुम फाउन्डेसन। यो संस्था सन् १९९२ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित मानव अधिकारकर्मी तथा ग्वाटेमालाको आदिवासी क्वीचे (माया) समुदायकी सदस्य रिगोवेत्रा मेन्चु भन्छिन् "यो संयोगजस्तो देखिएपछि संयोग भने होइन, जैविक विविधताको अत्यन्त धनी क्षेत्रमा आदिवासीहरू बस्छन् र आजको विश्वको जटिल जीवन पनि आदिवासीहरूले पत्ता लगाएका प्रविधिमा आधारित छ।"
मेन्चुको भनाइमा सत्यता छ। र, त्यही सत्यलाई मान्ने हो भने आदिवासी जनजातिको भाषा र संस्कृतिको जगेर्ना गर्नैपर्छ। यदि त्यसो गर्न सकिएन भने हाम्रो साझा भविष्यका लागि समेत आवश्यक उनीहरूसँग रहेको ज्ञान र जीवनदायी स्रोतहरू उनीहरूको भाषासँगै मर्छ।
एहसान मसुद, पाकिस्तानको "द गेटवे ट्रस्ट" का निर्देशक हुन्।
जेठ २०६३ हाकाहाकी
अनुवादः राजेश घिमिरे
रहस्य
यतिबेला फेरि मुलुक लोकतान्त्रिकीकरणको प्रक्रियामा जुटेको छ, समाज खुला हुँदैछ र त्यसैले पीडित उत्पीडित जातजाति, भाषाभाषीहरू आत्मपहिचानका लागि जुर्मुराएका छन्।
एउटा वर्ग अति माथि पुग्ने र अर्को वर्ग सधैं पछाडि परिरहने अवस्था मुलुकको समग्र विकासका लागि घातक हुन्छ। अहिले नेपालले भोगेको असमान विकासको एउटा कारण राज्यको विभेदकारी नीति पनि हो। विगतमा राज्यको संरचना खास जातजाति र भूगोलको वरपरमात्र घुमिराख्यो र यसैका कारण अन्य समुदायका लागि अवसरको कमी देखियो। अब बेला आएको छ, समान व्यवहार र सम्पूर्ण जातजाति भाषाभाषीको समावेशीकरणको।
वास्तवमा विद्वेशलाई ननिम्त्याईकन समग्र जातिको एक समान विकास गर्ने वातावरण सिर्जना गरिएमात्र हाम्रो मुलुक दिगो विकासका बाटोमा हिँड्न सक्छ। र, यसका लागि सबैभन्दा पहिले राज्य अग्रसर हुनुपर्छ।
मुलुकका समग्र भाषाभाषी र जातजातिको समग्र विकास र संरक्षण भएन भने नेपालको जैविक विविधताका लागि पनि घातक हुने खतरा भएकाले पनि नेपालभित्र रहेका सबै भाषाभाषी र जातजातिको विकास संरक्षणका लागि आवाज उठाउनु जरुरी छ।
वास्तवमा प्रकृति र जैविक विविधताका अनेकन रहस्य स्थानीय र रैथाने भाषाभित्र लुकेका छन्। ती भाषा बोल्नेहरूमा आफ्नो वरपरको वातावरण र जैविक विविधताका बारेमा अपूर्व ज्ञान हुन्छ। यो किन पनि सत्य हो भने विश्वका अधिकांश ठाउँमा जस्तै नेपालमा पनि जैविक विविधताका अत्यन्त धनी स्थानहरूमा आदिवासी जनजाति कै बसोबास छ र त्यो जैविक विविधताको गुह्य पनि उनीहरूलाई मात्र थाहा छ।
वास्तवमा विश्वका भाषाहरू क्षयीकरण वा लोप हुने खतरामा छ। युनेस्कोले निकालेको लोप हुने खतरामा रहेका विश्वका भाषामध्ये विश्वमा बोलिने ७ हजारभन्दा बढी भाषाहरू आधाभन्दा बढी लोप हुने क्रममा छन्। ५ हजार भाषा त १ लाखभन्दा कम मानिसमा मात्र सीमित छ भने झन्डै १ हजार ५ सय भाषा त १ हजार (ती पनि बूढाबूढी) को पुस्तामा मात्र सीमित छ। यो समस्याबाट नेपाल पनि पीडित छ। र, यो सँगैको अर्को तीतो सत्य के हो भने अहिले कै अनुपातमा विश्वबाट भाषा र संस्कृति लोप हुँदै जाने हो भने त्यसको प्रत्यक्ष असर जैविक विविधताको पहिचान र संरक्षणमा पर्छ र त्यसबाट उपलब्ध हुनसक्ने फाइदाबाट समग्र विश्व वञ्चित हुनसक्छ।
अर्को विकासको अजीव परिभाषाको विडम्बनाबाट पनि पीडित छौं हामी। हामीकहाँ आफ्नो रैथाने खानाको सट्टा चामलको भात खान पाउनुलाई विकास मान्नेहरू धेरै छन्, आफ्ना साँस्कृतिक पहिचान गुमाएर जिन्स र टिसर्ट लगाउनुलाई विकास मान्नेहरू पनि कम छैनन् अनि आफ्नो भाषाका सट्टामा अंग्रेजी बोल्न सक्नुलाई विकास मान्ने पनि यहीँ छन्। परिवेश सुहाउँदो घरका सट्टा आरसीसी गरिएका सिमेन्टेट घरमा बस्न पाउनुलाई विकास मान्नेहरू पनि हामी हो। तर यथार्थमा यो विकास होइन विनाश हो। जातीय ज्ञानको क्षयीकरण हो।
आदिवासी जनजातिको भाषा र संस्कृतिको जगेर्ना गर्नैपर्छ। तर त्यो वास्तविक जगेर्नाका पक्षमा हुनुपर्छ न कि विकासका नाममा निम्त्याइने विनाशका शैलीमा। जगेर्नाका नाममा हामीले आफ्नो संस्कृति, भाषा र चालचलन सबैलाई छाड्यो भने चाहिँ त्यसले अरुलाई भन्दा पनि सबैभन्दा पहिले हामीलाई नै हानी गर्छ। हामीले आफ्नो भाषा र संस्कृति गुमायौं भने हामी तिनमा लुकेको रहस्य पनि गुमाउने छौं र त्यसबाट समग्र मानव जातिको विकास र जैविक विविधताको संरक्षणमा हामीले दिन सक्ने योगदानबाट पनि हामी वञ्चित हुनेछौं।
राजेश घिमिरे
जेठ २०६३ हाकाहाकी
खै त कार्यान्वयन?
मध्य र सुदूरपश्चिममा एकताका चर्किएको रक्सीविरोधी महिला आन्दोलनले व्यापारी र रक्सी मन पराउनेहरूको चर्को दबाव धेरै लामो अवधि थेग्न सकेन। पश्चिममा डढेलोझै सल्किए पनि सजिलै निभाइदियो–प्रशासनको नैराश्यता, व्यापारीको लोभ र रक्सीप्रेमी आशक्तिले। एक वर्षयता अर्को आन्दोलन चर्कियो मुलुकमा, पति वियोग भएका महिलाले आजीवन आशौच मान्न पर्ने सेतो पहिरनविरुद्ध। एकबाट अर्को जिल्ला हँुदै यो मध्य नेपालको सबैतिर चर्कियो। तर नियमित अनुगमन र सशक्त नेतृत्वको अभावमा यो पनि विस्तारै सेलाउँदैछ। त्यसैले त अझै पनि "अलच्छिन" प्रतीक बनाइएका छन्, सेतो पहिरनका एकल महिलाहरू।
अरु थुप्रै आन्दोलन पनि आए, अखबारका पानाहरू रंगिए अनि विस्तारै गए। कति होटलका बैठकमा सुरु भए, कति नवधनाढ्यका बैठक कोठामा अनि सडकमा उत्रिए र खबर बने, आन्दोलन चलाउनेहरू उक्सिए, अरु सब सेलाए।
के यी आन्दोलनहरू अर्काका स्वार्थका लागि गरिएका हुन् त? पक्कै होइनन्, विदेशी दाताका स्वार्थअनुरूप चलेका केही अपवाद आन्दोलनबाहेक अरु सबै नेपाली चेलीहरूको मनभित्र गुम्सिएर रहेको आक्रोशको विस्फोट हुन्। असमानता र शोषणका कारण वर्षौदेखि गुम्सिएको पीडाले निकास खोजेका हुन् ती आन्दोलनमार्फत।
त्यस्तै एउटा अर्को पीडा–छाउपडी कुप्रथाबाट मुक्ति खोज्दैछन्, सुदूर र मध्यपश्चिमका पहाडका चेलीहरूले। त्यही पीडाबाट मुक्त हुने आन्दोलन यतिबेला चर्किएको छ, त्यस क्षेत्रमा। छाउपडी कुप्रथाको व्यथा त्यो अनुभव नगर्नेले बुझ्नै सक्दैन। यो कुप्रथाअन्तर्गत नियमित र प्राकृतिक रूपमा हुने मासिकश्राव बेलामा महिलाहरूले हरेक महिनाको चारदेखि सात दिन घरबाहिरको छाप्रो वा गोठमा छुवाछूत बारेर अलग्गै बस्नुपर्छ। त्यो अवधिमा पोषिलो खानेकुराबाट वञ्चित हुनुपर्छ। त्यसले उनीहरूको मन मस्तिष्कमा कति नकारात्मक छाप छोडेको होला। उनीहरूका शारीरिक, मानसिक बौद्धिक र व्यक्तित्व विकासमा यसले कस्तो अवरोध पुर्याएको होला। बेकारमा महिला भएर जन्मिएछु भन्ने हीनभावनाले पक्कै पनि ग्रसित बनाएको होला उनीहरूलाई। र, त्यसले उनीहरूका सन्तान, घरपरिवार र सिंगो समाजलाई नै पक्कै नकारात्मक प्रभाव पारेको होला। कस्तो होला त त्यो अनुभव हुम्लामा कक्षा ७ मा पढ्ने १५ वर्षीया कमला रोकाको यी शब्दले सायद त्यो पीडाको बयान गर्छ, "यो छुइ हुन नपरे कति राम्रो हुन्थ्यो। यसले मेरो पढाइलाई समेत असर पारेको छ। छुइ बारेन भने देउता रिसाउँछ भन्छन् तर मलाई भने हरेक महिना छुइ भएका बेला छाउपडीमा एक्लै सातदिन बिताउन धेरै गार्हो पर्छ, राति डरले सुत्नै सक्दिन।"
यस्तो पीडादायक कुप्रथा बन्द गर्ने प्रयास राजधानीमा समेत नभएका होइनन्। केही उत्साही महिलाले हालेको रिट निवेदनमाथि सर्वोच्च अदालतले यो कुप्रथाविरुद्ध आदेश दिइसकेको छ। तर त्यसको कार्यान्वयन हुने सकारात्मक आभास पाइएको छैन। हाम्रोजस्तो राज्यव्यवस्थामा न्यायपालिकाको यस्ता आदेश त्यति सजिलै कार्यान्वयन हँुदैनन्। मुद्दा हाल्नका लागि मुद्दा हाल्ने र पत्रिकामा नाम छपाएर थन्कने प्रतिबद्धताले महिलाप्रति नकारात्मक सोंच भएको राज्यव्यवस्थाबाट न्याय पाइँदैन। यस्ता फैसला कार्यान्वयन गराउनका लागि त न्याय खोज्नेहरूमै असीम प्रतिबद्धता चाहिन्छ, अनुगमन चाहिन्छ। तर त्यो प्रतिबद्धता र अनुगमनको अभाव देखिएको छ, महिला नेतृत्वमा।
प्रतिबद्धता र अनुगमनकै अभावमै त हो, हाम्रा महिला सशक्तीकरणका आन्दोलनहरू बीचमै तुहिनुका कारण। सामाजिक आन्दोलनमा लागेका हरेक महिलाले बुझ्नुपर्छ त्याग र बलिदानबेगर सम्भव छैन, महिला सशक्तीकरण आन्दोलन। नेपालको आधा जनसंख्याको वास्तविक मुक्ति खोज्ने हो भने छरिएको आन्दोलनलाई एकीकृत गर्नेमात्र होइन अब महिलाहरूले सशक्त नेतृत्वको विकास गर्नुपर्छ, जुन नेतृत्वले शान्तिपूर्ण आन्दोलनका लागि त्याग र बलिदान गरोस् ताकि अबका आन्दोलनहरू तुहिन नपरोस्, महिलाहितमा भएका फैसलाहरू कार्यान्वयनका तहसम्म जाउन्।
राजेश घिमिरे
फागुन २०६२ हाकाहाकी
जागे महिला
सशस्त्र द्वन्द्वको अप्ठ्यारो परिस्थितिमा पनि सहकारिताका माध्यमबाट मकवानपुरका १७ गाविसका झन्डै ११ हजार चेलिबेटी कृषि, व्यापार र जागरणका माध्यमबाट महिला सशक्तीकरणमा लागेका छन्। परिणामत ती १७ गाविसमा तरकारी खेती फस्टाएको छ, आम्दानी बढेको छ। महिलाहरुलाई नुन–तेल र लत्ता–कपडाका स–साना खर्चमात्र होइन बिहेवारीजस्ता ठूलै खर्चका लागि पनि अर्काको मुख ताक्ने बाध्यताबाट मुक्ति मिलेको छ। तर यो आन्दोलनको एउटा कमजोर पक्ष पनि छ, त्यो हो, वातावरण संरक्षणमा उचित ध्यान दिन नसक्नु।
राजेश घिमिरे
मकवानपुरका १७ गाविसका झन्डै ११ हजार चेलिबेटी सहकारिताका माध्यमबाट संगठित भएर तरकारी खेतीमा लागेका छन्। गाउँ–गाउँमा रासायनिक मल र विषादीका नयाँ–नयाँ दोकानहरू खुल्न थालेका छन्। अनि पर्याप्त सुरक्षाबिना नै महिलाहरू तरकारी बारीमा विषादी छरिरहेका भेटिन्छन्। उनीहरूलाई खाली हात–गोडा र मुखमा मास्क नलगाई विषादी छर्दा त्यसले आफ्नो स्वास्थ्यमात्र होइन, गर्भमा आउने शिशुलाई समेत असर गर्छ भन्ने कुरा बुझाउने प्रयास कसैले
गरेका छैनन्।
सबै महिला सहकारीहरूको छाता संगठनका रूपमा वैधानिक स्वरूप दिँदै गरिएको जिल्ला सहकारी समन्वय समिति, मकवानपुरकी अध्यक्ष भगवती पुडासैनी भन्छिन्, "हामी यसबारेमा सचेत त छौं तर आममहिला दिदीबहिनीलाई राम्ररी बुझाउन भने सकिराखेका छैनौं।"
रासायनिक मल र विषादीबाहेक विदेशी बीउका सिलबन्दी बट्टाहरू पनि चारैतिर फैलिएका छन्। तिनको असरले भोलि हाम्रा रैथाने बीउ कहाँ पुग्छन् त्यसबारेमा कसैले सोचेको छैन।
यी केही कमजोरीबाहेक सहकारी आन्दोलन मकवानपुरमा राम्ररी नै फस्टाएको छ। मकवानपुरका ४३ मध्ये १७ गाविसमा फैलिएका ७ सय ९ वटा समूहमार्फत संगठित छन् उनीहरू र उनीहरूको हातमा छ २ करोड ८४ लाख रुपैयाँ। उनीहरूको छाता संगठन हो, हेटौंडामा रहेको ग्रामीण महिला सेवा केन्द्र। यसैबाट उनीहरू सहकारितालाई अरु सशक्त बनाउन जिल्ला सहकारी समन्वय समितिको वैधानिक स्वरूप दिँदैछन्।
अध्यक्ष पुडासैनी भन्छिन्, "यसरी संगठित भएपछि हामीलाई आफ्नो अधिकारका लागि लड्न सजिलो भएको छ। महिलाविरुद्ध हुने
सबै खाले हिंसा र विभेदविरुद्ध हाम्रा दिदीबहिनीहरू सशक्त भएका छन्।" केन्द्रका महिलाहरूको भनाइमा प्लान नेपालको सहयोगमा उनीहरूले महिलाहरूमा कानुनी, सामाजिक र आर्थिक ज्ञानको प्रचार–प्रसार गरिरहेका छन्। त्यसै कारण आर्थिक रूपमा मात्र नभई सामाजिक र कानुनी रूपमा पनि महिलाहरू सशक्त भएका छन्। भगवती भन्छिन्, "हाम्रो यो सञ्जाल माकुरोको जालोझैं विस्तार भएको छ। महिलाविरुद्ध काम गर्ने जोकोही हाम्रो यो जालोमा परेपछि उम्कन सक्दैन। माकुराको जालोमा परेको सिकारलाई माकुरोले सिध्याएझैं हामी तिनलाई कानुनको कठघरामा पुर्याइछाड्छौं।"
उनीहरूसँग यसका प्रशस्त उदाहरणहरू पनि छन्। बलात्कार गर्ने गुन्जमान स्याङ्तान उनीहरूकै सक्रियतामा यतिबेला भीमफेदी कारागारमा १२ वर्षको कैद सजाय भोग्दैछ भने पीडित महिलालाई उसको आधा अंशमात्र दिलाइएको छैन उनको बिहेवारी पनि गराइएको छ। महिलालाई बोक्सीको आरोप लगाउनेलाई थलामै माफी माग्न लगाइएको छ। नागरिकता पाउन नसकेका ६ सय १९ जनालाई नागरिकता दिलाइएको छ। यस्ता अनेकन उदाहरणको लामो सूची छ, उनीहरूसँग।
यी उदाहरणलाई गौरवका रूपमा लिन्छन्, यो आन्दोलनमा लागेका हरेक महिला। महिला शक्ति बचत तथा ऋण सहकारी संस्था टिस्टुङकी प्रीतिमाया मोक्तान भन्छिन्, "पहिले हामी अँध्यारो कुनाका आँखा नदेख्ने मानिसझैं थियौं। नयाँ मान्छे आउँदा ढोका थुनेर लुक्थ्यौं। श्रीमान् खोई भन्यो भने थरथर कामेर बस्थ्यौं। अहिले बोल्न सक्नेमात्र होइन अधिकारका लागि लड्न सक्ने भएका छौं। ज्योति चम्किएझैं भएका छौं, हामी।"
आफ्नो जीवनमा आएको परिवर्तनका बारेमा प्रीतिमाया भन्छिन्, "पहिले नुन–तेल पनि खान पुग्थेन। बच्चा पढाउनुपर्छ भन्ने थाहा थिएन। बिरामी पर्दा झाँक्री बोलाउन कुदिहाल्ने। अस्पताल जानै परे ५ सय पनि साहुसँग माग्न जानुपर्ने। त्यो ५ सय पाउन पनि पाँचपटक धाउनुपर्ने, नमस्कार गर्नुपर्ने। पाएपछि पाँचैपटक सित्तैमा साहुकोमा खेताला जानुपर्ने, साहै्र गाह्रो थियो जीवन। अहिले कुनै साहुलाई नमस्कार गरेर चाकडी गर्नुपर्दैन। उल्टै साहुले नमस्कार गर्छन् हामीलाई।"
कुलेखानीको इन्द्र सरोवरमा आफ्नो जग्गा डुबेपछि मार्खुका महिलाहरूले पाउनु दुःख पाए। नगदका रूपमा आएको क्षतिपूर्ति पुरुषका हातमा पर्यो र त्यो रकम कसैले जुवामा उडाए, कसैले जाँड–रक्सीमा र कतिको रकम लत्ताकपडा हाल्दैमा सकियो। यहाँका मानिसहरूको अवस्था पहिलेभन्दा धेरै नाजुक भयो। तर अहिले उनीहरू सामुदायिक रूपमा इन्द्रसरोवरमा माछापालन
गरिरहेका छन्, त्यसैको आम्दानीले घरखर्चको केही जोहो भएको छ।
पहिले उनीहरूको जग्गा खाने कुलेखानीले अहिले निःशुल्क माछाका केजहरू राख्न दिएको छ यहाँका महिलाहरूलाई। अनि केजको व्यवस्था गरिदिएको छ प्लान नेपालले। त्यसैले कुलेखानीमा महिला सहकारीअन्तर्गत ४५ वटा माछापालन गर्ने "केज" राखिएका छन्। तीमध्ये १७ वटा "केज" माछा उत्पादनका लागि हो भने बाँकी २८ वटा "केज" माछाका भुरा उत्पादन गर्ने कामका लागि नर्सरीका रूपमा प्रयोग हुन्छ। यहाँ माछापालन गर्दा पनि उनीहरूलाई विषादीको सन्तापले छाडेको छैन। श्री गणेश माछा समूह मार्खु कुलेखानीकी चन्द्रमाया थापा मगर भन्छिन्, "खोलाको शिरतिर विष हालेर माछा मारिदिन्छन्। त्यो विष बगेर सरोवरमा आउँछ र केजमा राखिएका हाम्रा माछा पनि मर्छन्।"
चन्द्रमाया भन्छिन्, "त्यहाँका मान्छेलाई माछा मार्न विष प्रयोग खतरनाक हो भनेर सम्झाउन सके उनीहरूलाई पनि फाइदै हुन्थ्यो हामीलाई पनि राम्रै हुन्थ्यो।"
सहकारी आन्दोलन र माछापालनका कारण यहाँका महिलाहरूको व्यस्तता बढेको छ।
अहिले माछापालन गरेर सहकारी आन्दोलनमा लागेकी सत्येश्वर माछा समूह मार्खुकी श्रीमती कान्छीमाया गोले ठट्टा गर्दै भन्छिन्, "सोझै भन्ने हो भने अहिले चलन नै उल्टो आएको छ। बूढाहरू घरमा बस्ने र घरको काम गर्ने अनि बूढीहरूचाहिँ मिटिङमा व्यस्त हुने।"
मार्खुमा महिलाहरूको आम्दानीको मूलस्रोत माछापालन हो भने अन्यत्र तरकारी खेती।
तरकारी खेतीकै कारण टिस्टुङको सहकारीमा दैनिक ५० हजार रुपैयाँभन्दा बढीको कारोबार हुन्छ। टिस्टुङकी रुक्मिणी सिकारी भन्छिन्, "मेरो पाँच रोपनी जग्गामा मैले १८ हजार रुपैयाँ लगानी गरेर पोहर हिउँदमा मात्र ५७ हजारको तरकारी बेचेँ, यसपाला ५० हजारजतिको बिक्री हुन्छ भन्ने आशा छ।"
तरकारीकै कारण काठमाडौंको कालिमाटी तरकारी बजारबाट ३५ किलोमिटरमात्र टाढा पर्ने फाखेलका बासिन्दाको जीवनमा आमूल परिवर्तन आएको छ।
यसअघिसम्म पाखोबारीमा अन्न उत्पादन नहुँदा भोकमरीको स्थिति हुन्थ्यो, त्यहाँ। तरकारी खेती सुरु भएको २ वर्षमा नै फाखेल गाविसका खरका छाना जस्ताका छानाले विस्थापित गरिसकेका छन्।
महिलामात्र होइन, यी सहकारीबाट पुरुषहरूले पनि उत्तिकै फाइदा पाएका छन्। सहकारीको सहयोगमा तरकारी खेती गरिरहेका फाखेल खड्गु दोभानका धनराज महर्जन भन्छन्, "पहिले दसैं आउन थालेपछि ज्याला मजदुरीको काम पाइन्छ कि भनेर काठमाडौंतिर धाउनुपर्थ्यो। अहिले खान–लाउन र केटाकेटी पढाउन पुगेको छ तरकारीले।"
यो क्षेत्रमा तरकारीको उत्पादन बढ्न थालेपछि काठमाडौं छिर्ने वैकल्पिक बाटो कुलेखानी–फाखेल–दक्षिणकालीको बाटोमा पनि चहलपहल बढेको छ र त्यससँगै बाटोको अवस्था पनि सुधि्रएको छ।
तरकारी र माछालगायतका आयआर्जनका कारण सुधि्रएको जीवनस्तरबाट सन्तुष्ट छन् महिलाहरू। तर, सहकारिता आन्दोलनलाई भने १७ गाविसभन्दा बाहिर लगेर मकवानपुरभरि फैलाउने र अरू गाविसका महिलालाई पनि सशक्तीकरणको यो अभियानमा सामेल गराउने इच्छा छ उनीहरूको। सेवाकेन्द्रकी राधा सिङ्तेन भन्छिन्, "अहिले हामी क्षमता अभिवृद्धिको क्रममा छौं, हाम्रा केही संस्था सशक्त छन् भने केही अझै कमजोर। हामी सबैलाई आर्थिक, सामाजिक रूपले दिगो बनाएपछि अन्य गाविसमा जाने लक्ष्य लिएका छौं। अहिले अरू गाविसका दिदीबहिनीबाट यसका लागि अनुरोध आएको छ। दुई गाविसमा त हामीले प्रारम्भिक काम सुरु गरिसकेका छौं।"
सेवा केन्द्रकी अध्यक्ष भगवती भन्छिन्, "वास्तवमा महिलालाई मात्र ध्यान दिएर कार्यक्रम गर्ने हो भने असफलता हात लाग्छ। हामीले त समुदायलाई नै ध्यान दिएर काम गर्नुपर्दो रहेछ। र, महिला सशक्तीकरणको अभियान घरैदेखि सुरु गर्नुपर्ने रहेछ, बालबालिकालाई नै यसको शिक्षा दिनुपर्ने रहेछ, समानताको शिक्षा। पुरुषको सहयोगबिना यो सम्भव छैन।"
महिला जागृत सहकारी भीमफेदीकी पार्वती राना पनि यसमा सहमत छन्। उनी भन्छिन्, "श्रीमान्को सहयोग नभएको भए आज म यहाँसम्म आइपुग्ने नै थिइनँ।"
पार्वतीका श्रीमान् मनोज भन्छन्, "पुरुषले त पहिलेदेखि नै काम गर्दै आएका थिए, अहिले महिलाले पनि काम थालेका छन्, समाज परिवर्तनमा यसले नयाँ आयाम थपिएको छ।" सशक्तीकरणको स्थितिबारे मनोज भन्छन्, "चुनाव नभएरमात्र हो, भयो भने टोल–टोल र वडा–वडाबाट महिला नेताहरू चुनिएर आउनेछन्।"
तर मुलुकमा चलेको सशस्त्र द्वन्द्वको असरबाट भने यो आन्दोलन पनि अछुतो छैन। सेवा केन्द्रकी अध्यक्ष भगवती भन्छिन्, "केही गाविसमा समस्या छ।तर सहकारिताका बारेमा माओवादीलाई पनि बुझाउन सकियो भने सहकारिताको यो आन्दोलन अझै बढ्ने र फैलनेछ।"
सुकमायाको विश्वास
मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा महिला बचत तथा ऋण सहकारी संस्थाको आँगनमा उभिएकी छन्, सुकमाया प्रजा। अनुहारमा थिए, कठिन जीवनका संर्घषका छाप, च्यातिएको लुगाबाट च्याइरहेको थियो गरिबी तर आँखामा चमक थियो, अब केही हुन्छ भन्ने विश्वासको।
आफ्नो लेकाली गाउँ सुकबस्तीबाट चार घन्टा पैदल हिँडेर आएकी हुन् उनी, पोल्टामा ५० रुपैयाँको मैलो नोट बोकेर। महिलाहरूले खोलेको सहकारीमा हरेक साता ५० देखि एक सय रुपैयाँ जम्मा गर्न आइपुग्छिन् उनी। कथम्कदाचित् कार्यालय बन्द भए, सहकारीका पदाधिकारीकै घरमा पुग्छिन् उनी, "नानी अफिस किन बन्द। मेरो पैसो जम्मा गरिदिनु पर्यो, घर लगे खर्च भइहाल्छ" भन्दै। त्यसपछि फेरि चार घन्टा हिँडेर घर फर्कनु त छँदैछ।
यस्तै अनेकौं ५० र एक सय रुपैयाँका अनेकन् नोटहरूबाट चम्केका हुन् उनका आँखा, केही हुन्छ र केही गर्छु भन्ने विश्वासका साथ।
सुकमायाजस्ता मकवानपुरका ११ हजार नारीका आँखामा त्यही चमक छ, आफैं केही गर्छु र केही हुन्छ भन्ने विश्वासको चमक।
कार्तिक २०६२ हाकाहाकी
बुद्धहरू पनि चुप बस्दैन
सामुदायिक वन जीविकाको आधार हो आमनेपालीको। आफ्नै परिश्रमले तयार गरेको आधार। त्यसैका माध्यमबाट नेपालीले आफ्नो कठोर जीवनमा धेरै सुविधाका साधन जोडेका थिए, सामुदायिक रूपमा। त्यसैको आयले कतिले कुलो खने, कतिले बाटो अनि कतिले ओखतीमुलोको उपाय जोडे। धेरैले शिक्षाको ज्योति बाल्न विद्यालयहरूमा शिक्षक जोडे, पाठ्यपुस्तक ल्याए। तर आज दुईतिरबाट पड्केका बन्दुकका गोली र बमका धूवाँमा रुमलिएको छ, मुलुकभरको सामुदायिक वन।
बन्दुक बोकेकाहरूको बढी नै चलखेल भएको छ सामुदायिक वनमा यतिबेला। अनि तिनको दोहोरो भिडन्तमा परिने त्रासले आमनेपाली सामुदायिक वनमा पस्नै सकेका छैनन्। ४२ जिल्लाका सामुदायिक वनमा यतिबेला रुखबिरुवाको सट्टा सुरक्षापोस्ट र ब्यारेकहरू उमि्रएका छन्। अनि त्यहीँ उमि्रका माओवादीका अनगिन्ति सेल्टरहरूको आँकडा राख्न त असम्भव नै भइसकेको छ। यिनै कारण वन, बिरुवा र वन्यजन्तुको भन्दा बन्दुकको आश्रयस्थल बढी भएको छ। तैपनि नेपालीले हरेस खाएका छैनन्, वन जोगाएको जोगाए छन्।
वन जोगाउनमा बन्दुकमात्र होइन, माओवादीका चन्दा र अघोषित "कर" को अड्चन पनि त्यत्तिकै छ। स्याउला बेचे पनि चन्दा, दाउरा बेचे पनि, राम्रा काठ बेच्दा त चालीस प्रतिशतसम्म माओवादी "कर"। यो मामिलामा सरकार पनि पछाडि छैन। अनेकन बाहनामा सरकारले पनि कतिपय सामुदायिक वनका खाता नै रोक्का गरिदिएको छ। त्यसमाथि अर्को अड्को थपेको छ सरकारले। अझ गत साउन १० गते जिल्ला वन समन्वय समिति गठन र सञ्चालन गर्ने निर्देशिकाका नाममा। वन तथा भूसंरक्षण मन्त्रालयले ल्याएको यो जिल्ला वन समन्वय समितिमा जिल्लाका प्रशासनिक निकायदेखि स्थानीय संघ–संस्थाका प्रतिनिधिहरू रहने व्यवस्था सामुदायिक वनको पूर्णप्रजातान्त्रिक व्यवस्थालाई बिथोल्ने दुष्प्रयास हो।
तैपनि हरेस खाएका छैनन् नेपालीले, वन जोगाएको जोगाएकै छन्। तर कतिन्जेल चुप बस्लान् उनीहरू। हरेक दिनको गर्जो टार्न घाँसपात गर्ने वनै छिर्न नसके पनि चुप बस्लान् त बुद्धहरू। रगत–पसिनाबाट जोगाएका वन धमाधम काटिँदा पनि मौन होलान् त उनीहरू। रगत–पसिनाको कमाइनै खोसिँदा पनि हातमा दही जमाएर बस्लान् त उनीहरू। पक्कै बस्दैनन्, किनकि उनीहरू अति सहन तयार देखिन्छन् अतिसार होइन। त्यसैले त उनीहरू दबाव दिइरहेका छन् आफ्नो केन्द्रीय नेतृत्वलाई "केही गर्न" का लागि। त्यही दबावको परिणाम हो सामुदायी वन उपभोक्ता महासंघ, आन्दोलन घोषणा गर्न बाध्य भएको। सरकार र माओवादी दुवैका विरुद्ध। तर यो आन्दोलन अरू राजीतिक तवरका आन्दोलनभन्दा फरक हुन्छन् किनकि मुलुकभरका झन्डै १२ हजार सामुदायी वन उपभोक्ता समितिमा आवद्ध १५ लाख ७४ हजार ८ सय २९ घरका ८५ लाख ४ हजार ७७ बुद्धहरू जब आन्दोलन गर्छन् तब मुलुकमा कायाकल्प हुन्छ। बुद्धहरू विचारको आन्दोलन गर्छन्, शान्तिको आन्दोलन गर्छन्। बन्दुकको होइन, अधिकारको आन्दोलन गर्छन् बारुदको होइन तर विचार बन्दुकहरूभन्दा बलियो भएर अगाडि आउँछ। शान्तिपूर्ण आन्दोलनमा समय त लाग्ला तर त्यो बन्दुकको परिवर्तनभन्दा दिगो हुन्छ र त्यही दिगो परिवर्तनमा लागेकाहरूलाई शुभकामना।
राजेश घिमिरे
कार्तिक २०६२ हाकाहाकी
प्रश्न गरौं
प्रश्न नै नगरेकाले हामी सदियौंसम्म ठालुहरूको दासत्वमा बस्यौं, प्रश्न नै नउठाइएकाले अधिकारविहीन भएर नर्कतुल्य जीवन जीउन बाध्य भयौं। के हामी अझै त्यो दासत्वबाट मुक्त भएका छैनौं वा फेरि बन्दुकहरूका अगाडि आफूले आफैंलाई फेरि दास बनाइसकेका छौं। नत्र किन उठाउँदैनौ हामी प्रश्न? आफ्नै जीविकाको विषयमा, जीवनमरणको सवालमा अनि भावी पुस्ताको भविष्यको चासोमा पनि किन बोल्दैनौं हामी।
प्रश्न गरौं, किनकि प्रश्न नगरेकै कारण आज द्वन्द्वकानाममा द्वन्द्वरत पक्षहरू र तिनका नाममा मोज गर्न पल्केकाहरू लुटेरा बनेर हाम्रो जीवनको महत्त्वपूर्ण आधार–"प्रकृति" हामीबाट खोस्ने प्रयासमा छन्।
प्रकृतिको अस्मिता लुटेराहरूसँग हामीले प्रश्न गरेनौं भने तिनीहरूले हाम्रो जीविकामात्र खोस्ने छैनन् तिनले त हाम्रा आगामी कयौं पुस्ताको भविष्य पनि लुट्ने छन्। द्वन्द्वकानाममा प्रकृतिको चरम शोषणमा रमाएकाहरूसँग प्रश्न नै नगर्ने हो, हाम्रा भागमा नांगा पहाड, उजाड तराई र हिउँविहीन हिमाल पर्ने छन्। हो, अहिले द्वन्द्वकानाममा जुन हिसाबले जंगल नासिएको छ, जसरी खुलेआम वन्यजन्तुको शिकार गरिएको छ, जसरी जडीबुटी लुट मच्याएको छ, त्यसले केही वर्षमा नै हाम्रा तराई, पहाड र हिमाललाई नष्ट गर्ने बाटोमा लगिरहेको छ। के हामी आफ्ना सन्तानलाई मरुभूमि बनेको तराई विरासतमा दिएर जान तयार छौं? के भावी सन्ततिलाई विक्षिप्त पहाड, नाँगिएका जंगल, सुकेका खोला, कुरूप हिमालहरू अनि धाँजा फाटेका खेतहरू उपहारका रूपमा छोडेर जान तयार छौं?
छैनौं भने आजै प्रश्न गरौं द्वन्द्वरत पक्षहरुसँग, हाम्रो र भावी पुस्ताको अमूल्य धरोहर प्रकृतिमाथि खेलवाड गर्ने अधिकार उनीहरूलाई कसले दियो? त्यसो त, उनीहरू हाम्रै नाममा राजनीति गर्छु भन्छन्, हाम्रै नाममा शासन चलाउँछु भन्छन्, तैपनि हाम्रै जीविकाको आधार प्रकृतिलाई नष्ट गर्न उद्यत छन्। कारण एउटै छ, उनीहरूका कानमा ती कदमका बारेमा कसैले "प्रश्नचिह्न" घुसाइदिएका छैनन्। केवल प्रशंसा सुन्ने बानी परेका ती कानमा प्रश्नचिह्नहरू घुसाउँदा उनीहरू चिढ्चिढाउने छन्, रिसाउने छन् अनि हामीविरुद्ध उर्लने छन्। एउटा–दुइटा नागरिकको प्रश्नले उनीहरूबाट यस्तै अपेक्षा गर्न सकिन्छ। हामीविरुद्ध भौतिक, सामाजिक, मानसिक अनेकन कारबाही पनि हुन सक्छ। यदि हामीले आफ्नो अधिकार नबुझेकाहरूलाई बुझाउन सक्यौं भने, अधिकार बुझेर पनि सुतेकाहरूलाई उठाउन सक्यौं भने, अत्तालिएर पलायन हुनेहरूलाई रोकेर अधिकारको लडाइँमा जुटाउन सक्यौं भने र सबैलाई प्रश्न सोध्ने साहस दिन सक्यौं भने मात्रै उनीहरू जवाफ दिन्न बाध्य हुनेछन्।
प्राकृतिक सम्पदासम्मको पहुँच हाम्रो हक हो, प्रश्न हाम्रो तागत अनि प्रश्न नै अधिकार प्राप्तिको बाटोको दरिलो खुड्किलो पनि हो। हामीले प्रश्न उठाएमात्रै पनि द्वन्द्वरत पक्ष र तिनका नाममा लुट मचाउने तस्करहरू प्रकृतिको जथाभावी शोषणबाट पछाडि हट्न बाध्य हुने छन्। अनि मात्र हाम्रो भविष्य सुरक्षित हुन्छ र सुरक्षित हुन्छ हाम्रो नेपाल। त्यसैले प्रश्न गरौंै, हरेक गलत कामका विरुद्ध।
राजेश घिमिरेभदौ २०६२ हाकाहाकी
विषविहीन खेती
हो, सरकारले त्यसपछि किसानलाई विष बाड्यो, लिन्न–लिन्न भन्नेलाई जबरजस्ती भिडायो। कतिसम्म भने यति परिमाणमा विष बाड्नै पर्छ भन्ने आदेश पनि सरकारले कृषि अधिकारीहरूलाई दियो। ती अधिकारीहरुरू जागिर जोगाउनै भए पनि किसानलाई लोभलालच दिएर विष प्रयोग गर्ने बनाइछाडे। आफूलाई जिम्मा दिएको पूरै बाँड्न नसक्दा खोलामा फाल्यौं भन्ने कर्मचारी पनि भेटिन्छन् आजै पनि।
त्यस गाउँका नाइके किसानलाई विषको क्षणिक लाभको बानी पर्यो र एककान दुईकान गर्दै आज मुलुकका खेतीखलियान सबै विषालु बनाइयो। विषबिना खेतीको कल्पना गर्नै नसक्ने अवस्थामा पुर्याइयो किसानलाई। यसको अर्को परिणाम पनि भयानक नै छ। किसानले पहिले एकथरी विषले मारेका कीरा पुराना विष पचाउन सक्ने भइसके, तिनका लागि अझ कडा विष खोज्ने बेला आयो।
विषको यो खेलमा कमाउने केवल नाफाखोर व्यापारीमात्र हुन्छन् गुमाउने किसान। पैसा त गयो गयो, आफ्नै ज्यान नै पो जाला भन्ने डर छ किसानका लागि। खेतखलियान त विषले बिग्रे–बिग्रे, त्यससँगैका खोलानाला, पोखरी र हावा सबै विषालु बन्यो र त्यसैको असरले हामी पनि हरेक गाँस हरेक सास विष खान बाध्य भयौं। हो, कीराको ईखले अन्न तरकारीमा विष हाल्नुको परिणति त बल्ल पो भोग्दैछौं हामी।
विष हाल्ने तरिका न उनीहरूले सिकाए न त हामी आफैंले सिक्ने जमर्को गर्यौं। तरिका नजान्दा कीरा मार्ने विष आफ्नै ज्यान जोखिममा परेको अनेकन उदाहरण पाइन्छन्, हाम्रा गाउँदेखि शहरसम्म। तिनमा पनि विषको बाहिरी असर नै बढी ध्यान गएको छ। हामीले अन्न बाली तरकारीमा हाल्ने विषले हामी अर्थात् यो पुस्तालाई मात्र भित्रैदेखि गालेको छैन, आगामी पुस्ताले समेत गर्भैदेखि विषको बोझ बोकेर जन्मनुपर्ने बाध्यता पनि सिर्जना गरिसकेको छ।
विष किन्दा दाम त गयो नै ओखतीमूलो गर्दा पनि गुम्यो दाम, ज्यानको सास्ती, पैसाको खती। त्यस्तो विष हालेको अन्न तरकारी खानेको पनि त जोखिमै छ ज्यान। तै पनि किन हाल्दैछौं आफैं विष? किसान त विषका अम्मली भएकाले अन्न तरकारीमा विष हाले हाले, उपभोक्ता पनि विषबिनाको तरकारी किन्न राजी देखिँदैनन्। उनीहरू अनुहार राम्रो खोज्छन्, चम्किलो खोज्छन्, तर बुझ्दैनन्, "हरेक चम्कने चिज सुन हुँदैन"। तरकारीमा देखिने चमक त विषको करामत हो। हेर्दा राम्रो त हुन्छ तर त्यसले विस्तारै हामीलाई भित्रैदेखि गाल्छ। कहिले बुझ्ने उपभोक्ताले, कहिले बुझ्ने किसानले अनि कहिले बुझाउने सरकारले विषका यी डरलाग्दा असरबारे। अब त साँच्चै नै ढिलो भइसक्यो।
विषबिना खेती गर्नै सकिन्न त? कुनै उपाय नै छैन त? उपाय नभएका होइनन्, छन्, थुप्रै छन्, दाम खर्च नहुने घरेलु उपाय पनि छन्। आवश्यकता त केवल प्रतिबद्धताको छ, अलिकति बढी मेहनतको। लौ आफ्नै ज्यान बचाउन भए पनि लागौं विषविहीन खेतीतिर, उपभोक्ता पनि आफ्नै स्वास्थ्यका खातिर भए पनि विष र रासायनिक मलबिनाको अन्न र तरकारीको प्रवर्द्धनमा लाग्ने बेला आइसकेको छ।विष हालेका तरकारी र अन्न नकिनौं, नखाऔं यो नै सर्वोत्तम उपाय हो मुलुकलाई विषालु बनाउनबाट जोगाउने।
राजेश घिमिरे
साउन २०६२ हाकाहाकी
Monday, August 11, 2008
पहिलो अधिकार
राजेश घिमिरे
बाराको भोडाह गाविसको मुसहर बस्तीमा फाइल र दर्ता किताबका ढड्डी बोकेर घरघर चाहरिरहेको अवस्थामा भेटिन्छन्, सियाराम यादव। उनी कसैलाई जन्मदर्ताको महत्त्व सम्झाइरहेका हुन्छन् त कसैको दर्ता प्रक्रियाको फारम भरिरहेका भेटिन्छन्। यो काम गाविस सचिवको हो। तर, सशस्त्र द्वन्द्वसँगै गाउँबाट लोप भए उनीहरू, त्यसैले जन्मदर्ताको जिम्मेवारी पाएका छन्, सियारामले। उनी प्लान नेपालले मुलुकका ६ जिल्लामा थालेको जन्मदर्ता अभियानका एक हिस्सा हुन्। "कहिले जन्मेकी यो छोरी" सियाराम घरमूलीलाई सोध्छन् अनि जवाफ, पाउँछन्, "गढीमाईको मेला सकिएको हप्ता।"
यस्तो जवाफ सुन्नमा अभ्यस्त छन् उनी। "ठूलो बाढी आएको दिन", "भैंसी किनको भोलिपल्ट", "यसको बाबु इन्डिया गएको अघिल्लो दिन", "मान्छे हेरेर लेखिदिनु न" यस्तै यस्तै जवाफहरूबाट पनि जन्मदिन पत्ता लगाउन सिपालु भइसकेका छन्, सियाराम।
जन्ममिति र बालबालिकाको परिचयको अधिकारप्रति हेलचेत्र्कयाइँको अवस्थाजस्तै छ। तर, सबै ग्रामीण बस्तीहरू त्यति भाग्यमानी छैनन् किनकि तिनमा सियारामहरू छैनन् न त त्यहाँ सियारामहरूले फैलाएको चेतना नै छ। सियारामहरू सशस्त्र द्वन्द्वकादुवै पक्षको बीचमा बसेर पनि बालबालिकाको पहिलो अधिकार प्रत्याभूत गर्नमा संघर्षरत् छन्।
यसैको परिणाम हो, खुमुवाका सुदन माझीजस्ता सबैले आफ्नो सन्तानको जन्मदर्ता गराइसकेका छन्। सुदन भन्छन्, "बालबच्चालाई पढाउन, लेखाउन सजिलो हुन्छ, सरकारी कागजात लिन पनि सजिलो हुन्छ भन्ने मैले बुझेँ। र, छोराछोरी दुवैको जम्मदर्ता गराएँ।"
प्लान नेपालकै सक्रियतामा बनेको बाल क्लबहरूले पनि सियारामजस्ता स्वयंसेवीको कामलाई सघाएकाले जन्मदर्ता गर्ने अभियान सफलतातिर अग्रसर छ। आज्ञाकारी बाल क्लब भोडहा, बाराका अध्यक्ष छोटेलाल चौधरी भन्छन्, "हामीले हाम्रा अभिभावकहरूलाई जन्मदर्ताको प्रमाणपत्र जीवनको पहिचानको टिकट हो भन्ने बुझाएका छौं। त्यसैको परिणामस्वरूप गतवर्ष हामीले ६ सयजतिको जन्मदर्ता गरायौं, यस वर्ष ५ सय जनाको गराइसकेका छौं। अझै केही छुटेका छन् उनीहरूका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्दैछौं।"
आज्ञाकारी क्लबकै मनोहरकिशोर साह भन्छन्, "हामीले अभिभावकहरूलाई जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएमा पैसा लाग्दैन भन्ने बुझाउन खोजेका छौं। चेतनाको स्तर कम भएकाले कहाँ गएर कसरी दर्ता गर्ने भन्ने थाहा छैन, त्यहाँका मानिसहरूलाई। हामीले त गाविस सचिवको घरमै गएर पनि दर्ता गरायौं। सचिवलाई पनि पहिलाभन्दा निकै नरम बनाइसकेका छौं।"
जम्मदर्ता शैक्षिक संस्थाको भर्नासँग पनि जोडिएको छ। यसको अभावमा स्कुलहरूल भर्ना गर्न मान्दैनन्। श्रीतपी माध्यमिक विद्यालय मोड्हा बाराका प्रधानाध्यापक वैद्यनाथ पासवान भन्छन्, "बच्चा भर्ना गर्न आउँदा जन्मदर्ता लिएर आऊँ भन्छौं, छ भने त्यसैमा उल्लेखित नाम र जन्ममितिका आधारमा भर्ना गरिन्छ। छैन, भने गरेर आऊ भन्छौं। जन्मदर्ता नल्याइन्जेल हामी उसलाई कक्षामा बसेर पढ्न त दिन्छौं तर उसको औपचारिक भर्ना भने हुँदैन।"
स्थानीय बासिन्दाहरूमात्र होइन, जन्मदर्ताको महत्त्वबारेमा गाविस सचिवहरू पनि अनभिज्ञ छन्। जन्मदर्ता अभियानमा लागेका हिम राइटका अधिवक्ता श्रीकृष्ण सुवेदी भन्छन्, "कतिपय सचिवलाई त जन्मदर्ता गराउन नागरिकता चाहिँदैन भन्ने नै थाहा छैन भने कतिपयले यसैलाई खाने भाँडो पनि बनाएका छन्।"
सुवेदी थप्छन्, "३५ दिने म्याद नाघेर आएकालाई ५० रुपैयाँसम्म शुल्क लाग्नेमा ५०० रुपैयाँसम्म लिएको पाइएको छ। तर बाराका ९८ गाविसमा जन्मदर्ताबापत ९ रुपैयाँभन्दा बढी सचिवहरूलाई बुझाएको पाइएको छैन।"
बालबालिकाको न्वारनसँगै जन्मदर्ता गराउने परिपाटी बसाउन प्लान नेपाल कार्यरत छ। प्लान नेपाल रौटहट/बाराका कार्यक्रम प्रबन्धक कन्हैया पोखरेल भन्छन्, "हामीले यस विषयमा पुजारी र मौलानाहरूसँग पनि छलफल गर्यौं। जन्मनासाथ नामाकरण संस्कारसँगै गाविसमा गएर जन्मदर्ता गराए पैसा लाग्दैन भन्ने कुरा आ–आफ्नो धर्मका मानिसलाई बुझाउन उनीहरू राजी भएका छन्। यसले पनि जन्मदर्ताको लहर ल्याउँछ भन्ने विश्वास छ।
जन्म दर्ता के हो?
गाउँमा मात्र होइन, जन्मदर्ताको समस्या काठमाडौंजस्तो सहरमा पनि छ। राजधानीको असन वरपर बाटामा ३० वर्षदेखि तरकारी पसल गर्दै आएकी भगवती दुई छोरालाई नागरिकता दिलाउन नसकेकाले निकै मर्का परेकी छन्। उनको जेठो छोरा २५ र कान्छो २१ वर्षका भए। ३० वर्षअघि मलेखुका रामनारायणसँग काठमाडौंमा नै बिहे गरेकी भगवतीलाई श्रीमान्ले २० वर्षअघि छोडेका थिए। बिहेपछि भगवती श्रीमान्को मलेखुस्थित घरमा केहीपटक गए पनि काठमाडौंमै बसेर छोराहरू हुर्काइन्। छोराहरूको जन्मदर्ता गराउनुपर्छ भन्ने ज्ञान भगवतीमा थिएन। केही वर्षअघि श्रीमान्को मृत्यु भयो। विभिन्न कार्यालयको ढोकाहरू ढक्ढकाउँदा पनि अहिले उनका छोराहरूका बाबु प्रमाणित गर्न र उनीहरू नेपाली नागरिक हुन् भन्ने प्रमाणित गर्न भगवतीले सकेकी छैनन्।
त्यस्तै कुरा २०५१ सालतिरको हो। भर्खरै विवाह गरेकी मनमाया नयाँ श्रीमान्सहित गाउँबाट बेपत्ता भइन्। त्यतिबेला उनी मात्र १५ वर्षकी थिइन्। तीन वर्षपछि मनमायाका परिवार र साथीहरूले उनी भारतको वेश्यालयमा बेचिएकी र उनका श्रीमान् जेल परेको थाहा पाए। यस सम्बन्धमा कानुनी कारबाही अघि बढाउन खोज्दा पर्याप्त प्रमाणको अभावमा नेपाल प्रहरीले उजुरी नै लिन मानेन।
त्यतिबेलासम्म मनमायासँग नागरिकताको प्रमाणपत्र त थिएन नै, उनीसँग जन्मदर्ता गरिएको न कुनै प्रमाण थियो न विवाह दर्ता गरेको। यसैले उनी नेपालको नागरिक हो/होइन अनि उनको विवाह भएको थियो/थिएन कुनै आधिकारिक प्रमाण मनमायाले उपलब्ध गराउन सकिनन्। ठोस् प्रमाण जुटाउन नसकेकै कारण कानुनी कदम अगाडि बढाउन नसक्ने प्रशासनले बतायो। त्यतिमात्र होइन, जन्मदर्ताको अभावले कानुनी रूपमा उनको अस्तित्व छ वा छैन भन्ने प्रश्न खडा गर्यो।
नेपालमा जन्मेकी सुधामाको ६ वर्षको उमेरमा भारतीय नागरिकसँग विवाह भयो। सुधामा १२ वर्षकी हुँदा श्रीमान्ले सम्बन्ध विच्छेद गरे। अहिले उनी आमाबाबुसँग बस्छिन्। तर सुधामाको जन्मदर्ता भएको छैन। जन्मदर्ता नभएकै करण न उनी विद्यालय जान सक्छिन् न त कुनै सीपमूलक तालिममा सहभागी हुन नै। जन्मदर्ता प्रमाणपत्र नभएकाले सुधामाले आफू नेपाली नागरिक भएको दाबी गर्न सक्ने बलियो कानुनी आधार छैन। अहिले सुधामाको उमेर र राष्ट्रियता प्रमाणित गर्ने कुनै प्रमाणपत्र नहुँदा बालविवाह गर्न दबाव दिने अभियुक्तलाई सजाय दिलाउनसमेत अप्ठ्यारो परेको छ।
जन्मदर्ता प्रमाणपत्र मानिसलाई राष्ट्रियता, शिक्षा र स्वास्थ्य सेवाजस्ता अधिकार दिलाउने साधन वा कानुनी आधार हो। यस्ता अधिकारमाथि बालबालिकाको पहुँच नपुगेमा उनीहरूको बाल्यकालमात्र होइन, सम्पूर्ण जीवन नै अन्धकार बन्न पुग्छ। व्यक्तिको परिचय दिने अन्य अनौपचारिक उपायहरू नभएका होइनन्, जस्तोः खोपको कार्ड, जन्मकुण्डली आदिले पनि बच्चाको नाम र उमेर बताउन सकिन्छ तर जन्मदर्ता प्रमाणपत्रले मानिसलाई जन्मैदेखि कानुनी परिचयको अधिकार दिलाउन मद्दत गर्दछ त्यसैले यो अन्यभन्दा महत्त्वपूर्ण छ।
बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको दफा ७ अनुसार बालबालिका जन्मनासाथ जन्मदर्ता गर्नुपर्ने र उनीहरूलाई नाम/परिचय, राष्ट्रियता, बाबुआमाको स्नेह र पहिचानको अधिकार दिइनुपर्दछ। तर अहिलेसम्म पनि विश्वका एक तिहाईभन्दा बढी बालबालिका परिचयको भरपर्दो आधार जन्मदर्ता जस्तो आधारभूत अधिकारबाट वञ्चित छन्। बालबालिकालाई परिचयको अधिकार जन्मदर्ता प्रमाणपत्रले दिलाउँछ। हरेक वर्ष विश्वका बालबालिकाको जन्मदर्ता नहुने अनुमान गरिएको छ। दक्षिण र दक्षिण–पूर्वी राष्ट्रहरूमा १० मा ६ जना शिशुहरूको जन्मदर्ता नहुने एक अध्ययनले जनाएको छ। यसरी जन्मदर्ता नभएका बालबालिका प्रायः विकासोन्मुख राष्ट्रहरूमा रहे पनि यस विषयलाई विश्वव्यापी समस्याकै रूपमा हेरिएको छ। विश्वभरि नै यति ठूलो संख्यामा बालबालिका जन्मदर्ता जस्तो आधिकारिक परिचयबिना नै हुर्कनु गम्भीर विषय हो। जन्मदर्ता नहुनेहरू राष्ट्रले दिने सबै सुविधा र सुरक्षाबाट वञ्चित हुन्छन्।
विश्वव्यापी कार्यक्रम सञ्चालन गर्दै आएको प्लानका अनुसार आफू जन्मिएको देशमा नागरिकको हैसियतले दर्ता गरिएन भने त्यो राष्ट्रमा आफ्नो अस्तित्व नभएको ठहर्छ। यसको अर्थ जन्मदर्ता नगर्ने कुनै पनि आत्मसुरक्षा पाउन सक्दैन। उनी भन्छन्, दर्ता नगर्ने शिक्षाबाट वञ्चित हुन सक्छ र आफ्नै छोराछोरीका बाबुआमा हुँ भन्ने कुरा कानुनी रूपमा प्रमाण गर्न सकिदैन।"
जन्मदर्ता नगरिएका बालबालिका विभिन्न किसिमका सामाजिक विकृतिका शिकार हुन पुग्छन्। उनीहरू वेश्यावृत्ति, बालश्रम र आपराधिक समूहको चंगुलमा सजिलै फस्ने सम्भावना हुन्छ। उमेर प्रमाणित गर्न नसक्दा सानो उमेरकाले कुनै अपराध गरेमा ठूलो उमेरकाले अपराध गरेसरह नै मानिन्छ र त्यहीअनुसारको नियम–कानुन उनीहरूलाई पनि लागू हुन्छ। उदाहरणका लागि फिलिपिन्समा १८ वर्षमुनिका दुई अपराधीको उमेर प्रमाणित हुन नसक्दा मृत्युदण्ड दिइएको थियो।
जन्मदर्ता प्रमाणपत्रबिना हुर्केका बालबालिकाले जीवनमा निकै चुनौतीहरूको सामना गर्नुपर्छ। उनीहरूले चाहेको काम पाउन, ऋण सुविधा तथा पुर्खौली सम्पत्ति प्राप्त गर्न र अन्य सामाजिक सेवाहरू उपभोग गर्न पाउँदैनन्। अझ ठूलो कुरा त उनीहरू मताधिकारबाट समेत वञ्चित हुन पुग्छन्।
जन्मदर्ताको महत्त्व एउटा बच्चामा मात्र सीमित छैन। यो नागरिक दर्ता प्रमाणको पनि एक महत्त्वपूर्ण अंग हो जसको मद्दतले देशको जनताको जन्म, मृत्यु, बालमृत्यु जस्ता जानकारीहरू प्राप्त गर्न सकिन्छ। जन्मदर्ताले देशमा विद्यमान भौगोलिक, सामाजिक, आर्थिक र लैंगिक विभेदहरू पत्ता लगाई देशको आर्थिक र सामाजिक विकासको योजना तर्जुमा गर्न मद्दत गर्दछ। यसले देशको मूल्यांकन र रिपोर्ट गर्ने क्षमता वृद्धि गरी देशमा विद्यमान सामाजिक र आर्थिक विकासको नीति नियम परिवर्तन गर्न प्रभाव पार्न सक्छ। जन्मदर्ताले देशको जनसंख्याको वास्तविक तस्वीर प्रस्तुत गरी विकासका योजनाहरू तर्जुमा गर्न सजिलो हुन्छ। यीबाहेक विश्वमा जन्मदर्ता दर बढेमा यसले अन्तर्राष्ट्रिय संघ–संस्थाहरूलाई ५ वर्षमुनिका बालबालिकाको मृत्युदर घटाउने सहस्राब्दी विकास लक्ष्यको प्रगति प्रतिवेदन तयार पार्न पनि सहयोग पुर्याउँछ।
अभिभावकहरू आफ्ना बालबच्चाको जन्मदर्ता किन गराउँदैनन त? गरिब राष्ट्रहरूमा स्रोतको अभावमात्र होइन यससम्बन्धी जिम्मेवारी निभाउने राजनीतिक प्रतिबद्धता पनि देखिँदैन। गरिबहरूका लागि जन्मदर्ता गर्न निकै महँगो खर्च लाग्ने हुँदा उनीहरू दर्ता गर्न सक्दैनन्। धेरैलाई जन्मदर्ताको महत्त्व र यसका प्रक्रियाबारे चेतना छैन। दुर्गम ठाउँहरूमा जन्मदर्ता गर्ने कार्यालय बस्तीभन्दा निकै टाढा हुनेहुँदा यात्रा गर्न कठिनाई भोग्नुपर्ने, समय र पैसा प्रशस्त खर्चिनुपर्दा उनीहरू निरुत्साहित हुन्छन्। कुनै देशमा जन्मदर्ता प्रक्रिया अस्पतालदेखि नै सुरु हुने हुँदा घरमा जन्मिएका बच्चाहरूको दर्ता हुने सम्भावना निकै कम हुन्छ।
नेपाल र भारतजस्तो देशको सन्दर्भमा जातीय विभेदको डर र साँस्कृतिक अन्तरले पनि जन्मदर्तामा कमी आउने सम्भावना देखिन्छ। त्यस्तै शिशुको बाँच्ने सम्भावना कम देखेर पनि जन्मनेबित्तिकै उसको जन्मदर्ता गराउँदा खर्च बेकार हुने मनोदसाले अभिभावकहरूले दर्ता गर्न अघि सर्दैनन्।
सरल, सहज र निःशुल्क जन्मदर्ता
युद्ध, प्राकृतिक प्रकोप, रोगव्याधी र अनिकालजस्ता समस्यासँग जुधिरहेका बेला बालबालिकाको जन्मदर्ताको मुद्दा प्राथमिकतामा पर्नुपर्ने मुद्दा जस्तो लाग्दैन। त्योभन्दा त बालबालिकालाई यथेष्ट पौष्टिक खाना दिने, राम्रो स्वास्थ्य उपचार, गुणस्तरी शिक्षा र उनीहरूलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्ने मुद्दा पो महत्त्वपूर्ण र अत्यावश्यक लाग्छन्।
हो, यी आवश्यकता पूरा गरिनुपर्छ। तर, ती सबैको आवश्यकताहरू पूर्तिको एकमात्र आधारशीला हो, कागजको एउटा सानो टुक्रामा लेखिएको नानीहरूको जन्मदर्ता प्रमाणपत्र। यसैका आधारमा स्वास्थ्य सुविधा र शिक्षामा उनीहरूको पहुँच सहज हुन्छ र यही नै सबै खालका शोषण र दुर्व्यवहारविरुद्ध बलियो हतियार बन्छ।
यो सानो कागजको टुक्राको अभावमा आफ्नो नाम, परिचय, उमेर, मातापिता र राष्ट्रियता प्रमाणित गर्न असम्भाव प्रायः हुन्छ। अनि त्यही सानो दस्तावेजको अभावमा शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सुविधाबाट पनि बालबालिका वञ्चित हुन सक्छन्।
नयाँ अनुसन्धानका आधारमा भन्ने हो भने अहिले विश्वका स्कुल जाने उमेरका १२ करोड बालबालिका जन्मदर्ता नभएकै कारण शिक्षाबाट वञ्चित गराइएका छन्। र, शिक्षा नपाउनुको अर्थ उनीहरू बालश्रम र बेचविखनको शिकार हुने सम्भावना बढ्नु हो। केही मुलुकमा त परिचय नभएका वा जन्मदर्ता नभएका बालबालिकालाई विभिन्न रोग प्रतिरोधका लागि दिइने खोपबाट समेत वञ्चित गराइएको पाइएको छ।
दर्ता नगराइएका वा अभिलेखमा नराखिएका बालबालिका हरेक किसिमको शोषणको सजिलो शिकार हुनसक्छन्। सियारा लियोनमा युद्ध लड्न सैनिकका रूपमा बालबालिका भर्ना गर्नेदेखि वेश्यावृत्तिका लागि उनीहरूलाई बेचविखन गर्नेसम्म, पश्चिम अफ्रिकाका कोकाका ठूला खेतहरूमा बालबालिकालाई काममा लगाउनेदेखि एड्सका कारण अनाथ भएकाहरूलाई आफ्नै पुस्तैनी सम्पत्तिको अधिकारबाट वञ्चित गर्नेसम्मका बालबालिकाविरुद्धका हरेक अपराध गर्नका लागि परिचयको अभावले सहयोग नै गरेको हुन्छ। जन्मदर्ताका अभावमा बालबालिका परिचयविहीन हुन्छन्। कानुनी रूपमा अस्तित्वविहीन हुन्छन् र त्यसैको फाइदा लिन्छन् बालबालिकाविरुद्ध अपराध गर्नेहरूले।
दक्षिण–पूर्वी एसियामा हालै आएको सुनामीका कारण धेरै मानिस घरबारविहीन मात्र भएनन्, त्यहाँ कार्यरत संस्थाका अनुसार जन्मदर्ता नभएका कारण धेरै बालबालिकाको परिचयको अभावमा उनीहरूका आफन्तसँग भेटाउन नै सकिएको छैन। अहिले हरेक हप्ता विश्वभरिका झन्डै १० लाख बालबालिकालाई उनीहरूको आधारभूत अधिकारको पासपोर्ट "जन्मदर्ता" बाट वञ्चित गराइन्छ। वर्षभरि विश्वका ४ करोड ८० लाखभन्दा बढी बालबालिका अर्थात् हरेक वर्ष जन्मने नानीहरूमध्ये ३६ प्रतिशतको जन्मदर्ता हुँदैन। तीमध्ये अधिकांश विकासोन्मुख मुलुकमा बस्छन् तर विकसित भनिएका मुलुकमा पनि २ प्रतिशत नवजात शिशुहरूको जन्मदर्ता हुँदैन।
संयुक्त राज्य अमेरिका र सोमालियाबाहेक विश्वका सबै १ सय ९२ देशले शिशुको जन्मसँगै परिचय र नाम दिनका लागि जन्मदर्ता गर्ने वाचासहित बाल अधिकारसम्बन्धी राष्ट्रसंघीय महासन्धिको अनुमोदन गरिसकेका छन्। विश्वका सरकारहरूको यही वचन कार्यान्वयन गर्न सबैका लागि जन्मदर्ता सहज, सरल र निःशुल्क हुनुपर्छ र यसैका लागि प्लानले अन्तर्राष्ट्रिय अभियान नै चलाएको छ।
जन्मदर्ताले बालबालिकाले पाउनुपर्ने आधारभूत अधिकारको बाटोमात्र खोल्दैन, उनीहरू वयस्क हुँदासम्म चाहिने अनेकन दस्तावेज र अधिकारको मार्गलाई समेत सहज बनाइदिन्छ। जन्मदर्ता सबैजसो मुलुकमा नागरिकता, पासपोर्ट, शिक्षा, रोजगार, मताधिकार, उम्मेदवारी, बैंकमा खाता खोल्न र विवाहका लागि समेत अत्यावश्यक दस्तावेज मानिन्छ। द्रुत गतिमा परिवर्तित विश्वमा मानिसहरूको आवागमन पनि छिटोछिटो भइरहेको छ र यो सन्दर्भमा आफ्नै मुलुकभित्र वा बाहिर हिंड्डुल गर्न परिचय प्रमाणपत्रको महत्त्व अझै बढेको छ। त्यससँगै राम्रो तथ्यांकको अभावमा स्वास्थ्य, शिक्षा, सुरक्षा, विकास र अन्य क्षेत्रको योजना र नीति निर्माण गर्न असम्भव हुने हुनाले पनि सरकार र अन्तर्राष्ट्रिय समुदायका लागि पनि सशक्त नागरिक दर्ता प्रणाली अत्यावश्यक छ।
राजेश घिमिरे
असार २०६२ हाकाहाकी
बढ्दो खतरा
चितवनमा गैंडाको संख्या घट्छ भन्ने कुरा गैंडा गणना सुरु हुनुअघि नै नेपालका सरकारी र गैरसकारी संरक्षण अधिकारीहरूको अनुमान थियो। सशस्त्र द्वन्द्वकाकारण सुरक्षाफौजका पोस्टहरू सीमित भइदिँदा चोर शिकारीहरूको हौसला बढ्नु स्वाभाविक हो र एन्टी पोचिङ युनिट सक्रिय हुँदाहुँदै पनि चोर शिकारीहरू निर्वाध रूपमा गैंडा मार्न सफल भए। यसैकारण संरक्षणकर्मीहरूले गैंडाको संख्या घट्छ भन्ने अनुमान गरेका हुन्। तर, शाही चितवन राष्ट्रिय निकुञ्जमा ५ वर्षअगाडि ६ सय १२ गैंडा रहेकामा ३ सय ७२ मा सीमित हुन्छ भन्ने चाहिँ उनीहरूले सोचेकासम्म थिएनन्।
यसमा जिम्मेवार तत्व धेरै छन्, पहिलो गैंडाको वृद्धि वा प्रजननदरमा नै ठूलो गिरावट आएको छ। सन् २००० मा ३.७ प्रतिशत वृद्धिदर भएकोमा ५ वर्षमा यो घटेर ०.९२ प्रतिशत पुग्यो। त्यससँगै अर्को कारण, वासस्थानको कमी पनि हो। अहिले चितवनमा मिचहा प्रवृत्तिका विदेशी वनस्पतिहरू एक्कासि बढिरहेका छन्। जसका कारण गैंडाको घुमफिरमात्र होइन, आहारमा समेत असर परिरहेको छ। स्वतन्त्र विहार गर्न आवश्यक फाँट र खुला चौरहरूमा जंगल बनिसकेका छन्। अर्थात् गैंडाका लागि चितवनमा जंगलको वातावरण प्रतिकूल बन्दैछ, कारण स्पष्ट छ। चितवनमा व्यवस्थापनको अभाव खट्किरहेको छ। असुरक्षाका नाममा अव्यवस्थापनले जरो गाडिसक्यो। यसले गैंडाको संख्या अझै कति कम गराउने हो त्यो त अनुसन्धानको विषय हो तर त्योभन्दा डरलाग्दो संकेत भने नेपालको दक्षिण र उत्तरी छिमेकी राष्ट्रबाट आएको छ।
यतिबेला भारतको राजस्थानका दुई बाघ संरक्षण क्षेत्र, सारिएका र रन्थम्मौर बाघविहीन बनेको खबर चीनका विभिन्न क्षेत्रमा बाघको उत्पादनबाट बनेका वस्तुहरूको फेसन बढेको खबरले नेपाल आत्तिनुपर्ने स्थिति आइसकेको छ। नेपाललाई बाटो बनाएर भारतबाट तिब्बततिर वन्यजन्तुको तस्करी गर्ने चोर शिकारी र तस्करहरू सशस्त्र द्वन्द्वकाकारण नेपाल बढ्दो असुरक्षाको फाइदा उठाउँदै नेपालतिर नलोभिएलान् भन्न सकिँदैन। समयमै वृद्धि नपुर्याउने हो भने विगतमा संरक्षणका क्षेत्रमा संसारभरि नाक ठडाएर हिंड्ने नेपालको नाक नकाटिएला भन्न सकिँदैन। आफ्नो इज्यत र भविष्यका पुस्ताको अमूल्य नासो "वन्यजन्तु" लाई जोगाउन अहिले नै सचेत हुनु राम्रो।
राजेश घिमिरे
वैशाख २०६२ हाकाहाकी
गम्भीरताको अभाव
आर्सेनिकयुक्त पानी खाएका कारण हत्केला र पाइतालामा गिर्खैगिर्खा आएर दुःख पाएका नवलपरासी गोइनीका शिवसागर यादवले गत वर्ष (२०६० साल) मंसिरमा काठमाडौंको पशुपतिनाथअगाडि वाग्मतीको एक अञ्जुली पानी हातमा लिएर गंगामातालाई आह्वान गरे, "हे माता, हाम्रो व्यथा दूर गरिदिनोस्।"
तर उनी र उनीजस्ता हजारौं नेपालीको त्यो पुकार न गंगामाताले नै सुनिन् न त आर्सेनिकबाट आमजनतालाई राहत दिनुपर्ने दायित्व भएका सत्तासीनहरूले न आर्सेनिकबाट मुक्ति दिने ठेक्का लिएका गैरसरकारी संस्थाहरूले नै।
"मैले जानेका र सुनेका सबै स्वास्थ्य संस्था र डाक्टरहरूलाई देखाएँ, उनीहरूका औषधिले केही पनि भएन। अब तपाईंहरू नै भनिदिनुहोस् यो कस्तो रोग हो र के गर्दा निको होला।"२०६० मंसिरको पहिलो साता नेपाल वातावरण पत्रकार समूहले सबैको ध्यानाकृष्ट गर्न काठमाडौंमा आयोजना गरेको "आर्सेनिक पीडितहरूको व्यथा" नामक सार्वजनिक सुनुवाइमा गोइनीका शिवसागर यादवले आफ्नो दुःख राजधानीका सत्तासीन र सुविधासम्पन्न वर्गलाई सुनाएका थिए।
आज पनि, पोहोर परार र त्योभन्दा अघिल्ला वर्षहरू जसरी स्थिति जहाँको त्यहीँ नै छ। "आर्सेनिकयुक्त पानी खान हुन्न"भन्ने सूचना आतंकबाहेक हाम्रो तराईमा न पानीको वैकल्पिक व्यवस्था छ न रोग उपचारको व्यवस्था, न पर्याप्त सूचनाको पहुँच। पर्याप्त ज्ञानको अभावमा आर्सेनिकबाट पीडितहरू स्थानीय चिकित्सक, अनुसन्धानकर्ता, गैरसरकारी संस्थालगायत थुप्रैबाट ठगिएका छन्, औषधि र अनुसन्धानका नाममा। र, जानिँदो–नजानिँदो हिसाबले सरकारसहित ती संघ–संस्थाबाट भएको वातावरणीय अन्यायको पीडा खेप्न बाध्य छन् उनीहरू।
हाम्रोे तराईका धेरै जिल्लामा ट्युबवेलको पानीबाट तोकिएको मात्रा भन्दा बढी आर्सेनिक मिसिएको भेटिएको छ। पानीमा आर्सेनिकको मात्रा १० पीपीबी (पार्टर्स पर विलियन) भन्दा बढी हुन नहुने विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डका आधारमा भन्ने हो भने नेपालमा लगभग ३ लाख मानिस आर्सेनिक समस्याबाट पीडित छन्। तीमध्ये ३० हजार नेपालीलाई मात्र आर्सेनिक हटाउन सक्ने खालका प्रविधि र उपाय दिइएको छ बाँकी कलधारामा लगाइएको "रातो क्रस" चिह्नलाई हेरेर त्यही कलको पानी पिउन विवश छन्। केही अपवाद संस्थाहरूले त्यसमा काम गरेका छन् तर तिनको संख्या नगण्य छ। आर्सेनिक समस्याको समाधानका लागि कति रकम उपलब्ध छ भन्ने यकिन तथ्यांक कतै छैन। तर यो समस्याको निराकरणका लागि भनेर लगानी गर्ने संस्थाको सूची हेर्ने हो भने आर्सेनिकयुक्त पानी पिउन बाध्य सबैलाई फिल्टर निःशुल्क बाँड्न सक्ने क्षमता भएका विश्व स्वास्थ्य संगठन, युनिसेफ, विश्व बैंक, हेल्भेटास, जापानी रेडक्रसलगायत छन्। तर यथार्थ चाहिँ भिन्न छ, आर्सेनिक प्रभावित क्षेत्रका मानिसहरूलाई कलधारामा लगाइएको रातो क्रस चिह्नबाहेक आर्सेनिकका बारेमा राम्रो जानकारी छैन। हालसालैमात्र नवलपरासीको रामपखुवामा गरिएको एक अध्ययनमा त्यहाँका ६ प्रतिशत मानिसलाई मात्र आर्सेनिकका बारेमा जानकारी भएको पाइयो। यसैगरी स्थानीय चिकित्सकमध्येमा १६ प्रतिशतलाई मात्र आर्सेनिक र आर्सेनिकजन्य रोगका बारेमा जानकारी छ।
यसको अर्थ हो, नेसनल आर्सेनिक स्टेरिङ कमिटी आफ्नो काममा असफल भएको छ। तथ्यांक संकलन र तिनको बारेमा राजधानीमा कोठे गोष्ठी गर्दैमा समस्या समाधानको बाटोमा पक्कै हिँडि्दैन। समाधानको एउटा उपाय वा अंग जनचेतना वृद्धि हो तर खै मानिसले त्यसका कारण, असर र उपचारका बारेमा थाहा पाउन सकेका?नेसनल आर्सेनिक स्टेरिङ कमिटीमार्फत दुई/चारवटा पोस्टर, पम्पलेट छाप्ने, रेडियो, भिडियो कार्यक्रम बनाउने काम नभएका भने होइनन् तर स्थानीय स्तरमा हेर्ने हो भने ती प्रभावकारी नभएका स्पष्ट देखिएको छ।
आर्सेनिकजन्य समस्या विकराल समस्या हेा भन्ने कुरामा दुइमत कतै छैन तर गम्भीरताको अभावमा आमतराईबासी नेपालीका लागि त्यो समस्याको खाडल दिन प्रतिदिन गहिरिँदै गएको छ। तिनलाई यो समस्याबाट मुक्ति दिनका लागि नेपालभित्रै पनि गम्भीर चिन्तनको आवश्यकता छ, रणनीतिहरूको पुनर्विचार गरिनुपर्ने बेला भएको छ नत्र भोलि पछुताउनुशिवाय अर्को विकल्प रहँदैन।
चैत २०६१ हाकाहाकी
विशाल तर बीभत्स
सामुदायिक वन र सीडीएम
उनीहरूले वायुमण्डलमा फ्याक्ने हरितगृहलाई प्रभाव पार्ने ग्यासहरूको मात्रा यति धेरै भइसकेको छ कि त्यसको प्रभावबाट नेपालका ४० वटा हिमताल खतरामा परेका छन्, ती मध्ये पनि २० वटा ताल फुट्ने अवस्थामा पुगेका छन्। निवेदकहरूको लक्ष्य विश्व सम्पदा समितिको सन् २००५ मा बस्ने बैठक हो र त्यस बैठकमा सगरमाथा राष्ट्रिय निकुञ्जलाई खतराको सूचीमा राख्न सकिए, सरकार, नेपालका गैरसरकारी संस्थालगायत थुप्रैले निकै सहयोग राशि भित्र्याउन पाउने थिए। हिमताल फुट्नु अगाडि र पछाडिका परिस्थितिमा स्थानीय बासिन्दाले सुरक्षा अनुभूति पाउलान् नपाउलान् तर नयाँ विषयमा आउने धनराशिका लागि नयाँ–पुराना गैससबीच प्रतिस्पर्धा हुनेछ र राजधानीमा पैसाको खोलो पक्कै बग्ने छ। अहिलेका लागि त्यो राशिको सदुपयोग होला नहोला त्यो भविष्यको गर्भमा नै रहन दिउँ।
यसै विषयमा सरोकार राख्ने अर्को बैठक पनि हुँदैछ, मंसिरको अन्तिम सातामा। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको दशौँ भेला अर्जेन्टिनामा हुँदैछ र नेपालले पक्ष राष्ट्रका हैसियतले भाग लिँदैछ त्यसमा।
यो भेलामा अकालमै मर्न लागेको क्योटो अभिसन्धिले नयाँ जीवन पाएर अगाडि आउन लागेको छ। यसका सातवटा विश्व भेलाहरूमा क्योटो अभिसन्धि पारित गराउन हुँदै आएको कसरतले यसपाला उत्साहजनक वातावरण पाउँदैछ। विकासोन्मुख मुलुकहरूले बाध्यात्मक दायित्व वहन गर्नु नपर्ने तर औद्योगिक देशहरूले हरितगृह ग्यास कटौती गर्नै पर्ने भएका कारण विकासोन्मुख देशहरू क्योटो अभिसन्धिमा सहमति जनाउन अग्रसर भइरहेका छन्।
जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्षधर देशहरूको तेस्रो भेलाले तयार पारी अनुमोदनको प्रक्रियामा रहेको क्योटो प्रोटोकल त्यसपछिका हरेक भेलामा प्रमुख एजेन्डा बनेको थियो। तर विश्वकै सबैभन्दा ठूलो प्रदूषक अमेरिकाको विरोधका कारण यो अभिसन्धि पारित हुन सकेको थिएन। तर, लामो आनाकानीपछि रसियाले यो सन्धिलाई पारित गरेपछि अभिसन्धिले वैधानिकता प्राप्त गरेको छ।
तर नेपालले अहिलेसम्म हस्ताक्षर नगरेको यो अभिसन्धिलाई उक्त सम्मेलनपूर्व नै अनुमोदनसमेत गराउने प्रक्रिया सुरु भइसकेको छ। त्यसका लागि सम्भवत चाँडै नै एउटा अध्यादेश जारी हुनेछ।
तर यसमा किन गर्ने त हस्ताक्षर नेपालले। सरकारी र गैरसरकारी पक्ष नै स्पष्ट देखिएको छैन। हो, यसमा हस्ताक्षर गरेमा स्वच्छ विकास संयन्त्र (सीडीएम) मार्फत नेपालमा नवीकरणीय ऊर्जाको विकासमा थुप्रै पैसा भित्रिने छ, त्यसका लागि नयाँ–पुराना गैससबीच फेरि प्रतिस्पर्धा हुनेछ। के त्यसैका लागि हो यो अनुमोदन?
यो संयन्त्रबाट औद्योगिक राष्ट्रहरूले विकासोन्मुख देशमा नवीकरणीय स्वच्छ ऊर्जा र वनजस्ता क्षेत्रमा परियोजना सञ्चालन गरी हरितगृह ग्यास उत्सर्जनमा कटौती गरेको प्रमाण पेश गर्न सक्ने प्रावधान छ। वनस्पतिले त्यही कार्वन डाइअक्साइड सोसेर कार्वन सञ्चित गर्ने हुनाले वायुमण्डल स्वच्छ राख्न मद्दत गर्छ। वनको यही भूमिकालाई बढावा दिन "स्वच्छ विकास संयन्त्र" को मान्यताभित्र व्यावसायिक वनखेतीसम्बन्धी परियोजनाहरूलाई पनि समावेश गरिएको छ। यसको परिणामस्वरूप त्यस्ता परियोजनाहरूले हुर्काएको वनले जे–जति कार्वन सञ्चित गर्छ, त्यसको तौलअनुसार परियोजनाले रकम प्राप्त गर्न सक्छ। तर प्राकृतिक वनमा सञ्चित हुने कार्वनलाई यस्तो सुविधा प्राप्त छैन। यहाँ ध्यान दिने कुरो के भने नेपालमा यस्ता व्यावसायिक वन छैनन्, हामीकहाँ त सामुदायिक वन छ तर त्यसले यो सुविधा पाउँदैनन् अर्थात् सामुदायिक वन उपभोक्तालाई सो वनले सञ्चित गर्ने कार्वनबापतको रकम प्राप्त हुन सक्दैन। यहाँ नै नेपालका सरकारी र गैरसरकारी संस्थाहरूले भूमिका खेल्नुपर्ने देखिएको छ। आगामी बैठकमा उनीहरूले स्थानीय समुदायको लगानीबाट हुर्काएको सामुदायिक वनलाई सीडीएमको सुविधा पाउने गरी सौदावाजी गरिनुपर्छ। यसो नगरे त हुचुवाका भरमा पैसा भित्र्याउने र गैसस मोटाउने कामबाहेक सम्मेलनको कुनै औचित्य हुँदैन।
राजेश घिमिरे
मंङ्सिर २०६१ हाकाहाकी
जुटौं , रैथाने ज्ञानको रक्षामा
जनसंख्या बढ्दै जाँदा आवश्यकता बढ्नु स्वाभाविक हो र त्यसका लागि स्रोत बढी चाहिनु पनि व्यावहारिक नै छ तर त्यसकै नाममा पश्चिमी शैली अनुशरण गरेर हामी बस्ने धर्तीलाई ध्वस्त पार्नुचाहिँ कति जायज छ? धर्तीलाई जोगाउन त प्राकृतिक स्रोतको राम्रो व्यवस्थापन र सन्तुलन गर्नुपर्छ।
हो, त्यसैका लागि सक्षम छ हाम्रो रैथाने ज्ञान। हाम्रै रैथाने ज्ञानको एउटा अंग हो, आम्जी उपचार पद्धति। वास्तवमा संसारभरिकै रैथाने जातजातिको संस्कृतिको विकासमा धर्तीमाताको इज्जत कसरी गर्ने र त्यसलाई कसरी जोगाउँदै प्राकृतिक स्रोतको इज्जतदार उपयोग गर्ने भन्ने हो। तिनका नियम, रीतिरिवाज र संस्कृतिले वातावरण संरक्षणका लागि प्रत्यक्ष–परोक्ष रूपमा टेवा दिइरहेका हुन्छन्। रैथानेहरूको पूजाआजा, रीतिरिवाज, रूढीवादी सबै पारिस्थितिक प्रणालीलाई सन्तुलित गर्दै प्राकृतिक स्रोतको दिगो व्यवस्थापनतिर लक्षित हुन्छ। हजारौं वर्ष लगाएर विकास भएको यो ज्ञानको रहस्यलाई बुझेर त्यसलाई व्यवहारमा ल्याउने हो भने वातावरणीय समस्या आउँदैनन् र आए पनि समाधान गर्न सकिन्छ।
तर पश्चिमा उपभोक्तावादी हुरीले हजारौं वर्ष लगाएर जरो फैलाएको रैथाने संस्कृतिलाई हल्लाइरहेको छ अहिले। आधुनिकताका नाममा त्यस्ता वस्तुहरूको प्रवेश भएको छ जुन हाम्रो संस्कृतिमा कतैबाट पनि जोडिएको छैन। र, यही आधुनिकताले हाम्रो स्वाद फेरिदिएको छ, हाम्रो दृष्टिकोणमा भारी बद्लाव आएको छ। वास्तवमा पश्चिमी समाजको ठीक विपरीत पूर्वीया र रैथाने समाजका आवश्यकताहरू सीमित हुन्छ र हाम्रो त्यो संस्कृतिले हाम्रा चाहनाहरूलाई नै सीमित गरिदिएको हुन्छ। तर शासकीय उपनिवेशसँगै पश्चिमाहरूले सांस्कृतिक र भाषिक उपनिवेशको ठूलो साम्राज्य खडा गरे, शासन त गयो तर अन्य उपनिवेशको असर आज पनि बाँकी छ र त्यसले ठूलो घेरा बनाउँदै लगेको छ। परिणामत् युवाहरूलाई आफ्नो जरो कहाँ छ भन्ने पनि थाहा छैन, पश्चिमालाई त उनीहरूले छुन पनि सकेका छैनन्। अनि हुरीमा उडेका पात पतिङ्गर झैं बनेको छ, रैथाने र पूर्वीया समाजका युवाहरूको नियति। हुरीका पात बन्ने कि आफ्नो पहिचान बाँकी राख्ने? यिनै दुई विकल्प छन् हामीसँग। दोस्रो विकल्प रोजे, सुन्दर स्वच्छ वातावरणमा दिगो विकासको स्वाद पाउन सहज होला। आम्जीलगायतका हाम्रा अनेकन रैथाने ज्ञानको संरक्षण र सम्बर्द्धन पनि आफ्नै पहिचान जोगाउनका लागि हो। आज हामी वैज्ञानिक तर्कको कुरा गर्छौ र पश्चिमी हावामा कावा खान्छौं तर सोच्ने बेला आएको छ, हाम्रो ज्ञानको रहस्य खोज्ने बेला आएको छ।
रूढी र अन्धविश्वासको धूलोले छोपिएको हाम्रो ज्ञानबाट त्यो धूलो हटाउने प्रयास हामीले कहिल्यै गर्यौं त? त्यसो नगरी हामी कागले कान लग्यो भन्दै कागका पछाडि दौड्ने? सहस्रब्दीसम्म हामीलाई चिनाउन सक्ने, बचाउन सक्ने त्यो ज्ञान साँच्चै अवैज्ञानिक होला त? पक्कै छैन, नत्र हाम्रो अस्तित्व यो पृथ्वीमा हुँदैन थियो। आजका युवाको चुनौती पनि यही हो। हाम्रो ज्ञानको रहस्य बुझ्ने र त्यसको संरक्षण सम्बर्द्धनका लागि पुनर्उत्थानको क्रान्ति गर्ने, आऔं यही पूनीत कर्मका लागि हातेमालो गरौं।
राजेश घिमिरे असोज २०६१ हाकाहाकी
तात्तिँदो पृथ्वी
सशस्त्र द्वन्द्वकाकारण आफ्नै देशमै बाँच्न मुश्किल भइरहेको बेलामा कुनै वातावरणवादीले आएर "पृथ्वी तात्दैछ" भन्यो भने उसले पाउने जवाफ "मलाई के मतलव" भन्ने नै आउँछ। प्रकृतिका संरक्षणमा लागेकाले राम्ररी कमाउन नभएर खान–लाउनसमेत नपाउनेलाई "विश्वव्यापी उष्णीकरण" वा "ग्लोबल वार्मिङ" कै कुरा गर्यो भने पनि जवाफ उस्तै आउँछ।
तर वास्तवमा पृथ्वीको वातावरण तात्नु वा विश्वव्यापी उष्णीकरण हुनुको सबैभन्दा ठूलो असर गरिबकै थाप्लामा पर्छ। यसको प्रत्यक्ष असर वातावरणमा परे पनि अप्रत्यक्ष असरको मार भने आर्थिक, सामाजिक, साँस्कृतिकलगायत सबै क्षेत्रमा पर्छ। र, त्यसको पहिलो असर भने हामी गरिबहरुमा नै पर्छ।
वास्तवमा मान्छेले आफ्ना कामबाट पृथ्वीको मौसमजस्तो विशाल र जटिल कुरालाई समेत असर पर्न सक्छ भन्ने सायद नै सोचेका थिए होलान् ! तर अहिले आएर यो एउटा ठूलो समस्याको रूपमा देखापरेको छ।
विश्वव्यापी उष्णीकरणले हाम्रो स्वास्थ्यका साथै अर्थतन्त्र, प्राकृतिक सम्पदा र हाम्रा आगामी पुस्ताहरूलाई समेत खतरामा पारिरहेको छ। यो समस्यामा पृथ्वीका सबै मानिस एक भएर अगाडि बढ्नुपर्छ।
त्यसअगाडि हामीजस्ता साधारण जनताले मौसम परिवर्तन र त्यसबाट आइलाग्ने खतराका बारेमा बुझ्नुपर्छ। युरोपेली युनियनले हरितगृह रोग सम्बन्धित कार्वन डाइअक्साइड र अरु ग्यासहरूको निष्काशन तोकिएको मापदण्डभित्र राख्न आउँदो जनवरीदेखि अनिवार्य गर्ने भएका छन्। उनीहरूले बजार संयन्त्रअन्तर्गत कार्वन निष्काशनमा किनबेच अधिकार लागू गर्ने भएका छन्। अब रुसले पनि यसै वर्षको अन्त्यसम्ममा क्योटो प्रोटोकललाई अनुमोदन गर्नसक्छ। बेलायतले सन् २०५० भित्र आफ्नो प्रदूषण निष्काशनलाई ६० प्रतिशत कम गर्ने प्रतिबद्धता जाहेर गरेको छ। यहाँ बुझ्नुपर्ने कुरा के छ भने पृथ्वीका मानिसले आफ्नो गतिविधिलाई सुधार्न एक वर्षकै ढिलाइ गरे भने पनि निकै कहालीलाग्दो स्थिति सिर्जना हुनसक्छ। सबै वैज्ञानिकहरू पृथ्वीको तापक्रम बढ्दै जाने कुरामा विश्वस्त छन्। मतभिन्नता केवल कति मात्रामा बढ्दै जाने हो भन्नेमा मात्र छ। मौसम परिवर्तनले एक्कासि अति डरलाग्दो स्वरूप पनि लिनसक्छ। मौसम परिवर्तन रोक्न हामीले आफ्नो गतिविधि सुधार गर्ने क्रममा अरु फाइदाहरू पनि पाउँछौं। हरितगृह ग्यासको निष्काशन कम गर्नु भनेको पेट्रोलियम पदार्थको कम उपयोग गर्नु हो। त्यस्तै हामीले गाडी र उद्योगहरूमा ऊर्जा कम प्रयोग गर्ने वा नवीकरणीय ऊर्जा प्रयोग गर्ने खालको प्रविधि लगाउन सक्छौं। जसले गर्दा प्रदूषण घट्छ। यी सबैले पैसा बचाउनुको साथै सिर्जनशील प्रविधिको विकास हुन्छ। अहिले विश्वभरि नै प्रदूषक निष्काशन रोक लगाए तापनि एक दशकभित्र पृथ्वीको तापक्रम अझ केही मात्रामा बढ्ने वैज्ञानिकहरूको विश्वास छ। यसले कृषिको उत्पादकत्वमा ह्रास आउने, समुद्री सतह बढ्ने र मौसममा परिवर्तन ल्याउने असरहरू देखाउने छ।
विश्वव्यापी उष्णीकरणविरुद्ध लड्न नयाँ नीतिनियम लागू गर्नुपर्ने कुरामा सबैको एकमत छ। ती नीतिनियमले अनिवार्य रूपमा कार्वनको निष्काशनमा कमी गर्नुपर्ने अथवा त्यसअनुसार कर तिर्नुपर्ने र विश्वभर कार्वन निष्काशनको अधिकार किनबेच गर्न पाउनेजस्ता कुरालाई समेट्नुपर्छ। यसअन्तर्गत कुनै कम्पनीले केही प्रतिशत आफ्नो प्रदूषण घटाउनुपर्ने हुन्छ। यसका लागि कम्पनी आफैंले ऊर्जा वचत गर्ने प्रविधि अथवा पेट्रोलियम पदार्थको विकल्प प्रयोग गर्नसक्छ। अथवा कम्पनीले अरु कुनै कम्पनी जसले चाहिनेभन्दा बढी प्रदूषण घटाएको छ, त्यससँग बाँकी प्रदूषणको प्रतिशत खरिद गर्नसक्छ।
रुख बिरुवा रोप्न र कार्वन कम प्रयोग गर्ने प्रविधिको लगानीका निम्ति ऋणको व्यवस्थासमेत गरिएको हुन्छ। यस प्रावधानअन्तर्गत घटाउनेले निकै फाइदा पाउने देखिन्छ।
चुनौती
आइपर्ने खतरादेखि सावधान भई त्यसको समाधानका लागि काम सुरु गर्नु नै ठूलो कुरा हो। तर दुःखको कुरा के हो भने जुन अनुपातमा काम हुनुपर्ने हो त्यो भइरहेको छैन। अहिले औंलामा गन्न मिल्ने देशहरूले मात्र क्रियाशील हुने हो भने कार्वन डाइअक्साइडको मात्रा वातावरणमा चाहिए पनि घटाउन सकिन्न। विकासोन्मुख देशहरूको कारणले केवल एक तिहाई हरितगृह ग्यासको निष्काशन हुन्छ। तर यसको मात्रा अबको सय वर्षभित्र निकै बढ्ने सम्भावना देखिएको छ। त्यसैले अहिले अन्तर्राष्ट्रिय तवरमा नयाँ कुरा उठेको छ। त्यो के भने पहिले औद्योगिक राष्ट्रहरू प्रदूषण घटाउन गम्भीर भएको प्रष्ट पार्ने र त्यसपछि विकासोन्मुख देशहरूलाई नयाँ प्रविधि अपनाउनमा सहयोग गर्ने।
अहिले सबै जना पृथ्वीको तापक्रम दुई डिग्रीभन्दा बढ्न नदिने प्रयासमा छन्। यसमा सफल रहनका लागि कार्वन डाइअक्साइडको मात्रा वायुमण्डलमा ५५० पीपीएमभन्दा कम हुनुपर्छ। यसका लागि प्रतिव्यक्ति प्रदूषण आधा घटाएमात्र सफलता हासिल गर्न सकिन्छ।
विश्वव्यापी उष्णीकरणको विषयमा अहिले कुनै पनि कुरा किटान गरेर भन्न सकिन्ने अवस्था छैन। कसैलाई पनि यसको परिमाण र परिणाम यहि हुन्छ भन्ने थाहा छैन। कति तात्न सक्छ? कुन क्षेत्र बढी प्रभावित हुन्छ? सुख्खा वा बाढी कुन बढी हुन्छ। यी सबको उत्तर अहिले दिन सक्ने स्थिति छैन। अहिले सोचिएको भन्दा बेग्लै किसिमको परिणाम पनि आउन सक्छ।
कसरी तात्छ त पृथ्वी
यो प्रक्रिया हामीले तरकारी वा फूल लगाउनका लागि प्रयोग गर्ने हरितगृह (प्लास्टिकको घर) को जस्तै हुन्छ। कार्वन डाइअक्साइड र अरु केही ग्यास मिलेर हरितगृहको छानाजस्तै काम गर्छ। त्यसैले गर्दा सूर्यबाट आउने किरणहरू सजिलैसित पृथ्वीमा आउँछन् तर बाहिर जान पाउँदैनन्। यसैकारण पृथ्वीको तापक्रम बढ्न जान्छ। यी ग्यास पूरै बेफाइदाजनक पनि छैनन् किनकि यी ग्यास नहुँदो हो त पृथ्वीमा सबै चिज माइनस १७ डिग्रीको चिसोमा जम्ने थिए।
तर वायुमण्डल निकै नै जटिल छ। यदि हरितगृह ग्यासहरूको मात्रा बढेमा आकाशमा बादल बढी लाग्न सक्छ र कार्वन डाइअक्साइडबाट बढ्ने तापक्रमलाई रोक्न सक्छ। तर मौसम परिवर्तन यसै किसिमले हुन्छ भन्न कठिन छ। जे भए तापनि मौसम परिवर्तन भइरहेको छ। बितेको सय वर्षमा पृथ्वीको तापक्रम ०.६ डिग्रीले बढेको छ। यसका कोशी–काली, हिमनदी सन् १९७८ को तुलनामा ४० गुना चाँडो, २०० मिटर प्रतिवर्षको अनुपातमा घटिरहेको छ। यसरी बिलाइरहेका अरु सयौं हिमनदीहरू छन्। आर्कटिक महासागर र ग्रीनल्यान्डबाट हिउँहरू हराउन थालेका छन्। सयभन्दा बढी प्रजातिका जन्तु चिसो क्षेत्रतर्फ सरेको भेटिएको छ। हरेक एक डिग्री तापक्रम बढेको खण्डमा १० प्रतिशत गहुँको उत्पादकत्वमा ह्रास आउने गरेको छ।
पृथ्वीको इतिहासमा अकस्मात मौसम परिवर्तन भएको धेरैपटक पाइएको छ। अहिले बढिरहेको हरितगृह ग्यासले पनि यस्तै एक्कासि विश्वमा परिवर्तन ल्याउने हो कि भन्ने सबैलाई त्रास छ।
कसरी पर्छ मार
बाढी
पृथ्वीको तापक्रम बढ्दै गएपछि हिउँ, हिमनदी र आन्टार्टिकजस्ता हिमप्रदेश पग्लँदै जान्छ जसको कारण यस शताब्दीभित्र समुद्री तह एक मिटरले बढ्ने अनुमान गरिएको छ। समुद्रको सतह बढ्दा धनी देशहरूले त रक्षात्मक उपाय अपनाउन सक्छन् तर गरिबहरू विस्थापित हुनेबाहेक विकल्प नै रहँदैन। केही समुद्री तहहरूमा बाढी–पहिरोका घटना घट्ने क्रम सुरु भइसकेको छ र पानीको तह बढ्दै गएमा यो अवस्था अझ नाजुक हुने स्थिति छ। पानीको तह र तापक्रमको परिवर्तन सँगसँगै कोरल रिफहरू पनि दबाबमा परेका छन्। त्यस्तै समुद्रमा कार्वनको मात्रा बढ्नाले अति शूक्ष्म आधारभूत जीवन प्लाङ्टन पनि प्रभावित हुन सक्छ। यसले खाना चक्रमा प्लाङ्टनभन्दा माथिल्लो तहमा रहेका प्राणीलाई पनि अप्रत्यक्ष रूपमा असर गर्ने देखिन्छ।
आँधी र हुरी बढ्ने
उष्णीकरणले तीव्र र अनुमान गर्न नसकिने आँधीहुरी र तुफानजस्ता मौसमी घटनाक्रमहरू बढ्ने अनुमान वैज्ञानिकहरूले गरेका छन्। यद्यपि यसबारे ठोस प्रमाण र तथ्यांकचाहिँ संकलन गर्न बाँकी नै छ। तर त्यस्ता घटना बढेमा गरिबहरू नै मर्कामा पर्ने निश्चित छ।
घट्दो खेती उत्पादन
केही निश्चित ठाउँहरूमा बढ्दो तापक्रमले बाली उत्पादनमा प्रतिकूल असर गर्नेछ। प्रत्येक तापक्रम वृद्धिले बाली उत्पादनमा उत्तिकै मात्रामा गिरावट ल्याउने छ। र, असरचाहिँ गरिबलाई नै बढी पर्छ।
जीवजन्तुमा प्रभाव
विश्व उष्णीकरणले वन्यजन्तुलाई समेत शरणार्थी हुन बाध्य तुल्याएको छ। यसो हुँदा आफ्नो वासस्थानबाट जनावरहरू लोप हुने क्रम देखा परेको छ।
खडेरी
अफ्रिका मरुभूमिमा परिवर्तन भयो। कारण मौसम परिवर्तन। यही मौसम परिवर्तन अन्तिम तरंगमा पुगेमा भएका उर्वर जग्गा बाँझो र सुख्खा हुन समय नलाग्न सक्छर गरिब पनि विस्थापित हुन धेरै समय लाग्दैन।
राजेश घिमिरे
भदौ २०६१ हाकाहाकी
कान्छीमाया, कुकुर र वातावरणीय अन्याय
यसपालिको हाकाहाकीको आवरणमा छापिएको छ, कान्छीमाया दिदीको तस्वीर। काठमाडौं मूलखर्ककी ५८ वर्षीया कान्छीमाया तामाङले पनि आमगरिब नेपाली महिलाले गर्ने जति नै मेहनत गर्छिन् तर उनलाई त्यो मेहनतले वर्षदिनसम्म खान पुग्दैन
किनकि उनको बारीको छेउमै पर्छ–राज्यको स्वामित्वमा रहेको शिवपुरी राष्ट्रिय निकुञ्ज। शिवपुरीबाट आउने बाँदर र बँदेलले कान्छीमाया दिदीको खेतीलाई बर्वाद पारिदिन्छ। उनी बाँदरलगायतका वन्यजन्तुबाट आफ्नो बाली जोगाउनका लागि अनेकन उपाय लगाउँछिन्, कहिले आफैं कराउँछिन्, कहिले ढ्याङ्ग्रो ठटाउँछिन् तर पनि केही लाग्दैन, उनको आँखै अगाडिबाट चोरी लान्छन् तिनले कान्छीमायाको मेहनतको फल।
बाँदर र बँदेलजस्ता वन्यजन्तुलाई धपाउने अनेकन उपायमध्ये एक हो–कान्छीमाया दिदीको कुकुर। हो, आफ्नो मकैबारी छेउको गोठमा एउटा कुकुर पालेकी छन् कान्छीमाया दिदीले। कुकुरलाई यति छोटो सिक्रीले बाँधिएको छ कि ऊ बस्नै सक्दैन। कुकुर, बस्यो कि सुत्यो, अनि सुत्यो कि बाँदरको हातबाट मकै सखाप। सुत्न नपाएकाले त्यो कुकुर दिनभरि भुकिरहन्छ अनि बाँदर जंगल छेउका मकैका घोगाबाहेक अरु खान सक्दैनन्।
एक हिसाबले भन्ने हो भने कान्छीमाया दिदी, उनको कुकुर र संरक्षित क्षेत्र वरपर अनि भित्रै बस्ने मानिसहरूको जीवनमा समानता छ। ती गरिब नेपालीहरू आफ्नो कमाई र जीवनको रक्षाका लागि न दिनमा सुत्न सक्छन् न रातमा। दिनरात कराउनै पर्छ उनीहरूले, नत्र कमाई पनि सखाप, ज्यान पनि सखाप। कराउने शिवाय केही गर्न सक्दैनन् उनीहरू।
नियम कानुनले उनीहरूको हात बाँधिएका छन्, कुकुर झैं भुक्नुपर्ने बाध्यता। आफ्नै जमिन, आफ्नै मेहनत अनि आफ्नै खेती, तैपनि विश्वको जैविक विविधता जोगाउनका लागि संरक्षण गरिएका वन र त्यसका वन्यजन्तुका कारण आफ्नो मेहनतको फल सबै सखाप हुँदा पनि टुलुटुलु हेर्नुपर्ने बाध्यता। किन त्यस्तो? विश्वभरिकै नागरिकका लागि जोगाइएका ती वन्यजन्तुका कारण भएको क्षति हामी निमुखा गरिबले मात्र किन व्यहोर्नु परेको? क्षति हाम्रोमात्रै फाइदा सबैलाई। हामीले क्षतिपूर्ति पाउनुपर्ने होइन र?
यस्ताखाले अनेकन वातावरणीय अन्यायका शिकार भएका छौं हामी राज्यपक्षबाट। तर क्षतिपूर्ति भने पाइँदै पाइँदैन वा पाए पनि देखावटी रूपमा एकदम कमपाइन्छ। यसरी पाएको क्षतिपूर्ति यति कम हुन्छ कि त्यसले क्षतिको एक प्रतिशत पनि पूर्ति हुँदैन।
हामीले न्याय नपाउनु पछाडि अनेकन कारण छन् र पहिलो चाहिँ हाम्रो आफ्नै कमजोरीले गर्दा हो। किनकि हामी आफैंलाई थाहा छैन हामी अन्यायमा परेका छौं भन्ने। थाहा नभएपछि के आवाज उठाउने? कसका अगाडि उठाउने? अनि कसरी उठाउने?
हामी वातावरणीय अन्यायमा पर्नुको अर्को कारक हो सरकारी कमजोरी। सरकार कमजोर भएकै कारण नेपाल र नेपाली जनताले जैविक विविधता जोगाउनका लागि गरेको त्यागका बारेमा विश्वले राम्ररी थाहा पाउन सकेको छैन। अनि विश्व जनमञ्चअगाडि हाम्रो सरकारले क्षतिपूर्तिसम्बन्धी आवाज उठाउन सकिरहेको छैन र त्यसबापत आफूले पाउनुपर्ने सुविधा पनि लिन सकेको छैन। नेपाली जैविक विविधतामा भएका लगानीको जति फल नेपाल भित्रिएको छ त्यो अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका माध्यमबाट मात्र आएको छ र खर्च पनि उनीहरूकै एजेन्डामा मात्र हुन्छ। उनीहरूको एजेन्डा, कान्छीमाया दिदी र हाम्रा समस्याभन्दा फरक छन्। उनीहरूमध्ये धेरैजसो त बाघ, भालु, गैंडाजस्ता नेपालका आकर्षक वन्यजन्तुलाई जोगाउन चाहन्छन्। चाहे, त्यसका लागि निमुखा गरिबहरू मारमा किन नपरुन्। उस्तै परे, ती वन्यजन्तुको संरक्षणका लागि उनीहरू हामीले परापूर्व कालदेखि उपयोग गर्दै आएको प्राकृतिक सम्पदा र भूमिबाट विस्थापित गर्न पनि पछि पर्दैनन्। र, तिनका एजेन्डाका अगाडि विवश भएर उभिन्छ हाम्रो सरकार !
हामीलाई वातावरणीय अन्यायमा पार्ने सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय ठालुहरूविरुद्ध आवाज उठाउने आजको टड्कारो आवश्यकता हो।
यी वातावरणीय अन्यायबाट मुक्त हुनका लागि सबैभन्दा पहिला त हामी आफू नै जागरुक हुनु पर्यो र सरकारलाई पनि घचघच्याउनु पर्यो। नत्र त हाम्रो हालत कान्छीमाया दिदीको कुकुरको झैं हुन्छ र हातमुख जोर्नका लागि हामी सधैं भुकिरहने छौं,
कराइरहने छौं।
राजेश घिमिरे
भदौ २०६१ हाकाहाकी
भुसको आगो
आत्मसम्मानका लागि सुरु गरिएको चमार आन्दोलन अहिले थला परेको छ। सिरहा र सप्तरीका चमारहरूको यो सामाजिक आन्दोलन राजनीतिको फोहोरी खेलको शिकार भयो। सशक्त ढंगबाट चमार मुक्तिको बाटोमा लागेको आन्दोलनको पक्ष/विपक्षमा कांग्रेस आफैं फस्यो, एमालेले भोट बैंकका रूपमा प्रयोग गर्यो र अन्ततः सशस्त्र द्वन्द्वकोएक पक्ष माओवादीले यसलाई बिथोलिदियो र स्थानीय ठालुहरू प्रशासन र पैसाका आडमा यसलाई हालका लागि दबाउन सफल भए।
जबसम्म दिगो विकास, वातावरणीय न्याय र समन्यायको अवधारणा व्यवहारमा लागू हुँदैन तबसम्म नागरिकले स्वाभिमानका साथ जीवन बिताउन सक्दैन। चमारहरू त्यही स्वभिमानको खोजीमा छन्, आत्मसम्मानका साथ बाँच्न चाहन्छन् तर सनातन धर्मको वर्ण व्यवस्थाको विकृत रूप छुवाछूत प्रथाका आडमा समाजका ठालुहरू उनीहरूलाई अगाडि बढ्न दिँदैनन्।
वर्ण व्यवस्थाको पक्षमा तर्कहरू धेरै छन् तर त्यसपछाडि लुकेको सत्यचाहिँ शासक र त्यसका आसेपासे वर्गले प्राकृतिक स्रोतमाथि एकलौटी कब्जा जमाउनु नै हो र "तल्लो जात"का नाममा श्रमजीवी वर्गलाई श्रम गराउने र प्राकृतिक स्रोतको उपभोग गर्न र त्यसबाट फाइदा लिनबाट वञ्चित गराउने नै हो। त्यसैले त आज पनि आफूले सदियौंदेखि दबाएर राखिएकाहरू शक्तिशाली भए भने प्राकृतिकलगायतका आफूले उपभोग गर्दै आएका स्रोत, सम्पदा र शक्ति गुमाउने डर छ, ती ठालुहरूलाई। अहिले सिरहा र सप्तरीका ठालुहरू चमार आन्दोलन, नाकाबन्दी र बहिष्कारका नाममा दबाउन सकेकोमा दंग छन्।
उनीहरूले सम्झेका छन्, सजिलै निभ्यो त्यो परालको आगो तर उनीहरूले बुझेका छैनन्, चमार आन्दोलन सजिलै निभ्ने आगो होइन यो त भूसको आगो हो भित्रभित्रै सल्किरहेछ प्रजातन्त्रले दिएको चेतनाको शक्तिले एकपछि अर्को चमारको मनमष्तिस्कमा आगो सल्किरहेको छ र यसको अन्त्य आत्मसम्मानको प्राप्तिपछि मात्र हुन्छ।
तराईंका चमारमात्र किन, नेपालका सम्पूर्ण दलितहरूमा यो फैलिएको छ, आत्मसम्मानका साथ जीवनयापनको चेतनाले बलियो जग बसालिसकेको छ। त्यसैले त हामीलाई विश्वास छ, नागरिक स्वाभिमानका लागि सुरु भएका आन्दोलनहरू जसले जतिसुकै जस्तोसुकै बल लगाएर दबाउन खोजे पनि दबिदैनन्, मुक्ति टाढा छैन। आत्मसम्मानसहितको जीवनका लागि सबैलाई हाम्रो अग्रिम बधाई र शुभकामना।
राजेश घिमिरे
असार २०६१ हाकाहाकी
सूचना : समुदायको अधिकार
हामीले सूचनाको एकतर्फी रूपमात्र देख्न पाएका छौं, धेरै अगाडिदेखि। केन्द्रबाट ढ्वाङ फुकिएका सूचना पाइरहेका छौं, रेडियो, टीभीमात्र होइन, केन्द्रबाट खटिआएका कर्मचारीदेखि विशेषज्ञ भनाउँदाहरूको मुखबाट। त्यसैले हाम्रो "विकास"पनि एकतर्फी भएको छ, केन्द्रमुखी भएको छ। तिनले कागले कान लग्योभन्दा हामी कागकै पछाडि दौडन बाध्य भएका छौं किनकि ती सूचनाको अवलम्बन गर्नुको विकल्प पनि थिएन, हामीसँग। हुँदो हो त, हामी प्रश्न गर्थ्यौ? विकल्प दिन्थ्यो। तर सत्तासीनहरूलाई न त विकल्प मन पर्छ न त प्रश्न। यो अर्को कारण हो, स्थानीय रेडियो र विशेषत सामुदायिक रेडियाप्रति सरकारी अनुदारपनको।
अहिले त सूचनाको बाढी नै छ, यत्रतत्र सूचना। तर कुन सूचना हाम्रा लागि ठीक र कुन गलत, छुट्टयाउने आधार छैन हामीसँग, किनकि सूचना केलाउने र विश्लेषण गर्ने ठाउँमा हामी र हामीजस्ता मानिस छैनन्। सूचना आउँछ र पत्याउन कर लाग्छ र त्यसमा अवलम्बन गर्न थाल्छौं। हामीले विश्लेषणबिना कार्यान्वयन गरेका विकास, प्रविधि, वातावरण आदि अनेकन सूचनाका कारण हामीले आफ्नोपन गुमाइसकेका छौं। सूचनाबाट नयाँ प्रविधि त आए, तर एकातिर विश्लेषण क्षमताका अभावमा हामीले तिनलाई पूरा ग्रहण गर्न सकेनौं भने अर्कातिर हामीले हाम्रो आफ्नो प्रविधि परित्याग गरिसक्यौं। फलत प्रविधिको कुहिरोमा हराएका कागझै भएका छौ आज हामी। सूचना विश्लेषणमा हाम्रो र हामीजस्ताको पहुँच हुँदो हो त हामी आज सक्षम हुन्थौं, स्वावलम्बी हुन्थ्यौं। तर सक्षम र स्वावलम्बीहरू मन पर्दैन जस्तोसुकै शक्तिवालाहरूलाई। यो पनि अर्को कारण हो, स्थानीय रेडियो र विशेषत सामुदायिक रेडियाप्रति सरकारी अनुदारपनको। यस्ता अनेकन कारण छन्, समुदायलाई सूचनाको पहुँचको सहज र सरलमाध्यम सामुदायिक रेडियो हासिल गर्न नदिने। त्यसबाहेक सञ्चारमाध्यमहरूबाट प्रसारित विषयवस्तु अल्पसंख्याक चतुर, व्यापारी तथा सत्तासीनहरूको स्वार्थ, नियन्त्रण र निगाहमा सदैव निर्भर राखिन्छ। त्यसबाट सूचना तथा सांस्कृतिक विषयवस्तुको प्रवाहमा भयानक असन्तुलन सिर्जना गरिन्छ। हामी आमजनतासँग विषयवस्तुमाथि अन्तरक्रिया नगरेर हामीमाथि सूचना थोपर्ने कार्यहरूमात्र हुन्छ।
तर अरुले रोक्दैमा रोकिन्छौं र हामी। कुलिन र सम्भ्रान्त भनिनेहरूको कब्जाबाट सूचनाको शक्ति खोस्ने अभियान सुरु भइसकेको छ, सामुदायिक रेडियोको माध्यमबाट। अबको चुनौती त यो आन्दोलनलाई गाउँ–गाउँ अनि समुदायमा पुर्याउने हो र सत्य –तथ्य सूचनाको विश्लेषणयुक्त ग्रहण गरी हामीले आफूलाई शक्तिशाली बनाउँदै लाने हो। आउँ, समुदायलाई सूचनाको अधिकार प्रत्याभूत गर्ने यो अभियानको सशक्तीकरणका लागि अग्रिम शुभकामना। जेठ २०६१ हाकाहाकी
हात्ती र मान्छे
नरबहादुरका मात्र के कुरा गर्नु, सुनसरी बकौलीकी मीना भुजेल घरको न घाटको भएकी छन्, उनको बारीमा पनि एउटा जंगली हात्ती मारियो। सर्लाही सखुवाका रविन, पूजा र अमिता अहिले अनाथ भएका छन्। एउटा उन्मत्त जंगली हात्तीले उनीहरूका बाबालाई किचीमिची पारिदियो। झापा बाहुनडाँगीकी सन्तमाया दियाली विधवा र बेसहारा भएकी छन्, उनका खसम पनि हात्तीकै शिकार भए, बाहुनडाँगीका बूढा धनबहादुर थापाले आफ्नो जवान छोरा र भर्खरै भित्र्याइएकी बुहारी गुमाए।
जंगली हात्ती र मानवबीचको द्वन्द्वकायी केही उदाहरणमात्र हुन्। सशस्त्र द्वन्द्वबाट आक्रान्त हाम्रो मुलुकमा यी उदाहरणहरू सरकारी फाइलका पाना–पानामा टिप्पणीका रूपमा मात्र छन्। संवेदनहीनताको पराकाष्ट भएको यो देशमा हात्तीपीडितहरूको आवाज सुनिदिने सायद नै कोही होला?
२०६० सालमा मात्र जंगली हात्तीका कारण ११ जना निर्दोष र गरिब नेपालीले ज्यान गुमाए, बाली, घर र अरु धनसम्पत्तिको नोक्सानीको त कुनै तथ्यांक नै छैन। पहिले/पहिले वर्षको तीन महिनामात्र देखिने हात्तीले अहिले बाह्रै महिना आंतक मच्चाउन थालेका छन्। र, सरकारी अधिकारीहरूको भनाइलाई मान्यता दिने हो भने यसको मुख्य दोषी तिनै पीडित गरिब नेपाली नै हुन्। किनकि "तिनीहरूले हात्तीको प्राकृतिक बासस्थान र बाटो मासेर खेती गरे र घर बनाए त्यसैले हात्ती रिसाए।"
तर यो शतप्रतिशत सत्य होइन। किनकि केही वर्षअगाडिसम्म पूर्वी नेपालका थोरै ठाउँमा केही महिनामात्र आतंक मच्चाउने हात्तीहरू अहिले झापादेखि रौतहटसम्म बाह्रै महिना आतंक मच्चाएर हिंडेका छन्। सामुदायिक वन र संरक्षित क्षेत्रहरूको सफलताका कारण उनीहरूको बासस्थान बिग्रनेभन्दा सप्रने क्रममा छ। यसमा गरिब नेपाली जनताको कुनै दोष छैन। दोष नै दिने हो भने त सबैभन्दा ठूलो दोषी सरकारको संरक्षण नीति, नीति–निर्माता र कार्यान्वयनकर्ताहरू नै हुन्। उनीहरूले हात्तीको बढ्दो संख्याका बारेमा ध्यान नै दिएनन्। प्रकृतिको बहन क्षमताभन्दा बढी हात्ती हुँदा पनि त्यसबारे चासो राखेनन् र त्यसैले अहिलेको अव्यवस्थापनलाई निम्तो दिए उनीहरूले। र, त्यसैको परिणाम भोग्दैछन् नेपाली जनता ज्यान र धनसम्पत्ति गुमाएर।
नेपालीले नेपाली मारिरहेको अहिलेको स्थितिमा हात्तीले दुईचारजना मार्यो त मार्यो भन्ने स्थिति पनि छैन अहिले। कठोर वातावरणवादीहरूको नजर जस्तो मान्छे मर्छन् र फेरि जन्मिहाल्छन् भन्ने संवेदनहीनता देखाउने स्थिति पनि होइन यो। किनकि मानव र प्राकृतिक सम्पदाबीच सामान्जस्यता र सहअस्तित्व स्थितिको सिर्जना गर्न सकिएन भने त्यसको बढी मार प्रकृति र प्राकृतिक सम्पदामा नै पर्छ। त्यसको उदाहरण हो, २०६० सालमा ११ जना मान्छे हात्तीबाट मारिए र ५ वटा हात्ती मान्छेबाट।
वन्यजन्तुबाट हुने हानि–नोक्सानीको क्षतिपूर्ति र तिनको वासस्थान एवम् व्यवस्थापनका बारेमा तत्काल नै सोचिएन भने हात्ती मर्ने क्रम बढ्न सक्छ र हामीले प्रकृतिको त्यो अमूल्य धरोहरलाई गुमाउन पनि सक्छौं।
राजेश घिमिरे
वैशाख २०६१ हाकाहाकी
वातावरणीय न्याय आवाजको खाँचो
यी प्रश्न मकवानपुरको मार्खु क्षेत्रका हरेक मानिसको मनमा छ, तर आवाज बनेर बाहिर निक्लिएका छैनन्। पानी र जग्गा खोसिएकाहरू चुपचाप छन्। मार्खु, कुलेखानी क्षेत्रमा पर्छ र त्यहीं बस्छन्, २६ वर्षदेखि विद्युत् प्राधिकरणबाट वातावरणीय अन्याय खेपिरहेका मानिसहरू।
उनीहरूका ६ सय घर आफन्त २६ वर्षअघि नै विस्थापित भइसके, उनीहरूको खोजीनीति केही छैन। इन्द्रसरोवरमुनि पुरिएको खेतको उब्जनीबाट भरपेट खान पुग्ने ती किसान अहिले सहरका चिप्ला सडकहरूमा ठेला घचट्दै छन् वा रिक्सा तान्दैछन् वा भारी बोक्ने कुल्ली बनेका छन्। अर्थात् आत्मस्वाभिमान गुमाएर परजीवीझै जीउन बाध्य भएका छन्।
त्यसैले त मार्खुका मानबहादुर बोमजन भन्छन्, "कुलेखानीले हामीलाई किसानबाट हली बनाइदियो।"२६ वर्षमा त ठूलै घाउमा पनि खाटा बसिसक्नु पर्ने हो, तर यहाँ त्यस्तो छैन, इन्द्र सरोवरको झिलिमिलीको छायाँमा मार्खुका ६ र ७ वडाका जनताले बालेको टुकीको पिरो धूवाँले उनीहरूको आँखा पोल्छ र घाउ फेरि बल्भि्कन्छ। खेतमा पानी नपुग्दा फेरि खाटा उप्किन्छ, वर्षामा बेस्सरी पानी छोडिँदा बेस्सरी दुःख्छ घाउ र आँखामा आँसु छचल्किन्छ।
मार्खु वा कुलेखानी क्षेत्रको मात्र के कुरा गर्नु तनहुँमा मर्स्याङ्दीपारिको गाउँ आख्लाङका मगर र भुजेलहरूका आँखा पनि टुकीको धूवाँले पोलिरहेको छ। मुलुककै दोस्रो ठूलो बिजुली उत्पादन केन्द्र मर्स्याङ्दी महाशाखाबाट ४ सय मिटर टाढाको यो गाउँ १३ वर्षदेखि टुकीको उज्यालोमा मर्स्याङ्दीको झिलिमिली हेर्न बाध्य छन्। उनीहरूको मनमा पनि प्रश्न त्यही नै उठ्छ, "हाम्रै पानी, हाम्रै जमिन, तैपनि हामीलाई बिजुली किन नाई?"अनि उनीहरू मनमा कुरा गुत्थै भन्छन्, "हामी सोझा र निमुखा भएर होला सबैले हेपेका !"
वातावरणीय न्यायको एउटा आधारभूत सिद्धान्त "लाभको बाँडफाँड र उचित अंश प्राप्तिको अधिकार"हो। तर हामीकहाँ ठूला परियोजना सञ्चालन गर्दा त्यो अधिकार दिइएको छैन। त्यसमा धेरै दोष त सरकारकै छ, तर केही हदसम्म हाम्रो पनि छ। हामी मनमा उठेका प्रश्नलाई आवाज बनाउँदैनौं, नियति भन्छौं, सहन्छौं तर अब त बेला आइसक्यो प्रश्न गर्ने, आवाज उठाउने, अनि मात्र पाउन सक्छौं हामीले हाम्रो अधिकार। नत्र त सधै ठालु, धनी र बोल्न सक्नेहरूको अन्याय सहेर नै बस्नु पर्ने बाध्यता हुन्छ। आउँ, मनभित्रका कुन्ठाहरूलाई बाहिर निकालौं, आवाज निकालौं र आवाजलाई शक्ति बनाऔं, वातावरणीय अन्यायविरुद्ध संगठित भएर शान्तिपूर्ण संघर्ष गरौं।
फागुन २०६० हाकाहाकी
भूल–सुधार
अलिकति ज्ञान पलाएका, शिक्षा र अनुभवले पाका बनाइएका युवा चेपाङहरू आज आफूजस्तै अनेकन चेपाङहरूलाई हक–अधिकारका बारेमा लड्न सिकाइरहेका छन्, ज्ञान र चेतनाको माध्यमबाट। तर तिनको संख्या औंलामा गन्न पुग्नेमात्र छ। हो, यहाँ एउटा प्रश्न उठ्छ, सदियौंदेखि शोषित यी आदिवासीहरूको जीवनको उत्थान केही युवाहरूको प्रयासले मात्र सम्भव छ? सरकारले बाँड्ने केही लाखले माथि उठ्लान त चेपाङहरू? पक्कै उठ्दैनन्। त्यसमाथि उनीहरू त आफ्नो जातीय पहिचान नै खोसिएकाहरू हुन्। सरकारमा बस्ने केही लहडीहरूले प्रजा बनाइदिए, उनीहरूको विकासका नाममा जैविक विविधता र आफ्नो भूमिसँग आन्योन्याश्रित सम्बन्ध भएका यी आदिवासीहरूलाई आफ्नै भूमिबाट विस्थापित गरेर केही नयाँ भूमिमा "पुनर्स्थापना"गरियो। तर यो कार्यक्रम त्यति सफल भने भएन। यस्तै "विकास"कार्यक्रमका लागि हरेक वर्ष सरकारले ३५ लाख रुपैयाँ लगानी गर्न थाल्यो। हिसाब नै गर्ने हो भने एकजना चेपाङका नाममा सरकारले हरेक वर्ष मोटामोटी ६७ रुपैयाँ खर्च गर्छ। विसं २०३४ मा पनि "प्रजा"विकासको नाममा ३५ लाख रुपैयाँ खर्च गर्थ्यो र अहिले २०६० सालमा पनि ३५ लाख नै खर्च गर्छ। त्यसले उनीहरूको जीवनमा उल्लेखनीय सुधार हुन सकेको छैन।
चेपाङहरूको पहिचान खोस्नु भूल थियो। उनीहरूको जीवन गाँसिएको जैविक विविधता र भूमिबाट टाढा लगेर पुनर्स्थापना गर्नु अर्को भूल, ऋणजमानी र ब्याज असुलका नाममा यी सोझा आदिवासीलाई बाँधा राख्नु त झनै ठूलो भूल। एजेन्डा–२१, मानवाधिकार घोषणापत्रलगायत अनेकन अन्तर्राष्ट्रिय सन्धि–सम्झौता आदिमा हस्ताक्षर गरेर पनि आदिवासीको अधिकार कार्यान्वयनमा नल्याउनु अर्को भूल, नागरिकता र अन्य कागजातको अभावका नाममा यी आदिवासीलाई उनीहरूको भूमिबाट वञ्चित गराउनु अर्को भूल। गन्दै जाने हो भने त्रुटिहरूको एउटा ठूलो सूची नै बन्छ। तर बेला विगतका गल्तीबाट सिक्ने हो। साँच्चै नै चेपाङहरूको जीवनस्तरमा सुधार ल्याउने चाहना हो भने सरकारलगायत नागरिक समाज सबैले विगतमा भए/गरिएका भूलहरूमा सुधार त गर्नै पर्छ। र, त्यससँगै चेपाङहरूलाई आत्मनिर्णयको अधिकार दिनैपर्छ अनि यी आदिवासीको भाषा, संस्कृति, संस्कार र जैविक विविधतासँग सम्बन्धित उनीहरूको उच्च ज्ञान, प्रविधिको संरक्षण र उनीहरूको जीवनस्तरलाई उकास्न एकीकृत कदम चाल्नै पर्छ। केही युवा चेपाङ, सरकारको ३५ लाख रुपैयाँ र केही गैरसरकारी संस्थाको प्रयासबाट मात्र त उनीहरूको जीवनस्तर उकास्न अझै दशकौं पर्खनुपर्ने हुनसक्छ। माघ २०६० हाकाहाकी
रोक ! वातावरणीय विनाश
जननी मान्छौं हामी प्रकृतिलाई। यो हाम्रो संस्कार हो। तर सशस्त्र द्वन्द्वको उन्मादमा आफ्नी आमाको चीरहरणमा लागेका छौं, हामी आफैं नै।
यो अंकको हाका–हाकीमा हामीले मुलुकमा अहिले चलिरहेको सशस्त्र द्वन्द्वकाक्रममा प्रकृतिमाथि भएका प्रहारका केही प्रतिनिधिमूलक घटनाहरूलाई समावेश गरेका छौं।
तिनको सन्देश के हो भने प्रकृतिको अस्मिता लुट्ने काम सशस्त्र द्वन्द्वका दुवै पक्षमात्र होइन, मौकामा चौका हान्ने तस्कर र बाध्यतामा परेका उपभोक्ताहरू पनि संलग्न छन्। यो हाम्रो पहिलो प्रयास हो र आगामी दिनहरूमा सशस्त्र द्वन्द्वका कारण प्रकृतिमा परेको असरका बारेमा हामी अनुसन्धानलाई निरन्तरता दिनेछौं। र, गाउँ–गाउँमा रहेका हाम्रा पाठकहरूको यससम्बन्धी सूचना हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण हुनेछन्। यो पत्रिका हात लागेपछि हाम्रो ठेगानामा त्यस्ता सूचनाको बाढी नै आउनेछ भन्ने हाम्रो विश्वास छ।
किन जोगाउनुपर्छ त हामीले वातावरण? अब अलिकति कुरा यसैका बारेमा गरौं। हामीकहाँ वातावरणका कुरा गर्नेहरू डलर खेती गर्ने मानिन्छन्। तर यथार्थ त्यसो होइन। बरु मानव जीवनयापनको आधारभूत स्रोत प्राकृतिक वातावरण हो। वातावरण त देखिने र नदेखिने रुपमा रहेका धेरै खाले जैविक–अजैविक तत्त्वहरू मिसिएको एउटा प्रणाली पो हो। भूमि, पानी, वन, जैविक विविधता, हावा, जलवायु, मानव निर्मित संरचना, आकाश र हामी मान्छे स्वयं वातावरणका केही तत्त्व हुन्। यी सबै तत्त्वहरूको अन्तरक्रिया स्वरुप स्थापित भएको अन्तरसम्बन्धलाई विज्ञानको भाषामा पारिस्थितिक प्रणाली (इको सिस्टम) भनिन्छ। हामी मान्छेले आफ्नो जीवन चलाउने र विकास गर्ने स्रोतहरू यही प्रणालीबाट पाउँछौं। अर्थात्, पारिस्थितिक प्रणालीमाथिको खतराको अर्थ हाम्रै जीवनमाथिको खतरा हो। वातावरण विनाश भनेको हामीले आफ्नै खुट्टामा हान्नु हो।
बुझेर नबुझेर हामी सशस्त्र द्वन्द्वकानाममा वातावरणमा प्रहार गरिरहेका छौं। यसको अर्को पक्ष पनि छ, यस्ता सशस्त्र द्वन्द्वबाट सुरुमा मानिस पीडित हुन्छन्, त्यसपछिको असर प्रकृतिमा पर्न थाल्छ, अनि वातावरण विनाशको क्रम सुरु हुन्छ। वातावरण विनाशको अर्थ गरिबहरूको जीवन झनै बढी कष्टकर बन्दै जानु हो। र, गरिब झन् गरिब हुनु हो। यसर्थः गरिबको कल्याणको राजनीति गर्नेहरूले साँच्चै गरिबको कल्याण चाहेका हुन् भने प्रकृतिलाई नछोओउन्, यही हाम्रो अनुरोध हो, द्वन्द्वकासबै पक्षलाई रोकी वातावरणको विनाश, आफ्नै लागि र हामी सबै गरिबका लागि रोकी हाल।
राजेश घिमिरे
मंसीर २०६० हाकाहाकी
वातावरणीय अन्याय विरुद्ध
विकास निर्माणका काममा पनि राज्यका नीति–निर्माता र कार्यान्वयनकर्ताहरूमा अल्पकालीन सोच नै हावी छ। हाम्रो कमजोर भौगोलिक संरचनामा सडक, बाँधलगायतका विकास निर्माण गर्नुअगाडि राम्रो अध्ययन/अनुसन्धान हुनुपर्ने हो र दिगो विकासको बाटोतिर सोचिनुपर्ने हो।
तर हाम्रा नीति–निर्माता दुई मिनेट चाउचाउ पकाए जस्तो सोच्छन्, पकायो, खायो, चलदियो। न विगतमा गरिएका गल्तीबाट शिक्षा लिनु छ न भविष्यलाई दिगो बनाउनेतिर सोच्नु छ। यो नै हाम्रो वास्तविकता हो र यही वास्तविकताबाट पिरोलिएका छौं हामी गरिबहरू। यस्तो दुई मिनेटको तदर्थ सोचबाट न त प्रकोप नियन्त्रण हुन्छ न व्यवस्थापन।
अब के गर्ने त? राज्यले हाम्रा बारेमा सोचेन भने हामी चुपचाप बस्ने र प्राकृतिक प्रकोप, वातावरणीय अन्यायहरूलाई सहेर तमासा हेरिरहने? पक्कै होइन, राज्यले ध्यान दिँदैन भने हामी आफैंले नै हाम्रो र भावी पुस्ताका बारेमा सोच्ने र काम गर्ने बेला आइसकेको छ। अब हामीले नै गर्नुपर्छ वातावरणीय न्याय र समन्यायका पक्षमा काम। आउँ, त्यसैका लागि हातेमालो गरौं र हाका–हाकी बोल्न थालौं उज्वल्ल भविष्यका लागि, नत्र हामीलाई हाम्रा भविष्यको पुस्ताले सराप्ने छ।
अन्यायका विरुद्ध आवाज उठाउनु त हाम्रो कर्तव्य हो। तर सामाजिक, आर्थिक, पारिवारिकलगायतका अनेकन बाध्यताले हामी अन्याय सहन थाल्छौं। अर्कोतिर कतिपय अवस्थामा हामीलाई आफू अन्यायमा परेका छौं भन्ने ज्ञानसमेत हुँदैन। विविध बाध्यताबाट जन्मेको सहनशीलता अनि वातावरणीय न्याय र समन्यायका बारेमा हाम्रो अज्ञानताले नै हो, हामी अन्यायका शिकार भएका छौं, अज्ञात समयदेखि। र, कालान्तरमा अहिले आएर हामीलाई अन्याय सहने बानी परेको छ। हो, यो हाम्रो राष्ट्रिय चरित्र झै बनिसकेको छ।
यो हाम्रो राष्ट्रिय चरित्रजस्तो नबनेको हुँदो हो त हामी किन सहन्थ्यौं, यति धेरै वातावरणीय अन्याय र समन्यायको अभावलाई? किन सहन्थे काठमाडौंका गरिबले धुलो र धुवाँलाई? घर आँगनमै अर्काले फालेको फोहोरलाई? अनि किन सहन्थे वाग्मतीको फोहोर पानीबाट पीडित किसान र माझीहरूले? सायद बाध्यता र अज्ञानता नहुँदो हो त पर्सा क्षेत्रमा उद्योगहरूले विषालु बनाइदिएको सिर्सियाबाट पीडित किसानहरूले उहिल्यै आवाज उठाइसक्थे, माझीहरू सडकमा ओर्लिसक्थे होला। बुटवल होस् वा महेन्द्रनगर वा नेपालगन्ज वा काँकडभिट्टा वा पोखराको सेती नदी र अरु पहाडी जिल्ला, नगर, गाउँ किन नहुन सबैमा वातावरणीय अन्यायविरुद्ध आवाज उठ्थ्यो। तर उठेका छैनन्। हामी अन्याय सहीरहेका छौ, चुपचाप, मानौ यो हाम्रो नियति हो। भाग्यवादमा अति विश्वास गर्ने हामीहरू यी सबैलाई हाम्रो कर्मको फल मानेर सही रहेका छौं, चुपचाप। तर यो हाम्रो कर्मको फल होइन, यी वातावरणीय अन्याय त सब अरूको कर्मको फल हो। कसैले बुझेर पनि सहीरहेका छौं, बुझ पचाएर बाध्यताहरूका कारण त कोही बुझ्दै नबुझि सहीरहेका छौं, अज्ञानताका कारण।
यी निरासाका बीच पनि हामीसँग खुसीको खबर छ, मोरङ र सुनसरीका उद्योगहरूबाट वातावरणीय अन्यायमा परेका स्थानीय बासिन्दाले त्यसका विरोधमा आवाज उठाउन थालेका छन्। यो नेपालमा बिलकुलै नयाँ आन्दोलन होइन, किनकि हामी अति त सहन्छौं अतिचार सहँदैनौं। त्यसैले त भन्छौं अति गर्नु अतिचार नगर्नु। यसभन्दा अघि पनि अतिचार भएपछि गोकर्ण ल्यान्डफिल साइट वरपर बस्नेहरूले यस्तै आन्दोलन चलाएका थिए, वाग्मतीमा फालिएको फोहोरविरुद्ध गोदावरी मार्वल र इँटाभट्टाहरूविरुद्ध त्यस्त अनेकन आन्दोलन चले। तर तीभन्दा फरक छ, मोरङ सुनसरीका वातावरणीय अन्यायबाट पीडितहरूले चलाएको आन्दोलन। यो संगठित छ र यसले चेतनालाई बढी जोड दिएको छ अनि लक्ष्य प्राप्त नभएसम्म निरन्तर हुने दृढता लिएको छ।
हाका–हाकीको काम वातावरणीय न्याय एवम् समन्यायका बारेमा ज्ञानको विस्तार गर्ने हो। हाम्रो लक्ष्य गाउँ–गाउँमा त्यो ज्ञानलाई पुर्याउने हो। तर वातावरणीय न्याय र समन्याय प्राप्तिका लागि त स्थानीय जनता नै उठ्नुपर्छ र शान्तिपूर्ण तवरले आफ्नो आन्दोलन चलाउनुपर्छ। हो, त्यसैको सुरुवात गरेका छन्, मोरङ र सुनसरीका बासिन्दाले आफ्नो छाताधारी संगठन वातावरण सुधार संयोजन समितिमार्फत। यो आन्दोलनको सफलताका लागि अग्रिम शुभकामना।
राजेश घिमिरे
कार्तिक २०६० हाकाहाकी
भविष्यको चिन्ता
सुदूर भविष्यका बारेमा दीर्घकालीन सोच नराख्ने राज्यको हालत कस्तो हुन्छ? उत्तर पक्का पनि नेपाल जस्तो भन्ने आउँछ। राज्य सञ्चालनभन्दा राजनीति सञ्चालनमा व्यस्त हुने हाम्रा राजनेताहरूमा रहेको दीर्घकालीन सोचको अभाव नै हाम्रा धेरै समस्याको जड हो।
दीर्घकालीन सोचकै अभावका कारण आज हाम्रो देश, समस्याको भुँमरीमा परेको छ। र, ती अनेकन समस्याहरूमा हरेक वर्षासँगै प्राकृतिक विपदाको समस्या थपिन्छ र हाम्रो जीवन झनै बढी कष्टकर बन्न पुग्छ।
हामी पिरोल्ने प्राकृतिक विपदाको धेरैजसो कारक त हामी मानव र हाम्रा क्रियाकलाप नै हुन्। समन्याय र वातावरणीय न्यायको अभावमा अल्पसंख्यक, दलित र गरिब जनता प्राकृतिक विपदा सम्भावित क्षेत्रमा बस्न र खेती गर्न बाध्य छन्। जीवनयापनका लागि नदी किनार, भिराला पाखा, भू–क्षय ग्रसित क्षेत्रको भू–बनोटलाई चलाउन पर्ने बाध्यताबाट नै निम्तो पाउँछ , प्राकृतिक विपदाले।
प्रशस्त अधिकार र अवसर पाएका सहरमा बस्ने सम्भ्रान्त वर्गका लागि राज्यले भू–उपयोग नीति बनाउँछ र केही हदसम्म कार्यान्वयन पनि गर्छ। गाउँका गरिबहरूका लागि त्यस्ता नीतिहरू त बन्लान तर गंभीरताका साथ राज्य त्यस्तोमा लगानी गर्न चाहँदैन। त्यसैले त गाउँका गरिब राज्यको अवहेलनाका शिकार छन्। र, प्रकृति अनि राज्य दुवैतर्फको मारमा त गरिब नै परिरहेकाछन्।
राजेश घिमिरे भदौ २०६० हाकाहाकी
खोलिदेऊ गोडाका साङ्ला
शताब्दीयौंदेखि निर्वाध रूपमा जंगलमा घुमिरहेका राउटेहरूको गोडाहरू सामुदायिक वनको साङ्लाले जकडिएका छन्। उनीहरूको निर्वाध आवागमन अवरुद्ध भएको छ। त्यसमाथि थपिएको छ जथाभावी वन विनास र उनीहरूमाथि लादिन खोजिएको आधुनिकीकरणको बोझजस्ता समस्या।
यी यायावर राउटेहरू प्रकृतिका शत्रु होइनन्। यिनीहरूसँग त वातावरणीय न्यायका सिद्धान्तहरूमा भनिएजस्तै मानव एवम् प्राणी हितका लागि भूमि र जंगल नैतिक, सन्तुलित र जिम्मेवारीपूर्ण उपयोगको अथाह ज्ञान छ। र, त्यसलाई युगौंदेखि व्यवहारमा उपयोग गरिरहेका छन्। तर उनीहरूलाई नै सामुदायिक वनको उपयोग गर्न दिइँदैनन्। वन संरक्षण र दिगो उपयोगका नाउँमा वनमाथि एउटा समुदायको मात्र एकाधिकार कायम गर्ने र राउटेजस्ता परम्परागत उपभोक्तालाई उनीहरूको हकबाट वञ्चित गर्नु कहाँको वातावरणीय न्याय हो?
यी मामिलामा राज्य मौन छ, सदा चुपचाप झैं तमासा हेर्नमा मात्र व्यस्त छ। उसका लागि त काठमाडौंमा बस्ने "ठालु"हरू र भेरी किनारामा यायावरको जीवन बिताउने राउटे समान हुनुपर्ने थियो। तर त्यसो पनि भएको छैन। केही स्थानीय र केन्द्रीय "ठालु"हरू उनीहरूमाथि आधुनिकीकरण लाद्न चाहन्छन् तर त्यो आधुनिकीकरण उनीहरूको रहर हुनुपर्छ बाध्यता होइन। किनकि उनीहरूलाई पनि आत्मनिर्णयको अधिकार छ र समन्यायले पनि त्यसै भन्छ।
सामुदायिक वन, सशस्त्र द्वन्द्व, वन विनास र सरकारी अवहेलनाका कारण राउटेहरूको जीवन असुरक्षित बन्दै गएको छ, र सम्भवत यो पुस्ता सकिएपछि हामीले घुमन्ते जीवन बिताउने राउटेहरू भेट्ने छैनौं। त्यसैले त उनीहरूले युगौंदेखि प्रकृतिसँग जीवन यावना गर्दा हासिल गरेको अथाह ज्ञानको अभिलेखन तुरुन्तै गर्नुपर्ने भइसकेको छ। एकपटक नाश भएमा त्यो ज्ञान हासिल गर्न फेरि लामो संघर्ष गर्नुपर्ने हुन्छ।
तर त्योभन्दा पनि अगाडि गर्नुपर्ने काम त उनीहरूको यायावर जीवनलाई निरन्तरता दिनु हो। त्यसका लागि सशस्त्र द्वन्द्व नगर्ने काम महत्त्वपूर्ण छँदैछ, त्यसबाहेक सामुदायिक वनहरूलाई राउटेप्रति उनीहरूले गरिरहेका अन्यायका बारेमा सचेत गराउने हो। र, राउटेहरूको सम्भावित बासस्थानका पनि तिनका कार्ययोजना र विधानमा राउटेहरूको अधिकारलाई स्थापित गराउनुपर्छ। अनि मात्र यथार्थमा समन्यायका भागिदार हुनसक्छन् राउटेहरू।
राजेश घिमिरे
असार २०६० हाकाहाकी
जलवायु परिवर्तन रोक्न नेपाली कदम
राजेश घिमिरे जलवायु परिवर्तनका कारण अहिले पृथ्वी तात्तिँदो अवस्थामा छ र त्यसैका कारण नेपालको उत्तरी भू–भागको हिउँ पग्लिरहेको छ। जलवायु ...
-
शिक्षा र अनुशासन राजा महेन्द्रको राज्याभिषेकमा नेपाल आएका महान दार्शनिक तथा भारतका राष्ट्रपति डा. सर्भपल्ली राधाकृष्णन् विमानस्थलबाट सिधै...
-
On January 31, 2007, the Nepal government got temporary reprieve in a long standing controversy over the Kathmandu water supply bill. Its mi...
-
सशस्त्र द्वन्द्वको अप्ठ्यारो परिस्थितिमा पनि सहकारिताका माध्यमबाट मकवानपुरका १७ गाविसका झन्डै ११ हजार चेलिबेटी कृषि, व्यापार र जागरणका माध्य...