प्रकृतिको संरक्षण कसका लागि? वातावरणको रक्षा कुन मूल्यमा? बाघ–भालु र गैंडाजस्ता चित्ताकर्षक जन्तुका लागि मात्र कि जैविक विविधताको संरक्षणका लागि? वा वातावरणवादीहरूको गफका खुराकका लागि? गरिबको पेटमा लात हानेर पूर्वीया र पश्चिमा धनीहरूको आनन्दका लागि?
सायद भावी पुस्ताका लागि भन्ने होला वा हामी गरिबहरूका लागि वा जैविक विविधताको संरक्षणसँगै दिगो उपयोग गरेर हामी गरिबहरूको आर्थिक र सामाजिक विकासका लागि भन्ने होला? आफ्नो झन्डै १८ प्रतिशत जग्गा–जमिन संरक्षण क्षेत्रमा लगानी गर्ने र हजारौं एकड जमिनमा सामुदायिक वन फैलाउने हाम्रा लागि यी प्रश्नहरूको जवाफ खोज्ने बेला आइसकेको छ।
साँच्चै कसका लागि र केका लागि हो यो संरक्षण कार्य? पश्चिमी मुलुकको प्रयोग भूमिको रुपमा विकसित गर्न त पक्कै होइन होला यो संरक्षण। पक्कै पनि होइनौं होला हामी उनीहरूको प्रयोगशालाको गिनी पिग। यो त पक्कै पनि हाम्रै लागि र हाम्रै विकासका लागि हो। तर त्यसो भएको छैन। हाम्रा निर्णयकर्ताहरू पश्चिमाहरूले डोर्याएको बाटोमा मात्र हिंडिरहेका छन्। उनीहरू गैंडा, बाघजस्ता पश्चिमाहरूका लागि आकर्षक मानिने वन्यजन्तु संरक्षणमा मात्र लागेका छन् र हाम्रा आफ्ना महत्त्वको जीवजन्तु र वनस्पतिलाई बिर्सिएका छन् हाम्रा निर्णयकर्ताहरूले। नत्र भए लोप हुने स्थितिमा पुगेका नौमुठे गाई, बामपुड्के सुँगुर, लामपुच्छ्रे भेडाजस्ता जीवजन्तु र तिन्ना ओइरी सीतालगायतका वनधानजस्ता अनेकन वनस्पतिको संरक्षणका कुरा पनि सुनिनुपर्ने हो हाम्रा संरक्षण नीति–निमार्ताका मुखबाट।
तर त्यसो भएको छैन। भैगो। संरक्षणको प्राथमिकतामा हाम्रो बोली बिक्दैन भने कम्तीमा हाम्रा लागि संरक्षणको काम थाल्दा हुन्थ्यो। काठमाडौंमा बस्ने विज्ञहरूले एक मुठी अन्नका लागि हामीमध्ये कयौंले गर्ने संघर्षलाई बुझिदिनुपर्ने हो, साँझ–बिहान चुल्हो बाल्ने काममा अवरोध खडा नगरिदिनुपर्ने हो। तर त्यसो पनि हुँदैन। यी सब क्रियाकलाप हाम्रै लागि सञ्चालन हुनुपर्ने हो हाम्रै निर्णयका आधारमा हाम्रै लागि संरक्षणका काम हुनुपर्ने हो सायद भएका छैनन्। हाम्रा नाममा सञ्चालन हुने ठूला–साना सबैखाले संरक्षण र विकासका काममा अन्तिम निर्णयकर्ता त हामी नै हुनुपर्छ तर, हामी भएका छैनौं।
कहींकतै हाम्रो सरोकार राख्न गोष्ठी आदि आयोजना भए भने पनि तिनमा हाम्रो आवाज कहाँ सुनिन्छ र? तिनमा त हामीले पो सुन्नु पर्दो रहेछ बकम्फुसे विशेषज्ञका बकम्फुसे गफहरू। हाम्रा दैलाअगाडि सञ्चालन हुने कामको फाइदा/बेफाइदामा उनीहरूले हाम्रो आवाज नै नसुनी हाम्रा लागि निर्णय गरिदिन्छन् र त्यसैअनुरुप प्रतिवेदन तयार पारिदिन्छन्। केवल औपचारिकतामा सीमित हुने जनसरोकार गोष्ठीका आधारमा तयार भएका प्रतिवेदनबाटै निर्णय गर्छन् दाताहरू। के तिनले हाम्रो हित गर्छन् त? के यही हो त न्याय? पक्कै होइन–न हामी गिनी पिग हौं न उनीहरूको प्रयोगशाला। हामी आफ्ना हकमा निर्णय गर्न सक्षम छौं। हामी संरक्षण वा विकासका मोडलका लागि एक पछि अर्को प्रयोग थोपरिएको सहन सक्दैनौं। हामीलाई आत्मनिर्णयको अधिकार चाहिएको छ, हो हामीलाई चाहिएको छ वातावरणीय न्याय केवल एउटा विकासे शब्दका रुपमा होइन व्यवहारमा चाहिएको छ–वातावरणीय न्याय।
राजेश घिमिरे
वैशाख २०६०, हाकाहाकी
Subscribe to:
Post Comments (Atom)
जलवायु परिवर्तन रोक्न नेपाली कदम
राजेश घिमिरे जलवायु परिवर्तनका कारण अहिले पृथ्वी तात्तिँदो अवस्थामा छ र त्यसैका कारण नेपालको उत्तरी भू–भागको हिउँ पग्लिरहेको छ। जलवायु ...
-
India may have dragged its feet on the subject for decades, but Nepal has gone ahead and done it: made wildlife farming legal. Licence can n...
-
Sanduk Ruit is the third Nepali to receive the Magsaysay award. He was recognised for his outstanding work at “placing Nepal in the forefron...
-
सन् २००२ को अगस्त २६ देखि सेप्टेम्बर ४ सम्म दक्षिण अफ्रिकाको जोहानेसवर्गमा दिगो विकास विश्व सम्मेलन आयोजना गरियो। उक्त सम्मेलनले दिगो विकासक...
No comments:
Post a Comment